ad ad

राजनीति


उपसभामुखको विवाद संसद्‌मा : सत्तापक्षले लगायो मानव तस्करीको गम्भीर आरोप, बचाउमा प्रतिपक्ष

उपसभामुखको विवाद संसद्‌मा : सत्तापक्षले लगायो मानव तस्करीको गम्भीर आरोप, बचाउमा प्रतिपक्ष

उपसभामुख इन्दिरा राना साउन ६ गते प्रतिनिधि सभाको बैठक सञ्चालन गर्दै। तस्बिरः सरोज नेपाल


गीता चिमोरिया
साउन ६, २०८१ आइतबार १९:६, काठमाडौँ

उपसभामुख इन्दिरा रानाले दूतावासमा पत्र लेखेको विवाद संसदमा पुगेको छ। 

आइतबारको प्रतिनिधि सभा बैठकमा सत्ता पक्षका सांसदहरूले उपसभामुखमाथि मानव तस्करीको गम्भीर आरोप लगाए।

उपसभामुखमाथि प्रश्न उठेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), माओवादी केन्द्र लगायत प्रतिपक्षका सांसदहरू भने बचाउमा उत्रिए।

बैठकको सुरुमै राज्य व्यवस्था समितिका सभापतिसमेत रहेका कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखले गरेको काम मानव तस्करीसँग सम्बन्धित भनेर आरोप लगाए। 

उनले भने, ‘मैले केही दिनअघि एउटा पत्र प्राप्त गरेँ। २६ फेब्रुअरी २०२३ मा उपसभामुखको नाउँबाट संसदबाट एउटा चिठी लेखिएको रहेछ। संसदसँग कुनै साइनो नभएका पाँचजना मान्छे, मानव तस्करले प्रयोग गरेर अमेरिका भिसाको अन्तर्वार्ताको लागि प्रयोग गरिएको पत्र हामीसँग प्राप्त भयो।’ 

‘यस्तो अवस्थामा उपसभामुखले अब संसदको कमान्ड गर्न सुहाउँछ कि सुहाउँदैन ?’ भन्दै खतिवडाले प्रश्न गरे।  

उपसभामुखले लेखेको पत्र मर्यादा र क्षेत्राधिकारबाहिर गएर लेखिएको खतिवडाको टिप्पणी थिो। उनले भने, ‘संसदमा कुनै पनि पत्र प्राप्त भयो भने पहिला सभामुखले तोक लगाउने अथवा राष्ट्रिय सभाको अध्यक्षकोमा आयो भने तोक लगाउने, महासचिवकोमा जाने। महासचिवले अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामा पठाउने, त्यहाँको उपसचिवले टिप्पणी उठाउने, सहसचिवले सदर गर्ने, त्योभन्दा माथि महासचिवले सदर गरेर परराष्ट्र मन्त्रालयलाई पठाउने प्रचलन भएको हामीले थाहा पाएका छौँ। तर यो पत्र कसैलाई पनि थाहा नदिई, चिन्दै नचिनेका, संसदसँग साइनो नभएका, यहाँ सुन्नमा आउँछ उपसभामुखको पनि एकजनाको मात्रै चिनाजानी साइनो भएको मान्छेको सिफारिस भएको छ, यो कसले किन र के प्रयोजनका लागि गरेको हो ?’

यस विषयले संसदको मात्रै नभई देशको पनि अपमान भएको भन्दै खतिवडाले छानबिनको माग गरे। प्रतिरक्षा गर्नुभन्दा उपसभामुखले संसदबाट बाहिर बसेर छानबिनका लागि सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

‘यो भिसा सहजीकरणको कन्सल्टेन्सी उपसभामुखको कार्यालय र संसद हुन सक्दैन, यसलाई कन्सल्टेन्सीजस्तो नबनाइयोस्,’ उनले भने।

त्यसपछि माओवादी, रास्वपालगायत विपक्षी दलहरू सभामुखको बचाउमा उभिए।

माओवादी सांसद माधव सापकोटाले संवैधानिक परिषद्मा अल्पमतमा परेपछि उपसभामुखको विवाद झिकिएको तर्क गरे।

उनले भने, ‘संवैधानिक परिषद्मा तपाईँहरू अल्पमतमा पर्नुभयो भनेर जुन उद्देश्यका साथ यसलाई हाइलाइट गरिएको छ, यदि साँच्चै त्यो कुरा हो भने मान्छेका आफ्नो अधिकारको प्रति, मान्छेको चरित्रहत्या गर्नेको प्रति यो संसदले पनि न्याय गर्नुपर्दछ। राजनीतिक र नैतिक प्रश्नका बारेमा छलफल गर्न सकिन्छ। संवैधानिक परिषद्मा तपाईँहरूलाई रातारात केके निर्णय गर्नुपरेको छ, त्यो उद्देश्यद्वारा प्रेरित गरिएको हो भने हामी प्रतिपक्षले यसलाई सशक्त ढंगले प्रतिवाद गछौँ। यो कुरा सबैलाई हेक्का होस्।’

रास्वपा सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानाको नामबाट मिडिया ट्रायल भइरहेको भन्दै आपत्ति जनाइन्।     

श्रेष्ठले भनिन्, ‘उपसभामुख इन्दिरा राना मगरको नामबाट जुन मिडिया ट्रायल भइरहेको छ, यसमा म घोर आपत्ति जनाउन चाहन्छु। यदि साँच्चै नै गर्ने हो भने पहिला बुझौँ, यो पद्धति बनाउने हो भने यहीँ सभामा छ नि हैन? सदनबाटै, सडकबाटै एउटा अमुक मान्छेलाई भिसा चाहियो भनेर पुत्ला जलाउँदै आमसभा गरेको यही ठाउँका सांसदहरूले होइन? यदि हामीले आचरणको कुरा गर्छौं भने ल गरौँ, सबैजनाको आचरण हेरौँ। सबैजनाको लेटरप्याडबाट केके निस्केको छ, हेरौँ। र, साँच्चै पद्धति बनाऔं।’

उनले भुटानी शरणार्थी काण्डसँग तुलना गर्दै खासमा मानव तस्कर को हो भनेर सदनमा प्रश्न उठाइन्। अगाडि भनिन्, ‘तपाईँहरूलाई मन लाग्यो, मिडिया ट्रायल गर्‍यो। मानव तस्करी भन्नेजस्तो ठूलो आरोप, यस्तो आनन्दका साथ तपाईँले डिक्लियर गर्नुभयो, डिक्लियर गर्नुस् न त भुटानी शरणार्थी कसले गरेको हो भनेर? त्यो आएको छ ?’ 

उपसभामुख राना अप्ठ्यारो अवस्थाबाट आजको ठाउँसम्म आएको भन्दै उनले नहेप्न चेतावनी पनि दिइन्। 

‘साँच्चिकै विधि-पद्धति बनाउन चाहनुहुन्छ, गर्नुस्। एक वर्ष अगाडिदेखि पत्र हातमा बोकेर बसिराख्नुभएको रहेछ त, कुनबेला ठोकौँ भनेर। यो साँच्चिकै छानबिन गर्ने हो भने गरोस्, पार्टी पनि तयार छ तर उचित तरिकाले,’ उनले भनिन्। 

उपसभामुखलाई संवैधानिक परिषद्बाट हटाउन यो विषय ल्याइएको भन्दै श्रेष्ठले भनिन्, ‘एउटा मान्छेको चरित्रहत्या गर्ने त्यो पनि किन, संवैधानिक परिषद्मा एमालेको दुईजना, माओवादीको दुईजना, रास्वपाको एउटा, एउटा त प्रधानन्यायाधीश। अल्पमतमा परियो भने माग्नूस् हौ माग्नूस्, दिउँला। सोध्नूस्। तर कसैको नैतिक, चरित्रहत्या गरेर मानव तस्कर भन्ने लाञ्छनाचाहिँ नलगाउनुहोस्। पहिला भुटानी शरणार्थीको पनि त्यसैगरी अनुसन्धान गरेर आनन्दले स्पष्टताका साथ यो सदनमा व्यक्त गरिदिनुहोला।’

एमाले सांसद दामोदर पौडेल बैरागीले उपसभामुखले भिसा समय अगाडि सारिदिन अनुरोध गर्दै अमेरिकी दूतावासमा लेखेको पत्र र उनले निकालेको विज्ञप्तिले मानव तस्करी गरेको प्रमाणित हुने ठोकुवा गरे।

उनले भने, ‘मिडियो ट्रायल हो कि के हो, पत्र आफैं बोल्छ। पत्र मात्रै बोल्दैन, पत्र सँगसँगै स्वयं उपसभामुखको विज्ञप्ति पनि बोल्छ। मैले मानव तस्करी गरेको हो भन्ने बोल्छ त्यो पत्रले।’

सुमना श्रेष्ठलाई लक्षित गर्दै पौडेलले भने, ‘देशको चौथो दल हौँ, युवा हौँ, नयाँ हौँ, पुरानाले गरेनन् भनेर अंग्रेजीमा भाषण छाँट्ने र तथ्य ल्याएर बजार्नेहरूको विज्ञप्ति पढियो। लेनदेन छ भन्ने उहाँहरूको विज्ञप्तिमा आयो। कसको लेनदेन छ? यो कुरा चाहियो।’ 

‘हामीलाई यस्तो उपसभामुख चाहिएको होइन, यस्तो संवैधानिक परिषद्को सदस्य चाहिएको होइन, जसले मान्छेलाई अनेक नाममा, लेटरप्याडको प्रयोग गरेर, पदको दुरुपयोग गरेर मान्छे बेचबिखन गर्ने। उहाँलाई करुणा जाग्यो। करुणा जागेन इजराइलमा भएको आन्दोलनको। मान्छे मर्दा करुणा जागेन। विज्ञप्ति आयो? रुसमा नेपाली मर्दा विज्ञप्ति आयो? भारतमा मान्छे अलपत्र पर्दा विज्ञप्ति आयो? आएन। विज्ञप्ति कहाँ आयो, भिसा कहाँको मागियो भन्दा सरोकार नराख्ने मान्छेहरूलाई।’

२६ फेब्रुअरी २०२३ (२०७९ को फागुन १४) मा उपसभामुखको लेटरप्याडमा उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङको भिसाका लागि अन्तर्वार्ताको मिति सारिदिन काठमाडौँस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख राना विवादमा परेकी हुन्। 

२०७९ को फागुन २२ देखि चैत ३ सम्म अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्र संघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औँ सत्र (सीएसडब्ल्यू-६७) को वार्षिक कार्यक्रममा भाग लिन जान लागेको भन्दै उपसभामुख रानाले ती पाँचैजनाको नाम सिफारिस गरेको पत्रमा उल्लेख छ। 

पत्र सार्वजनिक भएपछि कांग्रेस, एमाले लगायत दलका सांसदले उनको राजीनामा मागेका छन्। उनीहरूले आर्थिक लेनदेन भएको आरोपसमेत लगाएका छन्।

आफूमाथि प्रश्न उठेपछि उपसभामुख रानाले विज्ञप्ति निकालेर पदीय दुरुपयोग नगरेको स्पष्टीकरण दिएकी छन् भने रास्वपाले पनि उपसभामुख निर्दोष भएको प्रस्टीकरण दिएको छ। 

बैठकमा भएको विवाद र बहसपछि पनि रानाले आइतबार प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि राखेको प्रस्तावको छलफलका क्रममा केहीबेर बैठकको सञ्चालन गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .