ad ad

राजनीति


मेटमणि वाणी– ओलीको चरित्र पढेर भनेको हुँ, दसैँतिहार मान्न दिने हो भने सरकार चार महिना जान्छ

चौधरीको नजरमा ओली, प्रचण्ड र देउवा
मेटमणि वाणी– ओलीको चरित्र पढेर भनेको हुँ, दसैँतिहार मान्न दिने हो भने सरकार चार महिना जान्छ

गीता चिमोरिया
साउन ५, २०८१ शनिबार ८:३४, काठमाडौँ

२८ असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पाँचौँपटक विश्वासको मत लिँदै गर्दा संसदको माहौल रोचक थियो। सत्ताबाट बहिर्गमन हुने निश्चित भएपछि प्रचण्डको आवेगपूर्ण सम्बोधन र प्रधानमन्त्री बन्ने एमाले अध्यक्ष केपी ओलीको उत्कण्ठाको माझ अर्का एक वक्ताको रोचक सम्बोधनले सांसदहरू मात्रै होइन, लाइभ हेरेर बसेका आम मानिसको ध्यान खिच्यो। 

उनी थिए– नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी। 

सपाट आवाजमा आफ्नो ६ मिनेट लामो सम्बोधनको अधिकांश समय चौधरीले प्रचण्डमाथि खर्चिए। व्यवस्था परिवर्तनमा उनको भूमिकाको प्रशंसा गरे, सुखमा आफूहरू (एकीकृत समाजवादी) लाई बिर्सिने र दुःखमा सम्झिने गरेको भन्दै व्यंग्य गरे, सधैँ साथ दिँदा पनि यसपटक आफूहरूलाई छाडेको भन्दै गुनासो गरे अनि मान्छे चिन्न नसकेकोमा ‘खुच्चिङ्’ पनि गरे।

‘तपाईंले मान्छे चिन्नुहुने रहेनछ। कत्ति पनि मान्छे नचिन्ने। अब त चिन्नुभएको होला नि, को कस्तो छ भनेर?’ चौधरीले रोस्ट्रमबाट प्रचण्डलाई यो प्रश्न सोधिरहँदा सिङ्गो संसद् हाँसोले गुञ्जायमान भयो। सायद चित्त बुझेको हुनुपर्छ, प्रचण्ड पनि हाँसिरहे।

त्यसका अलावा चौधरीले प्रचण्डलाई मिति गनेरै चार महिना पर्खिन अनुरोध गरे। त्यतिञ्जेलसम्म कांग्रेस सभापति शेरबहादुर देउवासँग सम्बन्ध सुमधुर राख्न पनि उनको सुझाव थियो।

‘हामी त तपाईंकै साथमा छौंँ, सधैँ तपाईंसँगै रहन्छौँ। तपाईंकै साथमा छौँ, थियौँ। तर तपाईंले पटकपटक हामीलाई छोड्नु भयो। त्यसैले यो अवस्थाको सामना पनि गर्नुपरिरहेको छ,’ उनले हाँसोको फोहोराबीच भने, ‘आज परिस्थिति जस्तो भए पनि नेपाली कांग्रेसको सभापतिलाई दोषी तपाईं कत्ति नदेख्नुहोला। उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला, चार महिनामै परिस्थिति अनुकूल भइ त हाल्छ। हन्ड्रेट पर्सेन्ट!’

सम्बोधनको सुरुदेखि नै ओलीप्रति चर्को कटाक्ष गरेका मेटमणिले सत्ता गुमाउँदै गरेका प्रचण्डलाई किन चार महिनाको समय दिए त?

वास्तवमा एकअर्कालाई धोका दिँदै चार महिना, एक वर्षमै सत्ता समीकरण फेरिरहने प्रमुख पार्टीका मुख्य नेताहरूको मनोभावना चौधरीको सम्बोधनमा झल्कियो। 

‘मैले केपी ओलीको चेतना र चरित्र पढेर त्यसो भनेको हुँ,’ बिहीबार तीनकुनेमा नेपालखबरसँगको कुराकानीमा चौधरीले भने।

‘केपी ओलीको चेतना, चरित्र कस्तो छ भने आफू प्रधानमन्त्री हुनको लागि, शक्तिमा पुग्नको लागि जे पनि बोल्ने, जे पनि गर्ने तर शक्तिमा पुगिसकेपछि सबैलाई हिर्काउन खोज्ने,’ चौधरी भन्छन्, ‘यसपालि पनि ६ गते विश्वासको मत नपाउँदासम्म यिनले सबैसँग धेरै राम्रो व्यवहार गर्छन्। म सरकारमा तिमीहरूलाई लैजान्छु भनेर उनले सबैलाई भनेका छन्, त्यही कारणले मधेसी दल लगायत साना मसिना सबै राजनीतिक दलहरूले सपोर्ट गरिरहेका छन्।’

विश्वासको मतपछि ओलीले अन्य दललाई गर्ने व्यवहार बदलिने चौधरीको दाबी छ। 

‘विश्वासको मतपछि ओलीले एक खालको तानाशाही प्रवृत्ति लागू गर्न खोज्छन्, आजभोलि भन्दै साना दललाई झुलाउँछन्, त्यो भएपछि विस्तारै सरकारमा सहभागी हुन चाहने राजनीतिक दल पनि रिसाउँदै जान्छन् र क्याबिनेटमा सम्पूर्ण कुरा आफूले चलाउन खोजेपछि कांग्रेसका मान्छेहरू पनि एक महिना, बढिमा डेढ महिनामा केपी ओलीप्रति चरम असन्तुष्ट हुन्छन्,’ उनले भने, ‘साना दलले उनलाई दिएको विश्वासको मत फिर्ता लिन खोज्छन्, जसले कांग्रेसलाई पनि मलजल गर्छ। क्याबिनेटदेखि अनेक लडाइँका बाबजुद बढीमा तीन महिना जानसक्छ यो सरकार, दसैँतिहार मान्न दिने भन्ने भयो भने पनि चार महिना मात्रै हो।’

मुद्दाका कारण एमाले–कांग्रेस सरकार बन्यो
एमाले र कांग्रेसले मुद्दा मिलाउन मिलेर सरकार बनाएको उनको आरोप छ। 

‘म तपाईंलाई एकदम सत्य कुरा बताइदिऊँ? व्यक्ति चाहिँ किटान गरेर नभनौँ होला, तर दुइटै पार्टीका ठूला भनिएका नेताहरू नेपालीलाई भुटानी बनाएर अमेरिका पठाउने र त्यसबापत पैसा असुल गरेको कुरामा दुईटै दलका ठुला नेताहरू मुछिएका छन्। यिनीहरू सरकारमा नहुँदा यो कुरा त बाहिर आइराख्छ। यही चिजलाई राफसाफ गर्नको लागि, मिलान गर्नको लागि सरकार बनाएका हुन्,’ उनले भने।

स्थायित्वको नारा जनताको समर्थन हासिल गर्नका लागि मात्रै गरिएको उनको तर्क छ।

‘अहिलेसम्म जति पनि अस्थिरता सिर्जना भयो, त्यो के साना दलको कारणले भएको हो? होइन नि त। २०१५ सालदेखि अहिलेसम्मको अवस्था हेर्नुस्। त्यसकारण यो भनाइमा कुनै दम छैन,’ चौधरी भन्छन्, ‘प्रमाण नामेट हुनेबित्तिकै, हिसाबकिताब मिलान हुनेबित्तिकै आफ्नोआफ्नो बाटो लाग्छन्।’  

नेताहरूसँग आफैँ निराश छन् मेटमणि
एउटा दलको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका र शीर्ष नेताहरूसँग उठबस गरेका चौधरी आफैँ शीर्ष नेताप्रति निराश सुनिए। ७० कटेका नेताहरूबाट परिवर्तन असम्भव देख्छन् उनी। 

‘नेताहरू झगडा गर्न, लड्न, भाषण गर्न सिपालु भए तर व्यवस्थापन गर्नमा एकदमै अकुशल छन्। कुनै पनि नेता। सबै जिम्मा लगाइदिँदा पनि यिनीहरूले सक्दैनन्, देश चलाउन,’ उनी भन्छन्।

उनले २०७४ मा केपी ओलीकै नेतृत्वमा बनेको नेकपाको शक्तिशाली सरकारको उदाहरण दिए।

‘दुई तिहाइको कम्युनिस्ट सरकार थियो। ओलीले नै नेतृत्व गरेका थिए, योभन्दा अगाडि पनि प्रधानमन्त्री भइसकेकै मान्छे हुन्। एकडेढ दशक प्रधानमन्त्री बन्न सक्नेखालको अवसर थियो, तर चलाउन सकेनन् नि त,’ मेटमणि चौधरीले भने, ‘न प्रचण्डले सके, न देउवाले सके, न ओलीले सके। कसैले सकेनन्। यिनीहरू कोही पनि ५/७ महिनाभन्दा बढी चलाउन सक्ने अवस्थामा छैनन्। त्यसैले यिनको क्षमता हेरेर मैले बोलेको हो। प्रचण्डको सरकारलाई पनि मैले असार कट्दैन, साउन छुँदैन भनेको थिएँ, २८ गते नै ढल्यो। अब यो सरकार अधिकतम गयो भने दसैँतिहारसम्म हो। त्यो भन्दा बढी जाँदैन।’

ओलीले नियतवश कम्युनिस्ट आन्दोलन सक्न खोजे
सधैँ सिधासिधा बोल्ने चौधरीको ट्युनिङ ओलीसँग कहिल्यै मिलेन। विचार, भूगोल, स्वभाव त फरक थियो नै, समय यस्तो पनि आइदियो, पार्टी पनि एउटै रहन सकेन। एमालेभित्रका विभिन्न गुटमा चौधरी माधव नेपाल गुटको नेताका रूपमा चिनिएका थिए। पार्टी विभाजनको संघारमा पुग्दा उनी ओलीविरुद्ध खरोरूपमा उत्रिए। 

‘केपी ओली र मेरो केही लेनादेना छैन। उनी ब्राम्हण परे, म थारु। उनी झापाका परे, म दाङको। आँठोको कुनै सम्बन्ध छैन। क्लस्टर पनि मिल्दैन। तर के भने, हाम्रो मिल्ने ठाउँ भनेको कम्युनिस्ट पार्टी। नेकपा एमाले, मिलनविन्दु थियो,’ चौधरी भन्छन्, ‘जुनबेला झण्डै दुई तिहाइको कम्युनिस्ट सरकार थियो, हामी ५० वर्ष अब हाम्रो नेतृत्वमा सरकार चल्छ, मुलुक बन्छ भन्नेमा थियौँ। तर, ओलीको दम्भका कारण त्यो सबै सम्भावना समाप्त भयो।’

दूरदर्शी नेता भएको भए त्यो ५० वर्ष सम्भव हुने उनको भनाइ छ।

‘चीन सी चिनफिङको नेतृत्वमा चलिरहेको छ। आज संसारका थुप्रै देशहरू एउटा मुख्य व्यक्तिकै नेतृत्वमा चलिरहेको छ। त्यो खालको सम्भावना थियो। तर यिनले यति दम्भ, यति घमण्ड देखाए, जसको कारणले नेपालको कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्ने प्रयास गरे। नजानेर होइन, नियतवश। त्यसपछि हाम्रो लडाइँ सुरु भएको हो,’ उनी भन्छन्।

पार्टीका सबै मान्छे दासजस्तै बनेको बेला आफूले बाध्य भएर ओलीविरुद्ध बोलेको उनको भनाइ छ। सुरुमा ओली समूहलाई आफैँले दाङ पुर्‍याएको उनको दाबी छ। 

‘दाङमा पनि केपी ओलीको टिम थिएन। म आफू दाङको नेता भइसकेपछि मात्रै केपी ओलीका मान्छेहरू त्यहाँ जान थाले। उपस्थिति हुन थाल्यो। सम्बन्ध राम्रै थियो। तर खालि बिगार्ने मात्रै, भताभुङ्ग, नाश गर्ने, सक्ने, म मात्रै, मबाहेक कोही पनि होइन, सबथोक मै हुँ भन्ने प्रवृत्ति जब यिनमा देखियो, त्यसपछि सम्बन्ध बिग्रियो,’ चौधरीले सुनाए।

दाङ १ बाट निर्वाचित मेटमणि अघिल्लोपटक सहरी विकास मन्त्री भए। २०७९ को निर्वाचनमा गठबन्धनबाट (कांग्रेस र माओवादीको सहयोगमा) चुनाव जितेका उनले एमालेकै शान्ता चौधरीलाई पाँच हजार ८४ मत अन्तरले हराएका थिए। 

परिवार र पैसाको पछि लागेर बिग्रिए प्रचण्ड
मेटमणि तिनै नेता हुन्, जसले चार महिनाअघि गठबन्धन फेर्दा संसदमा प्रचण्डको चर्को आलोचना गरेका थिए। सहयात्री दलहरूलाई छोड्दै पुनः अर्को समीकरण बनाउने र आफैँ प्रधानमन्त्री भइरहने प्रवृत्तिले नेपाली समाजमा राजनीतिक दलहरूप्रतिको विश्वसनीयता गुमेको उनले बताएका थिए। 

क्रान्तिकारी स्वभाव र परिवर्तनका लागि ठूलो योगदान दिएको नेता हुँदाहुँदै पनि पछिल्लो समय प्रचण्ड कुर्सीकै मात्र पछि लाग्दा बिग्रिएको चौधरीको ठहर छ।

समावेशिता, लोकतन्त्र, गणतन्त्रजस्ता परिवर्तन ल्याउन र नेपाली समाजमा जागरण भर्न योगदान दिने नेता प्रचण्ड भएको भन्दै मेटमणि भन्छन्, ‘त्यत्रो महत्त्वपूर्ण योगदान गरेको मान्छे! तर पछि उहाँले राम्रो व्यवस्थापन गर्न सक्नुभएन। लोभ, लालच, पैसामा फस्नुभयो। कुर्सीको लागि जे पनि गर्न थाल्नुभयो।’

‘एक खालको क्रान्तिकारी स्वभाव, चेतना, केही गरौँ भन्ने भावना भएको, त्यो खालको व्यक्तित्व हो,’ प्रचण्डबारे मेटमणि भन्छन्, ‘साह्रै लचकदार पनि हो। कसैप्रति रिसराग पनि नराख्ने, जे हो गरिहाल्ने, लाग्यो भने गरिहाल्ने। तर पछिल्लो समय उहाँ परिवारवादमा फस्दै जानुभयो। यत्रो देशको प्रधानमन्त्री भइसकेको मान्छे, यो देशै त उहाँको हो। तर पछिल्लो समय आफूलाई लगेर पैसामा ठोक्काउनुभयो। पैसा बेगर केही काम नगर्ने। त्यसपछि जति पनि कुराहरू गर्ने, इमोसनल ब्ल्याकमेलिङ गर्ने। यिनै कुरा खराब पक्ष हो। केही गरौँ भन्ने चाहनाचाहिँ उहाँको राम्रो पक्षको रूपमा मैले लिएको छु।’

बनाउन नसके पनि नबिगार्ने देउवा 
दुई कम्युनिस्ट नेताभन्दा वैचारिकरूपले टाढाका कांग्रेस सभापतिप्रति नरम सुनिए चौधरी। देउवाले बनाउन नसके पनि नबिगार्ने उनको भनाइ छ।

‘उहाँ आफ्नो बोलीप्रति इमान्दार हुनुहुन्छ। कम बोल्ने तर बोलेपछि त्यसप्रति जवाफदेही हुनुपर्छ भन्ने कुरा हो, एक। दोस्रो कुरा, उहाँ नेपालको लोकतन्त्रप्रति एकदम इमानदार हुनुहुन्छ। नेपालको संविधान/कानुनप्रति इमान्दार हुनुहुन्छ। उहाँले बनाउन नसकेपनि बिगार्नुहुन्न,’ मेटमणि भन्छन्, ‘देश बिगार्ने कुरा, अस्थिर बनाइराख्ने, देशलाई गोलचक्करमा फसाइराख्ने कुरामा लाग्नुहुन्न। यिनी दुईटा नेताचाहिँ बनाउन सक्दैनन्, बिगार्छन् मात्रै। तर देउवाचाहिँ बनाउन चाहिँ बनाउनुहुन्न, बिगार्नु पनि हुन्न।’  

अब पार्टी बनाउन लाग्नुपर्छ 
सत्ता गुमेपछि ब्यूँतिएको समाजवादी मोर्चाप्रति खासै सकारात्मक नसुनिएका एकीकृत समाजवादीका नेता चौधरी अब पार्टी निर्माणको काममा अघि बढ्नुपर्ने धारणा राख्छन्। 

‘मेरो आफ्नो कुरा त पार्टी बनाउने काममै लाग्नुपर्छ भन्छु,’ उनी भन्छन्, ‘प्रचण्डको केही विश्वास छैन। कुनै विश्वास गर्ने ठाउँ नै छैन। तर पार्टीमा म मात्रै छुइनँ। मैले मात्रै भनेर पनि हुँदैन। मभन्दा धेरै ठूला नेताहरू पार्टीमा हुनुहुन्छ। उहाँहरूले भने अनुसारकै हुने होला। मैले भनेको त कहीँ लाग्ला, कहीँ नलाग्ला। निर्णय गर्ने ठाउँमा हाम्रो अध्यक्ष, महासचिव, सम्मानित नेता हुनुहुन्छ, उहाँहरू मोर्चा बनाउने काममा लाग्नुहुन्छ। तर मलाई मनचाहिँ मन परेको छैन।’ 

संसदमा पार्टीको तर्फबाट प्रमुख सचेतक रहेका चौधरी अब संसदमा प्रतिपक्षको भूमिका सशक्त हुने बताउँछन्। 

‘जनताको मुद्दालाई हामीले उठाउँछौँ, दह्रो प्रस्तुति हुन्छ, त्यो खालको विरोध पनि हुन्छ। सिर्जनात्मक तरिकाले नेपालको संसदीय व्यवस्थाप्रति कुनै पनि आलोचना नहुनेगरी, संसदीय व्यवस्थाप्रति आशा जाग्नेगरी हाम्रो भूमिका रहन्छ। हामी विपक्षीमा हुँदा व्यवस्था जे सुकै होस्, भन्दैनौँ। व्यवस्थाको मूल्य मान्यताभित्र रहँदै हाम्रो उपस्थिति हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .