पटनाको गान्धी मैदानमा विभिन्न संगठनले आयोजना गरेको संयुक्त कार्यक्रम ‘संविधान बचाऊ, नागरिकता बचाऔं’ मा सम्बोधन गर्दै सीपीआईका नेता कन्हैयाले सरकारले नयाँ नागरिकता कानुन ल्याएर घृणाको राजनीति गरेको आरोप लगाए।
उनले भने,‘भारत सरकारले गान्धीपथ त्यागेर गोड्सेपथ रोज्यो।’ भारतका राष्ट्रपिताका रुपमा परिचित महात्मा गान्धीलाई नाथुराम गोड्सेले गोली हानी हत्या गरेका थिए।
सरकारले शान्ति छाडी हिंसा रोजेको कन्हैया कुमारको आरोप छ। उनले सन् १९४७ को स्वतन्त्रतापछि अब देशलाई दंगा चाहनेहरुबाट छुट्कारा चाहिएको बताए।
नागरिकता कानुनविरुद्ध आयोजना भएको उक्त कार्यक्रममा ठूलो भीड जम्मा भएको बीबीसीहिन्दीले जनाएको छ।
कन्हैया कुमारले केन्द्र सरकारले ल्याएको नागरिकता कानुन विरोधाभास भएको बताए। उनले नागरिकता कानुन ल्याएर सरकारले घृणाको राजनीति सुरु गरेको आरोप लगाए।

नागरिकता कानुनविरुद्धको आन्दोलन सोमबारदेखि जारी रहँदा त्यहाँ मृतकको संख्या ३० भन्दाबढी पुगेको भारतीय संचारमाध्यमले जनाएका छन्।
मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ। नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ।
उक्त कानुन मुसलमान विरोधी भएको भनेर त्यहाँ प्रदर्शन भइरहेको हो। छिमेकी मूलुकका गैर मुस्लिम नागरिकलाई मात्र नागरिकता दिने भनेर नयाँ कानुनले बताएपछि हिंसा जारी छ।
यसैहप्ताको सोमबारदेखि दिल्लीको हिंसा साम्प्रदायिक हिंसामा परिणत भएको विश्लेषण भइरहेको छ। मुसलमान र हिन्दुवादीको भीड एकआपसमा झडपमा उत्रिनुका साथै हिन्दुवादी भीडले मुसलमानको घरहरु जलाएका घटनाहरुको समाचारहरु पनि सार्वजनिक भइरहेका छन्। एजेन्सी


प्रतिक्रिया