काठमाडौं महानगपालिकाकी उपप्रमुख सुनीता डंगोलले काठमाडौं जिल्ला कमिटीको सातौं अधिवेशनबाट छनोट हुने नयाँ नेतृत्वका लागि कुनै पनि पदमा आफूले दाबी नगरेको उल्लेख बताएकी छन्।
उनले एक विज्ञप्ति जारी गर्दै काठमाडौं एमालेको चालू अधिवेशनमा कुनै पदमा नउठ्ने स्पष्ट पारेकी हुन्।
डंगोलले एउटै व्यक्तिले विभिन्न जिम्मेवारी लिएर पद ओगट्ने कुरासमेत त्यति व्यावहारिक नहुने भएकाले पनि काठमाडौं जिल्ला कमिटीको जारी अधिवेशनमा कुनै पनि पदका लागि दाबेदार बन्न इच्छुक नभएको जानकारी गराएकी छन्।
अहिले आफू काठमाडौं महानगरपालिकाको उपप्रमुखसँगै एमालेको केन्द्रीय स्तरको स्थानीय तह विभागको सदस्यको समेत जिम्मेवारीमा रहेको उनले स्मरण गराउँदै विज्ञप्तिमा भनेकी छन्, ‘एउटै व्यक्तिले विभिन्न जिम्मेवारी लिने वा पदीय जिम्मेवारीले थिच्दै जाने हो भने कुशल ढंगले काम गर्न असहज हुने निश्चित नै छ। एक व्यक्ति धेरै पदीय जिम्मेवारी भयो भने विभिन्न जिम्मेवारी लिने योग्य व्यक्तिहरूलाई पनि अवसरका ढोकाहरू बन्द हुने हुँदा धेरै पदीय जिम्मेवारी नलिई अहिले जनप्रतिनिधिको हैसियतले जनताको सेवक भएर काम गर्ने मेरो चाहना छ।’
एमाले काठमाडौं जिल्ला कमिटीको अधिवेशअन्तर्गत अअहिले बन्दसत्र चलिरहेको छ। ५ सय ८५ प्रतिनिधिको उपस्थिति रहेको अधिवेशनले नयाँ नेतृत्व छनोट गर्दै छ।
Shares

प्रतिक्रिया