संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति नीति बनाउने घोषणा गरेका छन्।
नेपाल मगर विद्यार्थी संघले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सो नीति बनाउने कुरामा अब ढिलाई गर्न नहुने पनि बताए।
नेपालको संस्कृतिलाई प्रवद्र्धन गर्नका लागि पनि आफूले सो नीति बनाउने कुरालाई पहिलो प्राथमिकतामा राख्ने उनको भनाइ थियो।
‘हाम्रो पर्यटन नीति अलि पुरानो भयो। पर्यटन नीति २०६५ सालमा जारी भएको थियो। तर देशमा कोभिडलगायतका अप्ठयाराहरु पर्यटन क्षेत्रले झेल्नुपर्यो। त्यसैले पर्यटन नीतिमा समसामियक परिवर्तन गर्नुपर्यो,’ मन्त्री पाण्डेले भने, ‘त्यसकारण पर्यटन नीति परिवर्तनका लागि, यसको परिमार्जनका लागि, संशोधनका लागि मैले पहिलो निर्णय गरेको थिए। मलाई निकै महत्त्वपूर्ण सुझाव प्राप्त भएको छ। वास्तवमा यदि मन्त्रालयले अहिलेसम्म संस्कृति नीति बनाउनेमा कुनै कसरत र काम गरेको छैन भने म यो बचनवद्धता दिलाउन चाहन्छु। संस्कृति नीति बनाउने कुरामा अब हामीले ढिलो गर्नु हुन्न। नीति बन्यो भने हामीले त्यो अनुसारको कानुन बनाउँछौं।’
मन्त्री पाण्डेले आफूले पर्यटन क्षेत्रको विकासका लागि पदभार ग्रहण गरेकै दिन पर्यटन नीतिमा संशोधन गर्ने निर्णय लिएको पनि स्पष्ट पारे।
‘नीति बन्यो भने मात्रै हामीले त्यो अनुसार कार्यक्रम र योजना बनाउँछौ । नीतिविना हामी कुहिरोको काग जस्तै हुन्छौं। त्यसैले नेपालको संस्कृति नीतिलाई नेपालको संस्कृतिलाई प्रवद्र्धन गर्नका निम्ति पहिलो काम संस्कृति नीति बनाउने हो। संस्कृति नीति बनाउने सन्दर्भमा मैले सम्पूर्ण हिसाबले प्रयत्न गर्ने कुराको विश्वास पनि म यहाँहरुलाई दिलाउन चाहन्छु,’ उनले भने।
Shares
प्रतिक्रिया