ad ad

राजनीति


बजेटमा असन्तुष्टि हो, सत्ता समीकरणमा कुनै समस्या आएको छैन : उपप्रधानमन्त्री लामिछाने

बजेटमा असन्तुष्टि हो, सत्ता समीकरणमा कुनै समस्या आएको छैन : उपप्रधानमन्त्री लामिछाने

नेपालखबर
असार २, २०८१ आइतबार २०:४१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले अहिलेको सत्ता समीकरणमा कुनै समस्या नआएको दाबी गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार फेरिन सक्ने चर्चाबीच राष्ट्रिय समाचार समिति (रासस)ले गरेको कुराकानीमा  बजेटका सन्दर्भमा असन्तुष्टि भए पनि त्यस्तो कुनै समस्या नभएको टिप्पणी गरे।

‘हुन त त्यो कुरा बजेटका विषयलाई लिएर आएको हो,’ लामिछानेले भने, ‘बजेटका विषयमा र यसको तौरतरिकाका सवालमा सत्तारुढ दलभित्र असन्तुष्टि जरुर छ। जुन ढंगले हामीले बजेट ल्याइरहेका छौँ, यसमा प्रक्रियागत सुधारका कुराहरु छन्। कतिपय सन्दर्भमा कर्मचारीतन्त्रका समस्याले पनि असन्तुष्टि आएका हुन सक्छन् तर सत्ता समीकरणमा कुनै समस्या आएको परिस्थिति होइन।’


राजनीतिक सन्दर्भमा कुरा गरौं, अहिले सत्ता समीकरणमा केही समस्या आएको हो ? किनकी तपाईंकै पार्टीका एक मन्त्रीले राजीनामा खल्तीमा छ भनेर अभिव्यक्ति दिनुभएको छ, वास्तविकता के हो ?

हुन त त्यो कुरा बजेटका विषयलाई लिएर आएको हो। बजेटका विषयमा र यसको तौरतरिकाका सवालमा सत्तारुढ दलभित्र असन्तुष्टि जरुर छ। जुन ढंगले हामीले बजेट ल्याइरहेका छौँ, यसमा प्रक्रियागत सुधारका कुराहरु छन्। कतिपय सन्दर्भमा कर्मचारीतन्त्रका समस्याले पनि असन्तुष्टि आएका हुन सक्छन् तर सत्ता समीकरणमा कुनै समस्या आएको परिस्थिति होइन। हामी देखिएका समस्याका विषय लुकाउनु हुँदैन, बाहिर ल्याउनुपर्छ, हामीसँग आफ्ना कामकै सवालमा असन्तुष्टिका विषय छन्। हामीले जनताका अपेक्षाबमोजिम अझै काम गर्नुपर्छ। त्यसकारण यस्ता विषय आएका हुन्। 

संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई सहमतिका आधारमा छिट्टै पारित गर्ने भनिएको धेरै भयो। अब त ढिलाइ नहोला कि ?

मेरो विचारमा यो विधेयकमा सहमतिका लागि अन्तिम चरणमा पुगेको छ। शीर्ष राजनीतिक तहमा यसले चाँडै प्रवेश पाउनेछ। वास्तवमा अन्तर्राष्ट्रिय मानव अधिकारका मूलभूत सिद्धान्त र पीडितमैत्री भएर शीर्ष नेतृत्व र पुराना ठूला दल एक ठाउँमा उभिँदा सहमति हुन्छ। उहाँहरुमा यसलाई राजनीतिक विषय नबनाउने प्रतिबद्धता भने चाहिन्छ। सत्तामा भएको र नभएको भन्ने आधारमा आफ्ना दलीय तर्क र भनाइलाई फरक फरकरुपमा प्रस्तुत गरिनुहुन्न। यसलाई दलगत लाभ हानिको विषय नभई पीडितमैत्रीरुपमा सम्बोधन गर्न खोज्दा सहमतिमा पुग्न सकिन्छ। हामी नयाँ दलका हैसियतले यसमा सहमतिका लागि सहजीकरण र संवाद गर्न तयार हुनेछौँ। त्यसैले यो विधेयक चाँडै टुंग्याउनुपर्छ र टुंगिन्छ भन्ने लाग्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .