ad ad

राजनीति


उपत्यकाका मेयरहरूसँग ओलीले भने- हामीसँग जनतालाई हप्काउने, लुट्ने र पिट्ने अधिकार हुँदैन

कुलमानविरूद्ध प्रधानमन्त्रीसँग गुनासो
उपत्यकाका मेयरहरूसँग ओलीले भने- हामीसँग जनतालाई हप्काउने, लुट्ने र पिट्ने अधिकार हुँदैन

नेपालखबर
साउन २३, २०८१ बुधबार २०:१९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताकेन्द्रित भएर लाग्न आग्रह गरेका छन्।

काठमाडौँ उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग बुधबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले ‘कोभन्दा को ठूलो’ भन्ने ढंगले नभई केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्नेमा जोड दिए।

‘जनप्रतिनिधि जनताका पक्षमा काम गर्न निर्वाचित भएका हुन्छन्,’ उनले भने, ‘त्यसैले हामीले अहंकार र दम्भबाट निर्देशित हुनुहुन्न।जनताप्रति शालीन र विनयशील हुनुपर्छ। हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन।’

सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुने भन्दै उनले सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो नहुने धारणा पनि राखे।

उक्त फोरमले नेपाल विद्युत प्राधिकरणले स्थानीय तहका नाममा आफूखुसी सडक बत्तीको बिल पठाएर बक्यौता देखाउँदा समस्या आएकोलगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको थियो। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङप्रति फोरमको गुनासको थियो। 

जवाफमा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायसँग बुझेर आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए। उनले फोहोरमैला व्यवस्थापनको दिगो समाधान गर्नुपर्नेमा पनि सरकार सजग रहेको स्पष्ट पारे। 

फोरमका अध्यक्ष एवं ललितपुर महागरपालिका प्रमुख चिरिबाबु महर्जनले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्दै पारस्परिक सम्बन्ध र सहअस्तित्वबाट सहयोग आदानप्रदान गर्दै जनताप्रति सेवा दिन आफूहरू प्रतिबद्ध रहेको बताए। केन्द्र सरकारबाट हुनुपर्ने सहजीकरणमा प्रधानमन्त्रीको साथको अपेक्षा रहेको उनको भनाइ थियो। 

टोलीमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह भने थिएनन्। काठमाडौँ महानगरका तर्फबाट उपप्रमुख सुनीता डंगोलको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .