सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा नगए पनि अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा ६ महिना मन्त्री बन्न सक्ने बताएका छन्।
शुक्रबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रियसभामा नभए पनि ६ महिनाका लागि मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई भएको बताए।
‘अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानै पर्छ भन्ने छैन’, अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो संवैधानिक व्यवस्थाअनुसार ६ महिनाका लागि राष्ट्रियसभामा नगए पनि मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई छ।
उनले राष्ट्रियसभामा राष्ट्रपतिद्वारा मनोनित हुने एक सिटमा पार्टीले उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको भन्दै गौतम नै राष्ट्रियसभामा जाने ठोकुवा गरे।
प्रधानमन्त्रीले सचिवालयको निर्णय मान्दिन भन्नुभएको छ नि भन्ने प्रत्रकारको प्रश्नमा उनले प्रधानमन्त्रीसँग निर्णय मान्नुको विकल्प नभएको बताए।
‘पार्टीले गरेको निर्णय प्रधानमन्त्रीजीले मान्नै पर्छ, उहाँले मान्नुहुन्छ’, भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘तपाईहरुले एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ।’

प्रतिक्रिया