जन्मदिनमा फजुलखर्च गरेको आरोप बेहोरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले जनताले रमाइलो गरेको देख्न नसकेको आरोप लगाएका छन्।
पाँचथर यासोक र रानीगाउँ पानी नपाएर काकाकुल हुने ठाउँमा ३ हजार ३४३ घरधुरीलाई खानेपानी पुर्याएको खुसियालीमा १० हजारले गाए खाए रमाइलो गरे,’ ओलीले भने, ‘मेरो जन्म दिन परेको थियो। खाना पनि खाए। बिचरा पत्रकार भातको पैसा कति पर्यो भनेर लेख्न बस्या छन्।’
उनले आफूले केक ‘छोइदिएको’ मात्र बताउँदै पत्रकारहरुले ‘रोएको’ दाबी गरे।
‘त्यहीँ बिजुली पुग्यो, पानी पुग्यो त्यो लेख्दैनन्। त्यसकै पारि मेरो जन्मघर पाट्ती धेरै वर्ष पछि म पुगेँ। त्यहाँ पनि रमाइलो गरे। अनि पत्रकार रोए,’ उनले भने, ‘म त नेवारको ज्वाइँ मलाई अरु मन पर्दैन भन्नु भएन। कतिवटा केक ल्याए कति लगे मैले त हेरिनँ। मैले छोइदिएँ। अन्डा माछाको ल्याएका थिए।’
उनले केकमा नेपालको नक्सा बनाएर काटिएकोमा सामाजिक सञ्जालमा भएको विरोधको पनि आलोचना गरे।
‘मेरो फोटो बनाएर केक ल्याउछन काट्छन्। खै म त काटिएको छैन। यस्तो बेकारका कुरामा अल्झनु आवश्यक छैन। जनताले खुसीले ल्याएका हुन्,’ उनले भने।
उनले नाकाबन्दीमा बोल्न नसकेको कांग्रेसले आफ्नो जन्मदिनमा काटिएको केकलाई लिएर राजनीति गरिरहेको आरोप लगाए।
‘काङ्ग्रेस भारतले नाकाबन्दी हुँदा बोल्न नसक्ने अहिले केकमा राष्टवादी भएको छ। केकमा राष्ट्रवाद देखिरहेको छ,’ उनले भने, ‘यसरी राजनीति गर्छु भन्या हो भने काङ्ग्रेस झन समस्यामा पर्छ।’

प्रतिक्रिया