राजनीति


मदन भण्डारीकी छोरीले जब राष्ट्रिय सभा सदस्यमा ओलीको प्रस्ताव अस्वीकार गरिन्

मदन भण्डारीकी छोरीले जब राष्ट्रिय सभा सदस्यमा ओलीको प्रस्ताव अस्वीकार गरिन्

मदन भण्डारीका दुई छोरीमध्ये जेठी उषाकिरण पार्टी राजनीतिमा सक्रिय रहँदै आएकी छन्


नेपालखबर
बैशाख ८, २०८१ शनिबार २१:३४, काठमाडौँ

सत्ता गठबन्धनको प्रमुख पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्यमा मदन भण्डारीकी छोरी उषाकिरण भण्डारीलाई प्रस्ताव गरेको खुलेको छ। 

उच्च स्रोतहरूका अनुसार ओलीले यो प्रस्ताव उषाकिरणलाई सिधै र पूर्वराष्ट्रपति तथा उषाकी आमा विद्यादेवी भण्डारी मार्फत् पनि राखेका थिए। तर उषा र विद्या दुवैले सो प्रस्ताव अस्वीकार गरेपछि ओलीले अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा पठाएका हुन्।  

‘ओलीले मदन भण्डारीकी छोरी उषाकिरणलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्न प्रधानमन्त्री प्रचण्डसमक्ष प्रस्ताव राख्नु भएको थियो,’ माओवादीका एक मन्त्रीले भने, ‘प्रधानमन्त्री प्रचण्ड पनि त्यसमा सकारात्मक हुनुहुन्थ्यो, तर उषाले नै नियुक्त भएर राष्ट्रिय सभामा जान नमानेपछि अन्जान शाक्यलाई पठाइएको हो।’ 

एमालेका एक नेताका अनुसार उषाले ओलीको प्रस्तावमा भनेकी थिइन्, ‘मदन भण्डारीको छोरी भएकाले पनि मेरो जिनमै राजनीति छ, तर म मनोनित भएर जान्नँ, राजनीतिमा सक्रिय हुन मन लाग्दा निर्वाचनमै जान्छु।’

विद्या भण्डारीले पनि ‘पारिवारिक राजनीति’ गरेको आरोप लाग्न सक्ने भन्दै ओलीको प्रस्ताव अस्वीकार गरेपछि सो ठाउँमा अन्जान शाक्यलाई ल्याइएको हो। मन्त्रीपरिषदबाट निर्णय गराएर प्रधानमन्त्री दाहालले प्रस्ताव पठाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिसकेका छन्। 

‘म पार्टीमा निरन्तर सक्रिय नै हुँदा त मलाई पारिवारिक राजनीति गरेको आरोप लाग्दै आएको छ,’ यो प्रकरणमा भण्डारीको भनाइ थियो, ‘अहिले उषालाई राष्ट्रिय सभामा लैजाँदा पनि त्यही आरोप लाग्ने अवस्था आउन सक्छ।’   

अन्जान शाक्य एमालेको विदेश विभागमा सक्रिय छिन्, जसलाई राष्ट्रिय सभा सदस्य बनाएर ओलीले कुनै पनि बेला परराष्ट्रमन्त्री बनाउन सक्ने गरी तयारीमा राखेको चर्चा एमाले वृत्तमा छ। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभामा मनोनयन भएकी विमला राई पौड्याललाई ओलीले २०७९ पुसमा परराष्ट्रमन्त्री बनाएका थिए, जो प्रचण्डले समीकरण फेरेपछि एमालेका अरु मन्त्रीसँगै सरकारबाट बाहिरिएकी थिइन्।   

नेताहरूले दुई वटा कारणले ओलीले उषालाई राष्ट्रिय सभाको सदस्यमा प्रस्ताव गरेको हुनसक्ने विश्लेषण गरेका छन्। 

एक, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने यो सिटमा यसअघि एमालेकै पौड्याल थिइन्, जो एमालेभित्र पूर्वराष्ट्रपति भण्डारी निकट मानिन्छिन्। सो यो पदमा महिला नै प्रस्ताव गर्नुपर्दा उषा एक स्वाभाविक दाबेदार हुन सक्थिन्। 

दुई, राईको ठाउँमा उषालाई पठाउँदा पूर्वराष्ट्रपति भण्डारीसँग पनि ओलीको विश्वास कायम रहन्थ्यो, जो अहिले एमालेभित्र ओलीपछिको नेतृत्वको एक आकांक्षी हुन्। अर्को कुरा संभवतः ओलीले मदन भण्डारीकी छोरीलाई प्रस्ताव गरेर पार्टीभित्र नेता कार्यकर्ताको भावनाको सम्बोधन पनि गर्दै युवालाई अगाडि बढाइरहेको थप संकेत गर्न खोजेका थिए। र, उनलाई उषाको नाम प्रधानमन्त्री प्रचण्डले सहजै स्वीकार गर्छन् भन्ने पनि लागेको हुन सक्छ। 

उषा आफैँ र पूर्वराष्ट्रपति भण्डारीले अस्वीकार गर्लान् भन्ने सायद ओलीलाई लागेकै थिएन। 

मदन भण्डारीका दुई छोरीमध्ये जेठी उषाकिरण पार्टीमा केही सक्रिय भए पनि कान्छी निशाकुसुम राजनीतिबाट टाढैजस्तै छिन्। 

एमालेको पार्टी सदस्य रहेकी उषाकिरण एक समय विदेश विभागको सदस्य थिइन्। तर अहिले उनी कुनै पनि विभागमा छैनन्। विद्या भण्डारी राष्ट्रपति भएपछि अध्यक्ष भएर मदन भण्डारी फाउण्डेशनको नेतृत्व उषाकिरणले नै सम्हालेकी थिइन्। अहिले सो पदमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .