ad ad

राजनीति


गृहमन्त्रीलाई राणाको प्रश्नः सुशासन र नैतिकताको नारा कहाँ गयो?

गृहमन्त्रीलाई राणाको प्रश्नः सुशासन र नैतिकताको नारा कहाँ गयो?

नेपालखबर
असार ४, २०८१ मंगलबार १४:१६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद उदयसमशेर राणाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो भनी प्रश्न गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा गृहसहित विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद राणाले गृहमन्त्री लामिछानेलाई नेपाली जनताले सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाजका नारा लगाएपछि निर्वाचित गरे पनि सोअनुसार काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

उनले बजेट जनताको भएकाले जनप्रतिनिधि सांसदहरूको सुझाव लिएर मात्रै त्यसलाई अघि बढाउन सरकारलाई सचेत गराए। सांसद राणाले बजेट निर्माण गर्दा जनतासँग सुझाव लिने व्यवस्था पनि गर्नुपर्ने धारणा राखे।

पूर्वअर्थराज्यमन्त्री समेत रहेका राणाले भने, ‘यो बजेट कसको ? जनता कि सरकारको ? जनताको हो भने हामी सांसदहरू, हामी विपक्षी दलका मात्रै होइन, सत्तापक्षका सांसदहरूले पनि हाम्रो क्षेत्रमा कति बजेट  पर्‍यो भनेर रातो किताब किन कुर्नुपर्ने? हामीलाई योभन्दा अघि हाम्रो जिल्लामा कति पैसा परेको छ? सडक विभागले त्यहाँका सांसद, मेयर, उपमेयरलगायतका जनप्रतिनिधिलाई किन सोध्न नसक्ने? किन प्रधानमन्त्री, मन्त्री र कर्मचारीको मिलेमतोमा मात्रै बजेट छुट्टिनुपर्ने?’

अब आउने दिनमा ओपन बजेटको अवधारणामा गएर जनताबाट पनि सुझाव लिनुपर्ने उनको विचार थियो।

गृहमन्त्रीतर्फ लक्षित गर्दै उनले छलफलका क्रममा भने, ‘अन्तिममा मेरो प्रश्न गृहमन्त्रीज्यूलाई। तपाईंलाई नेपाली जनताले सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाजजस्ता नारामा माया गरेर निर्वाचित हुनुभयो। गृहमन्त्रीज्यू, यो नारा कहाँ गयो?’

सांसद राणाले प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरूको मिलेमतोमा मात्रै बजेट आउने गरेकाले त्यसले जनताको भावनाको प्रतिनिधित्व गर्न नसकेको जिकिर पनि गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .