ad ad

राजनीति


खल्तीमा राजीनामा बोक्नु रास्वपाको पहिचान हो, उथलपुथल गर्ने बेला भएको छैन : प्रचण्ड

खल्तीमा राजीनामा बोक्नु रास्वपाको पहिचान हो, उथलपुथल गर्ने बेला भएको छैन : प्रचण्ड

नेपालखबर
असार ३, २०८१ सोमबार ११:५६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता समीकरणमा कुनै उथलपुथल नहुने दाबी गरेका छन्। सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन राम्रैसँग अघि बढ्ने बताएका हुन्। 

तपाईंले उथलपुथल गर्ने बेला त भएको छैन नि? भन्ने सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘भा छैन। यो जान्छ, राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने र्‍युमरहरूमा कुनै सत्यता छैन।’

त्यस्तै, उनले रास्वपाका नेताहरूले पहिचानका लागि आफ्नो खल्तीमा राजीनामापत्र बोकेर हिँड्ने गरेको हुनसक्ने बताए। 

रास्वपाका नेताहरू त खल्तीमै राजीनामा बोकेर हिँडेका छौँ भन्नुहुन्छ नि? भन्ने अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

‘रवीजीले सुरुमै भन्नुहुन्थ्यो, हामी त्यस्ता हौँ भनेर। त्यो चाहीँ उहाँहरूले आफ्नो पहिचानका लागि पनि भन्नुपर्ने आवश्यक्ता होला। तर मैले बुझेकोमा त्यस्तो केहीपनि छैन,’ प्रधानमन्त्री प्रचण्डले भने। 

साथै, उनले सरकारका मन्त्रीहरूको १ सय दिनको उपलब्धि राम्रै पाएको जिकिर गरे।

‘१० दिनको उपलब्धि राम्रो नै छ। सबैभन्दा ठूलो कुरा नीति कार्यक्रम र बजेट जनताको पक्षमा राष्ट्रको पक्षमा प्रस्तुत भएको छ। राम्रैसँग प्रतिनिधिसभाबाट पारित पनि हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसको साथै अन्य सुशासन र सामाजिक न्याय समृद्धिको क्षेत्रमा पनि सकारात्मक पहलहरू अगाडि आएका छन्। यो सन्तोषजनक छ। तैपनि विगतमा भनेजस्तै, राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति लिन आवश्यक छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .