ad ad

राजनीति


‘प्राणघातक रोगहरूको उपचार निशुल्क हुनुपर्छ’

‘प्राणघातक रोगहरूको उपचार निशुल्क हुनुपर्छ’

नेपालखबर
साउन २४, २०८१ बिहिबार १९:५८, काठमाडौँ

राष्ट्रिय सभाका सांसदहरूले क्यान्सरजस्ता प्राणघातक रोगहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनीहरूले विरामीको चापअनुसार स्वास्थ्य उपचारको लाग आवश्यक जनशक्ति परिचालन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका हुन्।

बैठकमा बोल्दै सत्तारुढ नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले क्यान्सर, मुटुरोग जस्ता जटिल रोगहरुलाई निःशुल्क उपचारको व्यवथा मिलाउन सरकारसँग माग गरे।

उनले स्थानीय तहको अस्पतालहरुमा पनि जनशक्ति र आवश्यक उपकरणको व्यवस्था गर्न सरकारलाई सचेत गराए।

उनले भने, ‘यो दीर्घरोगका लागि जस्तै मुटु रोग, कलेजो,मिर्गौला, ब्लड क्यान्सरजस्ता उपचारहरुका लागि सहायता दिने कुरा पुगेको छैन। यसका लागि पूर्ण रुपमा सरकारी अस्पतालमा निशुल्क उपचार हुने व्यवस्था सरकारले गर्नुपर्छ। पालिकामा अस्पतालहरु भएपनि दक्ष जनशक्ति जनशक्ति छैन, उपकरणहरुको अभाव छ। ल्यावहरु छैनन्। यी विषयमा पनि सरकारको ध्यान जान जरुरी छ।’

एमालेकी सांसद इन्दिरादेवी गौतमले बिरामीहरुको चापलाई धान्ने गरी अस्पतालहरुमा जनशक्ति र उपकरणको व्यवस्था गर्न सरकारलाई दबाब दिइन्। उनले अस्पतालमा औषधिको अभाव हुने अवस्था आउन नदिन पनि सरकारले ध्यान दिनुपर्ने बताइन्।

सांसद गौतमले भनिन्, ‘जुन अस्पतालहरूमा बिरामीहरुको चाप बढ्छ, त्यस्ता अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुको पनि विशेष व्यवस्था सरकारले मिलाउनु पर्छ। अर्को औषधिहरुको पर्याप्तामा पनि सरकारले ध्यान दिनुपर्छ। औषधि खाँचो भयो भने पछि औषधि खोज्न जाँदाखेरी समस्या हुने भएकाले त्यस्ता ठाउँमा औषधिको अभाव हुन नदिन पनि सरकार सचेत रहनुपर्दछ। ’

प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) की सांसद राजेन्द्रलक्ष्मी गैरेले उपचार पद्धति र औषधि आम जनताले सस्तोमा उपयोग गर्न पाउने व्यवस्था सरकारले मिलाउनुपर्ने बताइन्। उनले डेंगु रोग देशभर फैलिए पनि त्यस अनुसार चिकित्सकको परिचालन गर्न  नसकेको भन्दै सरकारको आलोचना गरिन्।

उनले भनिन्, ‘जनताले सस्तोमा उपचार गर्न पाउनुपर्छ। तर हामी कहाँ उपचार पद्धति, औषधि महंगा छन्। सरकारीमा त्यसको अभाव छ। प्राईभेटमा महंगो छ।

यसलाई कसरी सस्तोमा बनाउन सकिन्छ? सरकारको यसमा ध्यान जाओस् भन्ने अनुरोध गर्न चाहन्छु। सरकारी अस्पतालमा डेंगुको उपचार गर्ने चिकित्सक पनि छैनन। त्यसको पनि सरकारले आवश्यक व्यवस्था तत्काल मिलाउनु पर्छ। ’

सांसद गैरेले सरकार अस्पताललाई स्रोत, साधनले सम्पन्न बनाउन पनि सरकारले विशेष ध्यान दिन जरुरी रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .