ad ad

राजनीति


चीन जाँदै विद्या भण्डारी

चीन जाँदै विद्या भण्डारी

बेइजिङमा मे २०१९ मा राष्ट्रपति सी चिनफिङसँग तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी (एएफपी)


नेपालखबर
जेठ २५, २०८१ शुक्रबार २०:४८, काठमाडौँ

पार्टी राजनीतिमा सक्रिय हुने हल्लाबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चाँडै चीन भ्रमणमा जाने तयारी गरेकी छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा भण्डारीले छोरी उषाकिरण भण्डारीलाई समेत लिएर चीन भ्रमण गर्न लागेकी हुन्। भण्डारीको भ्रमण एमाले अध्यक्ष केपी ओलीको पहल वा सहमतिमा आयोजना हुन लागेको हो।

एमालेको एउटा टोलीले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागसँग समन्वयमा रहेर पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणको तयारी गरिरहेको छ।

‘एक वर्ष अघिदेखि नै पूर्वराष्ट्रपति भण्डारीलाई चीनबाट भ्रमणको निम्तो आएको हो, बेलाबेलामा भेटघाट हुँदा मौखिक रुपमा पनि भ्रमण होस् भन्ने चाहना चिनियाँ पक्षबाट आएको थियो,’ भण्डारीको भ्रमणको तयारीमा संलग्न एक नेताले भने, ‘तीन महिना (संभवतः सेप्टेम्बर) भित्र भ्रमण गर्ने गरि तयारी चलिरहेको छ।’

दुई कार्यकाल राष्ट्रपति भएर फागुन २०७९ मा शीतलनिवासबाट बिदा भएको डेढ वर्षपछि हुने यो नै भण्डारीको पहिलो विदेश भ्रमण हुनेछ।

पूर्वराष्ट्रपतिको रुपमा भण्डारी अहिले राजनीतिक–सामाजिक रुपमा सक्रिय रहँदै आएकी छन्। उनी पुनः पार्टी राजनीतिमा सक्रिय हुने चर्चा चलिरहँदा एमालेले राष्ट्रिय महिला भेलामा हालै प्रमुख अतिथि बनाएको थियो। त्यसअघि अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति तथा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई निम्त्याएर पार्टीको तर्फबाट पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान दिएका थिए। 

भण्डारी पार्टी राजनीतिमा सक्रिय हुन सक्ने संकेत यी गतिविधिले दिइरहेकै बेला उनको चीन भ्रमणले त्यसलाई झन् प्रष्ट्याउन सक्ने देखिन्छ।

भण्डारी आफैले चाहिँ पार्टी नेतृत्वबाट प्रस्ताव आए मात्रै सक्रिय राजनीतिमा जोडिन सकिने संकेत गर्दे आएकी छन्, जुन एमाले अध्यक्ष केपी ओलीको ‘ग्रिन सिग्नल’ को पर्खाइका रुपमा व्यक्त भएको धेरैको बुझाइ रहेको छ।

एमालेका केही नेताहरूको बुझाईमा भण्डारी पार्टीमा सक्रिय हुने उपयुक्त मौकाको पर्खाइमा छिन्– पहिलो, केपी ओलीसहित एमालेको टिमको ‘अफर’ दोस्रो, एमाले–माओवादी केन्द्रलाई एकै ठाउँमा ल्याउँदा पाउने कुनै महत्वपूर्ण भूमिका।

संभवतः चिनियाँ कम्युनिस्ट पार्टीले भण्डारीले त्यस्तै भूमिका खेल्न सक्ने देखेर पनि उनको भ्रमण आयोजना गर्न खोजेको हुनसक्छ।

भण्डारीको चीन भ्रमण दलमा को को रहने भन्ने टुंगो लागिसकेको छैन। उनको टोलीका सदस्यहरूको छनोटले पनि संभवतः भोलीका दिनमा भण्डारीको राजनीतिक भूमिकाको संकेत गर्नेछ।

पूर्वराष्ट्रपतिको भ्रमण टोलीमा माओवादी वा अन्य पार्टीका नेता रहन्छन् रहँदैनन् प्रष्ट छैन, तर एमालेका केही नेता भने अवश्य रहने छन्। संभवतः एमालेका उप–महासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली टोलीमा समावेश हुनेछन्। त्यस्तै भ्रमण टोलीमा जेठी छोरी उषाकिरण भण्डारी र राष्ट्रपति हुँदाको सचिवालयका सदस्यहरू समावेश हुन सक्नेछन्।

चीनमा भण्डारीको भेट राष्ट्रपति सी चिनफिङसँग हुने नहुने निश्चित छैन। तर उनले बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको शक्तिशाली स्थायी समितिका सतमध्ये केही नेतासँग भेटवार्ता गर्ने तयारी छ।

राष्ट्रपतिको दोस्रो कार्यकाल वैशाख २०७६ मा भण्डारीले चीनको राजकीय भ्रमण गरेकी थिइन्, जुन नेपालका राष्ट्रपतिबाट चीनमा भएको पहिलो राजकीय भ्रमण थियो। त्यसक्रममा भण्डारीले चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भेटवार्ता गर्नुको साथै पहिलो बीआरआई फोरममा सहभागिता जनाएकी थिइन्।

भण्डारीले राष्ट्रपति सीसँग भएको दुई पक्षीय भेटवार्तामा ‘ट्रान्स–हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ अवधारणामा सहमति जनाएकी थिइन्। यही बेला बीआरआई अन्तर्गत नेपाल–चीन सीमापार रेलवे अगाडि बढाउने सहमति गरिनुका साथै व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको थियो।

राष्ट्रपति भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङले असोज २०७६ मा नेपाल भ्रमण गरेका थिए, जुन २३ वर्षपछि चीनबाट भएको पहिलो राष्ट्राध्यक्ष तहको भ्रमण थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .