ad ad

राजनीति


तुल्सीलालको उच्च नैतिकता र चरित्रबाट भावी पुस्ताले प्रेरणा लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

तुल्सीलालको उच्च नैतिकता र चरित्रबाट भावी पुस्ताले प्रेरणा लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

फाइल फोटो


नेपालखबर
साउन १७, २०८१ बिहिबार २१:१५, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुल्सीलाल अमात्यको उच्च क्रान्तिकारी नैतिकता र चरित्रबाट वर्तमान तथा भावी पुस्ताले प्रेरणा लिनुपर्ने बताएकी छन्।

ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा तुल्सीलाल स्मृति प्रतिष्ठानले आज आयोजना गरेको तुल्सीलाल अमात्यको २७औँ स्मृति दिवसको कार्यक्रममा उनले नेपाली राजनीतिमा हाल देखापरेको वैचारिक निष्ठा, आदर्श एवं नैतिक आचरणमा क्षयीकरणको भइरहेको बेला तुल्सीलाल अमात्यले जीवन पर्यान्त सिद्धान्त र आन्दोलनप्रति दर्शाएको त्याग, आदर्श, आचरण, सादा जीवनशैली र अध्यनशीलताबाट वर्तमान युवा पुस्ताले प्रेरणा लिनुपर्नेमा जोड दिइन्।

उनले नेता अमात्यले आजीवन गाउँका निमुखा किसान, मजदुर एवं आम श्रमजीवी वर्गप्रति देखाएको वर्ग पक्षधरता, सद्भाव र समर्पण भावलाई एक कम्युनिष्ट नेतामा हुनैपर्ने अपरिहार्य गुणका रूपमा लिन सकिने बताइन्।

पार्टीलाई क्रान्तिकारी धारमा ल्याउन तुल्सीलालको महत्वपूर्ण योगदान रहेको उनले चर्चा गरिन्।

‘नेपालमा जहानीयाँ राणाशासन तथा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र लोकतन्त्रको स्थापनाका लागि भएका हरेक आन्दोलनहरूमा सहभागी हुने सिलसिलामा तुल्सीलाल अमात्यले कयौँ पटक गिरफ्तारीमा पर्नुका साथै जेलजीवन बिताउनुभएको थियो भने तत्कालीन शासकहरूले उहाँको सर्वश्वहरण समेत गरेका थिए’, पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘तथापि, उहाँ कम्युनिष्ट आदर्शबाट कहिल्यै विचलित हुनु भएन, बरु निस्वार्थ त्याग र समर्पणका साथै स्वच्छ राजनीतिक मूल्य र मान्यताका साथ निरन्तर रूपमा आन्दोलनमा लागि रहनुभयो ।’

उनले २००९ सालतिर तुल्सीलालको अगुवाइमा बारा, रौतहट र सर्लाही जिल्लामा ऐतिहासिक किसान आन्दोलन भएको उल्लेख गर्दै लाखौँ किसानको सहभागिता रहेको उक्त आन्दोलनको सिलसिलामा करोडौँ रूपैयाँ बराबरका जाली तमसुक च्यात्ने काम भएको बताइन्।

‘विसं २०६२/६३ सालमा भएको शान्तिपूर्ण जनआन्दोलनद्वारा स्थापित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीअन्तर्गत आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता, नागरिक अधिकार र समावेशिता कसैको निगाहबाट सहज रूपमा प्राप्त भएका होइनन्’, पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘यी परिवर्तन र उपलब्धिहरू तुल्सीलाल अमात्यलगायत हजारौँ नेता कार्यकर्ताको अटूट सङ्घर्ष, त्याग र बलिदानको लामो शृङ्खलापश्चात् मात्र प्राप्त भएका हुन् भन्ने यथार्थलाई वर्तमान पुस्ताले कदापि बिर्सनुहुँदैन।’

कार्यक्रममा एमाले नेता भीम रावलले तुल्सीलालले नेपालको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने काम गरेको बताए। उनले २०४६ सालमा जनआन्दोलनमा पनि संयुक्त वाममोर्चाको निर्माणमा उनको सक्रिय योगदान रहेको बताए।

तुल्सीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले तुल्सीलालका विचारलाई पार्टी आत्मसात गर्नुपर्ने बताए। विसं १९७३ साल जेठ १४ गते पाटनमा जन्मेका तुल्सीलाल अमात्यको विसं २०५४ साल साउन १७ गते ८१ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .