नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी आन्दोलनको नयाँ प्रवाह सुरु भएको बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले अघि सार्ने कार्यदिशा र कार्यक्रमले नयाँ प्रवाह ल्याउने दाबी गरे।
उनले ठूलो लडाईं गर्नुपर्ने आवश्यकता अब नरहेको भन्दै सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्ने पनि बताए।
‘समाजवादी आन्दोलनको सिलसिलामा अब जुन हाम्रो नयाँ प्रवाह सुरु हुँदैछ। स्वभाविक रुपले हामीले अब जुन कार्यक्रम अघि सार्नेछौँ, जो नीतिहरु अघि सार्नेछौँ। जुन कार्यदिशा अघि सार्नेछौँ। यो महाधिवेशनमा हामीले मुलभुत रुपमा सहमति गरेका छौँ, दस्तावेजहरूमा,’ उनले भने, ‘अझै त्यसभित्र गहन ढंगले हामीले छलफल गर्ने नै छौँ। यो महाधिवेशनमा पनि व्यापक मन्थन हुनेछ। यो मन्थनपछि हामी जब कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्यहरूलाई पारित गर्नेछौँ।’
सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्नेकुरा आफूहरुको कार्यभार रहेको बताउँदै उनले महाधिवेशनले सहमतिका साथमा नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व निर्माण गरेर अघि बढ्ने पनि बताए।
‘स्वभाविक रुपले अब हामीले ठूलो लडाईं गर्नुपर्ने आवश्यकता छैन कमरेडहरू। हामी जुन प्रकारको नीतिहरू पारित गरिरहेका छौँ। जुन कार्यदिशा पारित गरिरहेका छौँ। त्यही आधारमा सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्नेकुरा हाम्रो कार्यभार हो,’ उनले भने, ‘यो महाधिवेशनले सहमतिका साथमा नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व निर्माण गरेर हामीले अघि बढ्नुपर्छ। यसरी हामी अघि बढ्यौँ भने नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ तरंग सिर्जना हुनेछ।’
सम्मानित नेता खनालले दक्षिणपन्थी यथास्थितिवादका विरुद्धमा भूकम्प सिर्जना गर्ने पनि बताए।
Shares
प्रतिक्रिया