उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन्। उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका हुन्।
शनिबार बिहान सदनको गतिरोध हटाउन कांग्रेस नेताहरूसँग भएको छलफलबारे ब्रिफिङ गर्न प्रधानमन्त्री प्रचण्डले बोलाएका हुन्।
उता, सत्तारुढ दलका नेताहरूको निष्कर्ष कांग्रेस नेताहरूले कुरिरहेका छन्।
आजै बिहान प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका थिए। सो छलफल सकारात्मक भएको र सत्तारुढ दलका नेताहरूसँग छलफल गरेर बाँकी निर्णय लिने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेपालखबरलाई जानकारी दिए।
कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकसहितका नेताले छलफलमा सहभागी थिए।
बिहीबार नै कांग्रेस र रास्वपाका नेताहरूसहितको छलफलमा एउटा सहमतिको ड्राफ्ट बनिसकेको थियो। यद्यपि, उक्त ड्राफ्टको टीओआर फाइनल गर्न बसेका रास्वपा उपसभापति स्वर्णिम वाग्ले र कांग्रेस सांसद जीवन परियारबीच कुरा नमिल्दा विषय थप पेचिलो बनेको थियो।
सो कुरा नमिलेपछि शुक्रबार पुनः नयाँ बुँदासहित केही विषय संशोधन गरिएको स्रोतले बतायो। प्रधानमन्त्री प्रचण्डले सहमतिका नयाँ बुँदाबारे शनिबार बिहान कांग्रेस नेताहरूलाई जानकारी गराएका छन्।
खड्काले नेपालखबरसँग भने, ‘अवरुद्ध संसद खुलाउने विषयमा शुक्रबार भएका दुई÷तीनवटा ड्राफ्टका विषयमा पनि कुरा भएको छ।’
कांग्रेसले लगातार सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसदको दुवै सदन अवरोध गर्दै आएको छ।
अवरोधकैबीच गत बिहीबार प्रतिनिधिसभामा सत्तारुढ र प्रतिपक्षी दलका नेताहरूबीच भएका धकेलाधकेलका कारण सहमतिको बाटोमा पुग्न समस्या भएको थियो।
कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा जोडिएका तथ्य भएकाले उनीमाथि पनि छानबिन हुनपर्ने बताउँदै आएको छ।
Shares

प्रतिक्रिया