ad ad

राजनीति


बैकुण्ठ अर्याल निलम्बित भएपछि सिंहदरबारमा नयाँ मुख्यसचिवको खोजी, कोको छन् दौडमा?

बैकुण्ठ अर्याल निलम्बित भएपछि सिंहदरबारमा नयाँ मुख्यसचिवको खोजी, कोको छन् दौडमा?

सचिवहरु क्रमश: दिनेश भट्टराई, एकनारायण अर्याल, रामकृष्ण सुवेदी र मधुकुमार मरासिनी


नेपालखबर
असार ९, २०८१ आइतबार १५:३०, काठमाडौँ

मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएपछि नेपालको निजामती प्रशासनको नेतृत्व अब कसले पाउला? सिंहदरबारमा लेखाजोखा सुरु भइसकेको छ।

वरीयताक्रम हेर्दा तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, टेकनारायण पाण्डे, मधुकुमार मरासिनी, एकनारायण अर्याल सबैभन्दा अगाडि छन्।

ज्ञवाली हाल राष्ट्रिय योजना आयोगमा छन् भने सुवेदी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छन्।

दिनेश भट्टराई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा छन् भने मधुकुमार मरासिनी हालै अर्थमा फर्किएका छन्। एकनारायण अर्याल गृह प्रशासनको नेतृत्व गरिरहेका छन्।

अहिले मुख्य प्रतिस्पर्धा भने सुवेदी र अर्यालका बीचमा हुने ठानिएको छ। यी दुवै उम्मेदवार हालको सत्ता गठबन्धन खासगरी नेकपा एमाले र माओवादी केन्द्र दुवैले रुचाएका पात्र हुन्। 

ज्ञवाली वरीयतामा अगाडि भए पनि उनी हालको सत्ता गठबन्धनले रूचाएका पात्र होइनन्। मुख्यसचिवमा बढुवा नभए ज्ञवाली आउँदो भदौ २२ गते सेवानिवृत्त हुनेछन्।

दिनेश भट्टराई गृह मन्त्रालयमा छँदा उनको कार्यसम्पादन सन्तोषजनक नभएको सरकारको बुझाइ छ।

टेकनारायण पाण्डे भुटानी शरणार्थी प्रकरणमा निलम्बित छन्। मरासिनीविरुद्ध हालै भ्रष्टाचार मुद्दा लागेको र त्यसको फैसला अन्तिम नभएको कारण विवादित भनेर सरकारको छनोटमा नपर्न सक्ने विश्लेषण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भइरहेको छ।

बहालवाला प्रशासकहरूमा अर्याल तुलनात्मक रूपमा राम्रो कार्यसम्पादन भएका, कम विवादित र निर्णय लिन सक्ने क्षमताका मानिन्छन्। 
यसरी हेर्दा सुवेदी र अर्यालमध्ये एकजना छनोटमा पर्न सक्ने आकलन गरिएको छ।

अर्यालले राजीनामा दिएको भए पद रिक्त हुने थियो र मुख्य सचिव बढुवाको प्रक्रिया अघि बढाउन सहज हुने थियो। तर, राजीनामा नदिएको अवस्थामा उनी स्वतः निलम्बित हुन्छन् र उनको पद रिक्त भइहाल्दैन। त्यस्तो अवस्थामा केही समय मुख्यसचिव कायममुकायम मुकरर गरेर मुलुकको निजामती प्रशासन चलाउने विकल्प हुन्छ।

प्रधानमन्त्री कार्यालयमै कार्यरत सचिवहरूलाई जिम्मेवारी दिने हो भने कानुनतर्फकी सचिव लीलादेवी गड्तौलाले त्यो अवसर पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .