ad ad

राजनीति


पार्टी बैठक लाइभ गर्ने मुकुलको प्रस्ताव अस्वीकृत, कबिन्द्रले पढेर सुनाए प्रतिवेदन

प्रतिवेदनमाथि प्रत्येक केन्द्रीय सदस्यले ५/५ मिनेट धारणा राख्ने
पार्टी बैठक लाइभ गर्ने मुकुलको प्रस्ताव अस्वीकृत, कबिन्द्रले पढेर सुनाए प्रतिवेदन

नेपालखबर
असार १९, २०८१ बुधबार १३:४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले एक महिना देशदौडाहपछि तयार पारेको प्रतिवेदन पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको छ। 

जारी बैठकमा महामन्त्री ढकालले आफ्नो अभिव्यक्ति स्वतन्त्रता हनन् भएको भन्दै प्रतिवेदन प्रस्तुत गर्न नमानेपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रतिवेदन पढेर सुनाएका हुन्।

पार्टीका सहप्रवक्ता मनीष झाका अनुसार, महामन्त्री ढकालले बुधबार आफ्नो प्रतिवेदन लाइभ गर्न पाउनुपर्ने अडान लिएका थिए। 

तर, पार्टी सभापति रवि लामिछाने, उपसभापति डोल प्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, सहप्रवक्ता मनिष झा लगायत २० जना केन्द्रीय सदस्यले अहिले लाइभ गर्न उपयुक्त नहुने धारणा राखे।

उनले भने, ‘कसको बारेमा कुनै संवेदनशील कुराहरू छ कि भन्ने कुराले हामीलाई अप्ठेरो पार्न सक्छ। राजनीतिक रुपमा त्यो म्याचुयड देखिँदैन त्यसैले नगरौँ भनेर २० जनाले नै बोलेर भन्नुभयो। त्यसपछि हामीले हात उठाएर मतविभाजनमै गयौँ। त्यसमा शतप्रतिशत गर्न हुँदैन नै भन्ने आयो।’

त्यसपछि सभापति रवि लामिछानेले प्रतिवेदन प्रस्तुत गर्दा लाइभ गर्ने वा नगर्ने विषयमा मत विभाजन गराएका थिए। जसमा महामन्त्री ढकालको मात्रै हात उठ्यो। अन्यको उठेन। 

‘महामन्त्री आफैँ बाहेक एक जनाको पनि त्यसमा हात उठेन। लाइभ गर्न हुँदैन भनेर सबैको भावना मानेर लाइभ नगरेका हौँ,’ झाले नेपालखबरसँग भने। 

महामन्त्री ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको, अहिलेकै अवस्थामा पार्टी आगामी चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत नसक्ने लगायतका विषय उल्लेख छन्।

त्यसपछि उनले मुखका मास्क र कालो टेप लगाएर बसे।

‘लाइभ नगर्ने भए मेरो अभिव्यक्ति स्वतन्त्रता हनन भयो भनेर विरोध स्वरुप मास्क र टेप लगाएर बस्छु भन्नुभयो। त्यो उहाँको व्यक्तिगत चाहना हो। मान्छेले आफ्नो मौन प्रदर्शन गर्न त पाउँछ नि,’ झाले भने। 

उनले प्रतिवेदन पढ्न नमानेपछि सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले पढेर सुनाएको उनले जानकारी दिए।

अहिले पुनः खाना खाएर केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठकमा सबै केन्द्रीय सदस्यलाई महामन्त्रीको प्रतिवेदनमाथि ५/५ मिनेटको समया दिएर आफ्ना धारणा राख्ने झाले बताए। 

समीक्षा प्रतिवेदनबाहेक अर्को ६ पृष्ठ लामो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा पनि बैठकमा प्रस्तुत गर्न नपाएको महामन्त्री ढकालले बताएका छन्। 

पार्टी बैठकमा उक्त ६ पृष्ठ लामो प्रस्ताव पेस गर्न नपाएपछि उनले उक्त प्रस्ताव मिडियामार्फत सार्वजनिक गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .