ad ad

राजनीति


घुस दिने सांसदलाई कारबाहीको माग गर्दै संसदीय समितिमा उजुरी

घुस दिने सांसदलाई कारबाहीको माग गर्दै संसदीय समितिमा उजुरी

नेपालखबर
साउन ९, २०८१ बुधबार २२:३, काठमाडौँ

पाँच हजार रुपैयाँ घुस दिएको बताउने सांसदलाई कारबाहीको माग गर्दै संसदको राज्य व्यवस्था समितिमा उजुरी परेको छ।

घुस दिएको बताउने पूर्वमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र प्रसाद महतोलाई कारबाहीको माग गर्दै मधेस प्रदेशका सांसद रहबर अन्सारीले राज्य व्यवस्था तथा सुशासन समतिमा आज उजुरी दिएका हुन्।

असार ६ गतेको संसद बैठकमा महतोले संसदको रोष्टमबाटै आफ्नो छोराको समकक्षता लिनका लागि बिचौलिया मार्फत् पाँच हजार रुपैयाँ घुस दिएको र घुस दिएपछि काम बनेको बताएका थिए।

प्रदेश सांसद अन्सारीले दिएको निवेदनमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ रिसवत लिने दिनेलाई सजाय हुने भन्ने व्यवस्थाको उपदफा ३ मा उल्लेख गरिएको कार्य गर्नुका साथै घुस दिने कार्यलाई रोक्नु पर्नेमा उल्टै त्यसलाई प्रोत्साहन गरेको भन्दै महोतोलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने माग गरिएको छ।

महतोले आफ्नो पदको मर्यादा नराखि भ्रष्टाचारजन्य कसुर गरेको, अख्तियार दूरुपयोग अनुसन्धान आयोगको अधिकारक्षेत्रमा नपर्ने निजको उक्त कार्य र संसदमा अभिलिखित रहेको अभिव्यक्ति भ्रष्टाचारजन्य रहेको हुँदा हदैसम्मको कारबाही गरी राज्यमा सुशासन कायम गराउन अन्सारीले माग गरेका छन्।

यसैबीच, पूर्वमन्त्रीले समकक्षताको लागि पाठ्यक्रम विकास केन्द्रमा विचौलिया मार्फत् कर्मचारीलाई घुस दिएको भन्ने विषयमा छानबिन भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ।

शिक्षामन्त्री विद्या भट्टराईले आज संसदीय समितिको बैठकमा यस विषयमा छानबिन गर्न बनेको समितिले काम गरिरहेको बताएकी हुन्।  

शिक्षा मन्त्रालयले यस विषयमा छानबिन गर्नका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक बसन्तप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा मन्त्रालयको विद्यालय शिक्षा शाखाका उपसचिव रामप्रसाद शर्मा र कानुन शाखाका अधिकृत पुष्पा वाग्ले सदस्य छन्।

समितिलाई यथार्थ विवरण पत्ता लगाएर सात दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .