राजनीति


नेपाली विद्यार्थीका लागि अमेरिकी दूतावासले २२ हजार शुल्क घटायो

नेपाली विद्यार्थीका लागि अमेरिकी दूतावासले २२ हजार शुल्क घटायो

नेपालखबर
असार १६, २०७६ सोमबार १४:३,

अमेरिका पढ्न जाने नेपाली विद्यार्थीका लागि काठमाडौंस्थित अमेरिकी दूतावासले भिषा शुल्क घटाएको छ। नेपाली विद्यार्थीसँग ‘भिषा पारस्परिकता इस्युएन्स’ शीर्षकमा असुल्दै आएको २ सय अमेरिकी डलर (२२ हजार १४६ रुपैयाँ) छुट दिने निर्णय दूतावासले गरेको हो।

दूतावासले यो निर्णय जुलाई १ अर्थात् आजैका मितिदेखि आवेदन गर्नेहरुको हकमा लागू हुने जनाएको छ।

‘१ जुलाई २०१९ अर्थात् आजैका दिनदेखि अमेरिका अध्ययन भिसा पाउने सबै नेपाली विद्यार्थीहरुले २०० डलर भिसा पारिस्परिकता इस्युएन्स शुल्क तिर्नुपर्ने छैन’, दूतावासले भनेको छ, ‘आवेदन तथा सेभिस शुल्क चाहिँ लाग्नेछ।’ २ सय डलर कमी हुँदा नेपाली विद्यार्थीको भिषाशुल्क करिब ५० प्रतिशत कमी हुनेछ।

दुवै देशले भिषा नीति परिमार्जन गरी पारिस्परिक बनाएसँगै विद्यार्थी भिषाको शुल्क कटौती भएको हो।

यसअघि अमेरिका पढ्न जाने नेपाली विद्यार्थीसँग दूतावासले ३६० अमेरिकी डलर शुल्क लिने गर्थ्यो। यसमा १६० भिषा शुल्क र विद्यार्थीका लागि थप २०० डलर समावेश थियो।

अमेरिका र नेपालले सन् २०१७ देखि भिषा पारिस्परिक बनाउन काम गर्दै आएका थिए। गत पुसमा मन्त्रिपरिषदले अमेरिकी पर्यटकलाई ५ वर्षे बुहप्रवेशी भिषा दिने प्रस्ताव अनुमोदन गरेको थियो। सोही नीतिअनुसार अध्यागमन विभागले २०७५ चैतदेखि अमेरिकी पर्यटकलाई ५ वर्षे बहुप्रवेशी भिषा प्रदान गर्न थालिसकेको छ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले दुई देशबीचको समझदारीअनुसार नेपाली विद्यार्थीको शुल्क घटेको बताए।

'हामीले लामो समयदेखि यसमा काम गर्दै आएका थियौं। यो त्यसकै अन्तिम परिणाम हो', महानिर्देशक पैडेलले नेपालखबरसँग भने, 'शुल्क घट्दाको अवस्थामा अब नेपाली विद्यार्थीले ठूलो राहत पाउनेछन्।'

नेपालीले धेरै वर्ष अघिदेखि अमेरिका भ्रमणमा ५ वर्षे बहुप्रवेशी भिषा पाउँदै आएका छन्। गत चैतदेखि अमेरिकी नागरिकको हकमा त्यस्तै व्यवस्था लागू भएको छ।

नेपाल—अमेरिका भिषा व्यवस्था पारस्परिक व्यवस्था लागू भएसँगै अमेरिकी पर्यटक तथा व्यवसायिक भ्रमण संख्या वृद्धि भई त्यसले नेपाली अर्थतन्त्रलाई फाइदा पुग्ने विश्वास सरकारको छ।

‘लामो समयसम्म कायम रहने भिषा एवं थोरै शुल्क अमेरिका र नेपाल दुवै देशका लागि राम्रो हो। यसले दुई देशबीच आर्थिक गतिविधि बढाउन एवं दुई देशका जनताबीचको सम्पर्क सघन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ’, काठमाडाैंस्थित अमेरिकी दूतावासका काउन्सुलर माइक मुसीले भनेका छन्।

नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको हिस्सा उल्लेखनीय छ। नेपाल आउने विदेशी पर्यटकमध्ये अमेरिकी नागरिकको संख्या ठूलो छ। सन् २०१८ मा ९० हजार अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेका थिए। भारत, र चीनपछि यो तेस्रो ठूलो संख्या हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad