राजनीति


अमेरिकी वाल स्ट्रिट जर्नलका पत्रकारले प्रकाशकलाई भने: चीनसँग माफी माग

अमेरिकी वाल स्ट्रिट जर्नलका पत्रकारले प्रकाशकलाई भने: चीनसँग माफी माग

नेपालखबर
फागुन ११, २०७६ आइतबार १४:५४,

तीन जना पत्रकार निष्कासनमा परेपछि अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका पत्रकारहरुले चीनलाई चिढ्याउने लेखको शीर्षक बदलेर माफी माग्न आफ्नै प्रकाशकलाई आग्रह गरेका छन्। यस विषयमा पत्रिकामै आन्तरिक विवाद समेत देखिएको छ।

वाल स्ट्रिट जर्नलले गत फेब्रुअरी ३ मा एउटा आलेख छाप्यो। जसको शीर्षक थियो– ‘चाइना इज द रियल सिक म्यान अफ एसिया।’

कोरोना भाइरस प्रकोपबाट सयौँ मानिसको ज्यान गइरहेको बेला सो लेखले भाइरस रोकथामका लागि चीनले कमजोर प्रयास गरेको आरोप लगाएको थियो। भाइरसले गम्भीर आर्थिक संकट निम्त्याउन सक्ने चेतावनी पनि लेखमा दिइएको थियो। लेख लेखेका थिए, पत्रिकाका स्तम्भकार वाल्टर रसेल मिडले।

यो शीर्षकबाट चीन सरकार मात्र होइन, आम चिनियाँ नागरिकसमेत रिसाए। चिनियाँ सामाजिक सञ्जालमा त्यसको चर्को आलोचना भयो। १९ फेब्रुअरीमा सो शीर्षक नश्लभेदी भएको भन्दै चीनले वाल स्ट्रिट जर्नलका तीन पत्रकारलाई देशनिकाला गर्‍यो। बारम्बार आग्रह गर्दा पनि पत्रिकाले माफी नमागेपछि ती पत्रकारलाई देशनिकाला गर्नुपरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

यो निष्कासन र चर्को आलोचनापछि अहिले जर्नलकै दर्जनौँ पत्रकारले यस विषयमा पत्रिकाले माफी माग्नुपर्ने बताएका छन्।

पत्रिकाका पत्रकार र सम्पादकले संयुक्त पत्र लेखेर आफ्ना हाकिमहरुलाई चुनौती दिएको र आलोचना गरेको द न्युयोर्क टाइम्सले जनाएको छ। जसमा ५३ जनाले हस्ताक्षर गरेका छन्।

‘शीर्षक सच्याएर हाम्रा पाठक, स्रोत, सहकर्मी र यसबाट अपमानित महसुस गर्ने सबैसँग माफी माग्न हामी आग्रह गर्छौँ,’ पत्रकारहरुले प्रकाशकलाई पठाएको पत्रमा लेखिएको छ। सो शीर्षक अपमानजनक भएको उनीहरुको ठहर छ।

सो पत्र जर्नलको प्रकाशक डाउ जोन्सका प्रमुख कार्यकारी विलियम लुइस र न्युज कर्पका कार्यकारी प्रमुख रोबर्ट थम्पसनलाई पठाइएको हो। न्युज कर्प रुपर्ट मर्डोकको कम्पनी हो।

सो पत्र जर्नलको चीन ब्युरो प्रमुख जोनाथन चेङको इमेलबाट पठाइएको छ। यद्यपि त्यसमा उनले हस्ताक्षर गरेका छैनन्।

‘भविष्यमा चीनमा हाम्रो उपस्थितिका लागि यो विषयलाई सही तरिकाले समाधान गर्न जरुरी छ,’ पत्रमा भनिएको छ।

पछिल्लो समय कोरोना भाइरस प्रकोपका विषय पश्चिमा मुलुकका सञ्चारमाध्यमले समाचार प्रसारणमा देखाएको असंवेदनशीलताप्रति चीनले आक्रोश व्यक्त गर्दै आएको छ।

गत १८ फेब्रुअरीदेखि अमेरिकामा चिनियाँ सञ्चारमाध्यमका लागि नियम कडा बनाइएको छ। तिनलाई सञ्चारमाध्यम होइन, विदेशी नियोगका रुपमा अमेरिकाले व्यवहार गर्न थालेको छ।

अमेरिकी विदेश मन्त्रालयले चीन सरकारको स्वामित्वमा रहेका सञ्चारमाध्यमलाई विदेशी नियोगको हैसियत दिएको छ। सिन्ह्वालगायत सञ्चारमाध्यमले आफ्नो कर्मचारी फेर्न, कार्यालय खोल्न विदेश मन्त्रालयको अनुमति लिनुपर्ने भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad