राजनीति


संविधान संशोधनका लागि नेकपाले कार्यदल बनाएको छैन : महासचिव पौडेल

संविधान संशोधनका लागि नेकपाले कार्यदल बनाएको छैन : महासचिव पौडेल

मणि दाहाल
फागुन ११, २०७६ आइतबार १५:२४,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले संविधान संशोधन गर्ने विषयमा पार्टीले कुनै कार्यदल गठन नगरेको बताएका छन्।

शनिबारको सचिवालय बैठकमा संविधान संशोधनको विषयमा छलफल भएपनि कुनै निर्णय नभएको उनले नेपालखबरलाई बताए।

‘संविधान संशोधनको विषय सचिवालयको बैठक एजेन्डा पनि थिएन। बैठकको बीचमा यो विषय छिसिक्क उठेको थियो। अलिअलि छलफल भएको हो,’ पौडेलले नेपालखबरसँग भने, ‘तर, सञ्चारमाध्यममा कार्यदल बनेको भनेर यसरी समाचार आयो कि होइन भन्दा पनि कसैले पत्याउँदैनन्।’

आइतबार विभिन्न सञ्चारमाध्यममा स्रोतहरुलाई उधृत गर्दै राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्न संविधान संशोधनका लागि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनेको समाचार आएका थिए। जसले सत्तारुढ दल नेकपा र देशभर तरंग उत्पन्न गरेको थियो।

नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री समेत बन्न मिल्नेगरी राष्ट्रियसभामा लैजाने तयारीस्वरुप संविधान संशोधनको प्रस्ताव गरिएको ती समाचारमा जनाइएका थिए।

सो कार्यदलमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र पूर्वसांसद खिमलाल देवकोटा सदस्य रहेको पनि बताइएको थियो।

तर, नेम्वाङ र देवकोटा दुवै आफूहरुलाई यसबारे कुनै जानकारी नआएको बताए।

‘यस विषयमा मलाई कुनै जानकारी आएको छैन,’ नेम्वाङले भने।

‘कार्यदलबारे जिज्ञासा राखेर सञ्चारमाध्यमबाट मलाई निरन्तर फोन आइरहेको छ,’ देवकोटाले भने, ‘तर, पार्टीका कसैले पनि मलाई यसबारे केही भनेको छैन।’

नेकपा उपाध्यक्ष गौतमले भने प्रधानमन्त्री बन्न पाउने भए मात्रै आफू राष्ट्रियसभामा जाने बताउने गरेका छन्।

०७४ मंसिरमा भएको आमचुनावमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका गौतमले उपचुनावमार्फत प्रतिनिधिसभाको सदस्य बन्न पटकपटक प्रयास गरेका थिए। उपचुनावमा बाँके, काठमाडौं, डोल्पा र कास्कीबाट सांसद बन्ने प्रयास गरेका थिए। तर, चर्को आलोचना भएपछि गौतम पछि हटेका थिए।

पार्टीका शीर्ष नेताले उनलाई राष्ट्रियसभा सदस्य बन्न आग्रह गर्दै आएका छन्।

नेपालको संविधानमा प्रतिनिधिसभाको सदस्य मात्र प्रधानमन्त्री बन्नसक्ने प्रावधान छ। त्यसैले गौतमले संविधान संशोधनको सर्त अगाडि सार्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .