ad ad

राजनीति


बालेनविरुद्ध एमालेको सम्पूर्ण शक्ति!

बालेनविरुद्ध एमालेको सम्पूर्ण शक्ति!

नेपालखबर
जेठ २२, २०८१ मंगलबार २१:१५, काठमाडौँ

झट्ट हेर्दा बालेन्द्र शाह एउटा स्थानीय तहका प्रमुख मात्र हुन्। उनीसँग कुनै संगठित शक्ति छैन। पार्टी छैन। कार्यकर्ता छैनन्। लामो इतिहास र प्रभावशाली नेताको विरासत पनि छैन।

अर्कोतिर यो देशको एउटा ठूलो शक्ति नेकपा एमाले, जो सरकारमा पनि छ। संसदमा दोस्रो ठूलो दल। व्यापक संगठन सञ्जाल, अनि इतिहासको राम्रै विरासत पनि।

अहिले यिनै २ पक्ष आमनेसामने देखिएका छन्। मानौँ, सत्तापक्ष र प्रतिपक्ष अहिले यिनै दुई शक्ति हुन्।

केही दिनअघिसम्म काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी त्यति आलोचना गरेका थिएनन्। काठमाडौँको फोहोर व्यवस्थापनमा असहयोग गरेको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टी माओवादी केन्द्रको मुख्यालयदेखि गृहमन्त्री रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्यालयसम्म फोहोर थुपार्न गाडी पठाएका थिए। त्यतिन्जेल उनी एमालेविरुद्ध खनिएका थिएनन्।

गत शुक्रबार वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनसँग महानगरको कार्यपालिका बैठकमा उनको चर्काचर्की नै भयो।

महर्जनले नयाँ सडक क्षेत्रमा सडकपेटी विस्तार गर्दा सम्बन्धित वडाध्यक्षहरू र संघीय सरकारका अन्य निकायसँग समन्वय नभएको प्रश्न उठाएका थिए। मेयर शाह तत्कालै आफ्नो कदमको बचाउमा उत्रिएका थिए।

महर्जनले वडा कार्यालयबाट राजस्वका फाइल खिचिएकोमा पनि असन्तुष्टि जनाएका थिए। ‘यो डकैतीको शैलीमा के गर्न खोज्नुभएको हो? महानगरमै यो के भएको? म पनि जनताले चुनेर आएको मान्छे हो,’ उनले मेयर शाहलाई भनेका थिए।

त्यसको प्रस्टीकरण भने प्रशासकीय अधिकृत प्रदीप परियारले दिएका थिए। घरबाहल करसम्बन्धी अध्ययनका लागि फाइल खिचिएको परियारको भनाइ थियो। २२ नम्बरमा मात्रै नभई अरू वडामा पनि आन्तरिक राजस्व विभागसँगको सहकार्यमा त्यो काम भएको परियारले बताएका थिए।

त्यसपछि एमाले पक्षधरले नयाँ सडक क्षेत्रमा बालेनविरूद्ध प्रदर्शन र नाराबाजी पनि गरेका थिए। संयोग यस्तो थियो कि बालेन र सडक डिभिजन कार्यालयबीच त्यसअघि नै द्वन्द्व चर्किसकेको थियो। र, सडकका विभागीय मन्त्री रघुवीर महासेठ एमालेकै थिए।

सडक डिभिजनले पेटी विस्तार नगर्न चेतावनी दिँदादिँदै महानगरपालिकाले पिच नै उप्काउन थालिसकेको थियो। संघीय सरकारले रोक्न खोजेपछि विरोधस्वरूप बालेनले सडक डिभिजन कार्यालयकै गेटमा एक गाडी धुलो पठाएर खन्याउन लगाएका थिए।

द्वन्द्व चर्किँदै गएपछि बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम जोडेर गिरीबन्धु प्रकरणका मुख्य दोषी करार गरे। त्यसपछि भने ओली यसरी रिसाए कि सिंहदरबारमा पत्रकारले अर्कै सन्दर्भमा सोधेको प्रश्नमा पनि ‘बालेनलाई नै सोध्नू’ भनेर जवाफ फर्काए।

त्यति मात्र होइन, ओलीले बालेनविरूद्ध एमाले दस्ता मजैले परिचालन गरेका छन्। मंगलबार त एमालेले संसदमै बालेनको प्रसंग उठाउँदै कडा विरोध जनाएको छ।

संघीय सत्ता गठबन्धनको प्रमुख घटक एमालेले स्थानीय सरकारका एकजना प्रमुखलाई चेतावनीकै भाषा प्रयोग गरेको छ।

एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले प्रतिनिधि सभाको बैठकमा काठमाडौंका मेयर शाहले संयम गुमाउँदै गएको टिप्पणी मात्र गरेनन्, आफू काठमाडौँ महानगरको प्रमुख हुँ भन्ने नभुल्नसमेत चेतावनी दिए।

उनले एमाले अध्यक्ष ओलीले दिएको तबला उपहार स्मरण गराउँदै उक्त तबलाको अर्थ करुणा, प्रेम, सद्भाव र संयम रहेको बताए। तबलाको धुनमा काम गर्नुपर्नेमा शाह विपरीतरूपमा अगाडि बढेको उनको आरोप थियो। उनले प्रश्न गर्दै भने, ‘काठमाडौँ महानगरपालिका र सडक विभागबीच मतभेदहरू उत्पन्न भए, त्यसको दोष पनि एमाले र एमालेका अध्यक्षले बोक्नुपर्ने?’

एमालेले संसदभित्र त यो विषय उठायो नै, बाहिर निस्केर पनि एमाले सांसदहरू बालेनकै विरूद्धमा बोल्न तम्सिएको देखियो।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संसदबाट बाहिरिने क्रममा थप आक्रोश व्यक्त गरे। मेयर शाहका अभिव्यक्तिले आफैंलाई गिज्याइरहेको उनको टिप्पणी थियो।

‘महानगरपालिकाका मेयरजीले असाध्यै तल्लोस्तरबाट टिप्पणीहरू गरिरहनुभएको छ, त्यो राम्रो होइन, ’ उनको भनाइ थियो, ‘उहाँ स्वयमले त्यो संस्थाको गरिमालाई गिज्याइरहनु भएको छ। उहाँले यो देशको नेतृत्वहरूप्रति, पूर्वप्रधानमन्त्रीहरूप्रति जुन ढंगबाट सधैँ निम्छरो तरिकाले अशिष्ट, उदण्ड तरिकासाथ जे प्रस्तुति गरिरहनुभएको छ, यो राम्रो छैन। यसले इतिहासलाई अवमूल्यन गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने, कहिले सिंहदरबार जलाइदिन्छु भन्ने, कहिले के भन्ने। यस प्रकार राज्यका विद्यमान कानुनी प्रबन्धहरूलाई नै चुनौती दिने गरी एक जना मेयरले जे हर्कत गरिरहेका छन्, यो राम्रो होइन।’

यसरी सडकदेखि संसदसम्मै एमाले मोर्चा बालेनविरूद्ध सक्रिय भएको देखिन्छ। भलै स्वयं ओलीले सोमबार साँझ फेसबुकमा गोसाइँकुण्डको पारिवारिक तस्बिर राखेर सामाजिक सञ्जालबाट केही समयदेखि टाढा रहेको उल्लेख गरेका थिए। कसैका फेसबुक टिप्पणीलाई गम्भीरतासाथ नलिएको वा त्यसबारे जानकार नै नरहेको भन्ने देखाउन उनले यो पोस्ट गरेको हुन सक्ने एकथरीको बुझाइ छ।

सायद यही बुझेर बालेनले पनि कमेन्ट गरिहाले, ‘ओह, हु... गुड नाइट केपी बा, ह्याभ अ स्विट ड्रिम।’ 

तर, सामाजिक सञ्जालमा राम्रै फ्यान फलोइङ भएका बालेनले गिरीबन्धु टी स्टेट (चियाबगान) को ‘१० हजार करोड’को जग्गा घोटाला प्रयासमा नाम जोडेर आलोचना गरेपछि ओलीलाई असह्य भएको देखिन्छ। त्यसपछि उनले पार्टी पंक्ति नै बालेनविरूद्ध उतारेका छन्।

यो द्वन्द्व नगर व्यवस्थापनमा नमिलेको विचारको प्रकटीकरण मात्र होइन भने आगामी चुनावसम्म अनेक आयाममा देख्न सकिनेछ। त्यतिन्जेल बालेन एमालेको अपेक्षाअनुसार तबलाको तालमा गुन्जिन्छन् या हेभिमेटलको ड्रममा प्रस्तुत हुन्छन्? प्रतीक्षा रोचक नै हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .