ad ad

राजनीति


टीओआरलाई अन्तिम रूप दिन कार्यदलको बैठक बस्दै

कांग्रेस सांसद जीवन परियारलाई प्रश्नः अब रवि लामिछानेको नाम नराख्ने सहमति भएको हो?
टीओआरलाई अन्तिम रूप दिन कार्यदलको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८१ मंगलबार ८:९, काठमाडौँ

सहकारीको रकम अपचलन छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) र क्षेत्राधिकार कस्तो रहने भन्ने विषयमा सहमति जुटाउन आज (मंगलबार) पनि कार्यदलको बैठक बस्दै छ। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा कार्यदलका सदस्य जीवन परियारले बैठक बिहान ११ बजे कानुन मन्त्रालयमा बस्ने जानकारी दिए। 

अब लगभग सहमति भइसकेको हो नि भन्ने नेपालखबरको प्रश्नमा उनले भने, ‘लगभग सहमतिको नजिक छौँ।’

अब उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै तोक्नुपर्छ भन्ने छैन? 

नेपालखबरको जिज्ञासामा सांसद परियारले भने, ‘त्यही वरिपरि छलफल भइरहेको छ।’

उनले आज बिहान ११ बजे बस्ने कार्यदलको बैठकबाट यो कुरो टुंगो लाग्ने विश्वास व्यक्त गरे।   

यसअघि सोमबार प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको प्रतिपक्ष र सत्ता पक्षका शीर्ष नेताको बैठकले संसद्‌मा जारी गतिरोध अन्त्य गर्न सैद्धान्तिक सहमति जुटाएको छ। 

बैठकबाट निस्कँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले  ‘गम्भीर छलफल भयो, हामी निष्कर्ष उन्मुख छौँ’ भन्दै आज बस्ने कार्यदलको बैठकले अन्तिम रूप दिने बताएका थिए। 

यसअघि छानबिन समिति बनाउँदा टीओआरमा गृहमन्त्री लामिछानेको नाम राख्नुपर्ने अडान कांग्रेसले राखिरहेको थियो। अहिले भने टीओआरमा रविको नाम उल्लेख नगर्दा उनी आबद्ध कम्पनी र सहकारीको छानबिन हुनुपर्नेमा छलफल चलिरहेको छ। 

यसैबीच आज संसद्‌मा सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छ। त्यसका लागि आज दिउँसो दुवै सदनको संयुक्त बैठक बस्दै छ। 

बजेट पढ्नुअघि नै सहमति जुटाउनेगरी प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेका छन्। 

बजेट ल्याउनैपर्ने बाध्यात्मक परिस्थितिकाबीच नाराबाजी नहुने पहल भइरहेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .