ad ad

राजनीति


ओलीको पुनरागमनमा छिमेकी नजर : चीनलाई बीआरआईको चिन्ता, भारतलाई कांग्रेसको भर

ओलीको पुनरागमनमा छिमेकी नजर : चीनलाई बीआरआईको चिन्ता, भारतलाई कांग्रेसको भर

रामकुमार डिसी
साउन ४, २०८१ शुक्रबार ८:५९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा आफ्नो तेस्रो कार्यकाल (कानुनीरूपमा चौथो) को सुरुवात गरिसकेका छन्। प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको मिलनपछि प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै ओली आएका हुन्।

संसदीय राजनीतिका प्रमुख प्रतिस्पर्धी दलको अचानक भएको सत्ता सहकार्य र सिंहदरबारमा ओलीको पुनरागमनलाई लिएर नेपालभित्र अनेक टीकाटिप्पणी भइरहेका छन्। सत्ता राजनीतिमा आएको परिवर्तनसँगै दुई छिमेकी (भारत र चीन) र महाशक्ति राष्ट्र अमेरिका पनि सक्रिय भएका छन्। आफ्नो देशको स्वार्थ अनुसार उनीहरूका आआफ्नै प्रतिक्रिया र चासो छन्।

ओलीले शपथ लिएकै दिन भारत र चीनका राजदूतले भेटेर बधाई तथा शुभकामना दिएका थिए। अमेरिकी राजदूतले भने केही दिन ढिलागरी भेटेर शुभकामना दिएका छन्।

चीनको चिन्ता बीआरआईमा
ओलीको आगमनसँगै चीनले आफ्नो महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा भएको ढिलाई प्रति चिन्ता प्रकट गरेको छ। चीनका प्रधानमन्त्री ली छ्याङले ओलीलाई बधाई तथा शुभकामना सन्देश पठाएका छन्। बधाई सन्देशसँगै बीआरआई कार्यान्वयनमा गडबडी नहोस् भन्ने सन्देश पनि ओलीलाई चीनले दिएको छ।

चिनियाँ प्रधानमन्त्रीको सन्देश एमालेको बेवसाइटमा प्रकाशित भएको छ। जसमा लेखिएको छ, ‘चीनका प्रधानमन्त्री लीले सन्देशमा दुई देशका शीर्ष नेताहरूबीच भएका सहमति कार्यान्वयन गर्न र चीन–नेपाल उच्चगुणस्तरीय बेल्ट एन्ड रोड सहकार्य र अन्य क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्न तथा विकास र समृद्धिका लागि सधै मैत्रीपूर्ण चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगति गर्न चाहेको कुरा उल्लेख गर्नुभएको छ।’

सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले बीआरआई अगाडि बढाउनुपर्ने मत राख्छ भने मुख्य सहयोगी नेपाली कांग्रेस अनुदान मात्रै लिनुपर्ने अडानमा छ।

कांग्रेसमाथि भारतको भर 
दक्षिणी छिमेकी भारत भने ओलीसँग अझै पनि सशंकित नै रहेको नयाँ समीकरण निर्माणमा संलग्न भएका नेताहरूको बुझाई छ। यद्यपि उसको भर सरकारको प्रमुख साझेदार रहेको नेपाली कांग्रेसमाथि छ। भारतले मुखर भएर यसबारे प्रतिक्रिया नजनाएको भए पनि त्यहाँका कूटनीतिज्ञ र अखबारका सम्पादकीयमार्फत भारतीय संस्थापनको भाव बुझ्न सकिन्छ। 

नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेले इकोनोमिक्स टाइम्समा एक लेख लेखेर भारतले नेपालका हरेक सरकारसँग सुमधुर सम्बन्ध राख्नुपर्ने सुझाव दिएका छन्। यद्यपि, ओलीसँग विगतमा राम्रो सम्बन्ध बन्न नसकेको तितो पोखेका छन्। 

‘भारतले नेपालका हरेक सरकारसँग सुमधुर सम्बन्ध राख्नुपर्छ,’ उनले लेखेका छन्, ‘तर, विगतमा प्रधानमन्त्री ओलीसँग काम गर्दाको हाम्रो अनुभव त्यति सन्तोषजनक रहेन।ओलीले नेपालमा आफ्नो स्थानलाई बलियो बनाउन भारतविरोधी राष्ट्रवादलाई प्रभावकारी रूपमा प्रयोग गरेका छन्।’

ओलीले चीनसँग नजिक भएर कनेक्टिभिटी बढाउने सम्झौताहरू गरेको उनले टिप्पणी गरेका छन्। तर, उनले ओली सरकारको सारथि रहेको नेपाली कांग्रेसले ओलीका एकपक्षीय कदममा ‘ब्रेक’ लगाइदिने आशा व्यक्त गरेका छन्।

‘सबैभन्दा ठूलो पार्टीका रूपमा कांग्रेसले ओलीका निरंकुश आवेग र एकपक्षीय निर्णयमा ब्रेकको रूपमा काम गर्न सक्छ,’ रेले लेखेका छन्।

भारतीय अखबार हिन्दुस्तान टाइम्सले पनि आफ्नो अघिल्लो कार्यकालमा ओलीले नेपाललाई चीनको नजिक पुर्‍याएको टिप्पणी गर्दै कांग्रेसले नयाँ सरकारको परराष्ट्र नीतिलाई सन्तुलनमा राख्ने धारणा लेखमा राखेका छन्। 

आफ्नो सम्पादकीयमा उक्त अखबारले भनेको छ, ‘भारतको राजनीतिक नेतृत्वसँग लामो समयदेखि सम्बन्ध राख्दै आएको नेपाली कांग्रेसको उपस्थितिले नयाँ सरकारको परराष्ट्र नीतिलाई सन्तुलनमा राख्न मद्दत पुग्ने भारतीय पक्षले आशा गरेको छ।’

अर्को अखबार इन्डियन एक्सप्रेसले पनि ओलीले नाकाबन्दीका बेला कट्टर अडान राखेको र चीन पक्षधर बनेको आरोप लगाएको छ। यद्यपी भारतले लगाएको नाकाबन्दीविरुद्ध नेपालका प्रमुख पार्टी का अधिकांश नेताहरू खुलेर उत्रिएका थिए।  

‘नयाँ दिल्लीले काठमाडौँको घटनाक्रमलाई सावधानीपूर्वक नियालिरहेको छ,’ उक्त अखबारको सम्पादकीयमा भनिएको छ, ‘प्रचण्डले भारतमा सद्भावको आनन्द उठाए पनि २०१५ को सीमा नाकाबन्दीमा ओलीको कट्टर अडान, उनको चीन पक्षधर अडान र नेपालको नक्सामा विवादित भूभाग समावेश गर्ने चालले साउथ ब्लकसँग राम्रो सम्बन्ध छैन।’

कांग्रेस–एमालेको विश्वास : सकारात्मक रूपमा हेरिएको छ 
राजनीतिक उथलपुथल गरेका नेपाली कांगेस र नेकपा एमालेले भने नेपालको राजनीतिक परिवर्तनले छिमेकीहरू बेखुस हुनुपर्ने कुनै कारण नभएको बताएका छन्।

‘छिमेकीहरूले नकरात्मकरूपमा हेर्नुपर्ने कारण नै छैन,’ नेकपा एमालेका परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई भन्छन्, ‘सामान्यतया ठूला दुइटा दलका बीचमा एउटा सत्तारुढ र अर्को विपक्षी हुनुपर्ने हुन्छ। तर, हामी अहिले अप्ठ्यारो अवस्थाबाट ग्रुज्रिरहेका छौँ। यस्तो अवस्थामा दुइटा दल एक ठाउँमा आएकोलाई सकारात्मकरूपमा हेरिनुपर्छ, हेरिएको छ भन्ने हाम्रो विश्वास छ।’

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत पनि नेपालको सत्ता परिवर्तनमा छिमेकी असन्तुष्ट हुनुपर्ने कुनै कारण नभएको बताउँछन्।

‘यो नेपालको कुरा हो, असन्तुष्टि जनाउनु पर्ने केही कुरा छैन,’ उनले भने, ‘यहाँको हाम्रो सिस्टमले निर्वाचित भएर आएको हो। त्यसमाथि ठूला दल मिलेर गरेको हुनाले अब अन्योल कम हुन्छ कि भन्ने आशा बढेको हुनसक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .