ad ad

राजनीति


प्राकृतिक विपद्का घटनाबारे सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

प्राकृतिक विपद्का घटनाबारे सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

नेपालखबर
असार १४, २०८१ शुक्रबार १४:५८, काठमाडौँ

सांसदहरूले देशका विभिन्न ठाउँमा भएका प्राकृतिक विपद्का घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन्। संघीय संसदको आजको बैठकमा सांसदहरूले विपद्का घटना भएका क्षेत्रमा तत्काल उद्दार र राहतको काम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। 

बैठकको सुरुमै बोल्दै नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले ३÷४ दिनदेखि देशका विभिन्न ठाउँमा बाढी र पहिरो गएको भन्दै यसले ठूलो क्षति गरेको बताए। उनले बाढीले गाउँहरू डुबानमा परेको, लाखौंको धनमाल र सयौं विगाह क्षेत्र जमिन क्षति गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

चौधरीले भने, ‘सप्तरी जिल्लाको पूर्वमा कोशी र पश्चिममा बलान नदी, बीचमा खाँडो,  महुली र खडक नदीले व्यापक रुपमा धनमालको क्षति भएको छ। गाउँहरूमा पानी पसेको छ। हजारौं हजार जग्गाहरू क्षति भएको छ। गाउँहरूको उठिबास भएको छ।’

बलान गाउँपालिकाको २,३ र ४ मा तटबन्ध हुन नसक्दा सिङ्गो गाउँ नै नदीमा परिणत हुने जोखिम रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। 

अर्का सांसद ज्ञानेन्द्र शाहीले गए रातीको बाढीका कारण कर्णाली राजमार्ग ठाउँ ठाउँमा क्षति हुँदा हजारौं नागरिक अलपत्र परेको भन्दै तत्कालै पन्छाउन माग गरे। 

शाहीले भने, ‘सुर्खेत–दैलेख–कालिकोट हुँदै जुम्ला जाने राजमार्ग गएरातीको बाढीले आठ गाउँमा क्षति गरेको छ। म सरकारसँग माग गर्न चाहन्छु, त्यसलाई छिटो पन्छाइयोस्। त्यहाँ हजारौं नागरिक अलपत्र परेका छन्। रातीदेखि नै उनीहरूले केही खान पाएका छैनन्। छिटोभन्दा छिटो सरकारले त्यो राजमार्ग खोलोस्।’

नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले गतवर्ष जाजरकोटमा गएको भूकम्पका कारण विस्थापित भएका नागरिकलाई सरकारले हालसम्म पनि व्यवस्थापन गर्न नसकेको भन्दै ध्यानाकर्षण गराए।  

थापाले भने, ‘तत्काल कठै भन्ने मात्रै काम हुने भयो, त्यसको मलमपट्टी गर्ने काम भइरहेको छैन।’

जाजरकोट भूकम्पपछिको परकम्पका कारण दैलेखको दुईवटा पालिकामा पुगेको क्षतिबारे तलबाट लिस्ट आएपनि त्यसको संवोधन हुन नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .