ad ad

राजनीति


गणतन्त्रका लागि लड्नेहरू भ्रष्ट बनेपछि प्रतिगमनकारी सलबलाउन थाले : केसी

गणतन्त्रका लागि लड्नेहरू भ्रष्ट बनेपछि प्रतिगमनकारी सलबलाउन थाले : केसी

फाइल फोटो


नेपालखबर
बैशाख १९, २०८१ बुधबार २१:२४, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रका लागि लड्नेहरू भ्रष्ट बनेकै कारण प्रतिगामीहरू सलबलाउने मौका पाएको बताएका छन्।

नेकपा (मसाल) को आयोजनामा बुधबार राजधानीको शान्तिवाटिकामा आयोजित एक समारोहमा बोल्दै नेता केसीले लोकतन्त्र ल्याउनेहरू नै भ्रष्ट भएपछि प्रतिगामीको मनोबल बढेको बताए।

‘लोकतन्त्र ल्याउनेहरू नै भ्रष्ट भएपछि देशमा गणतन्त्रको विरुद्धमा जनमत बढिरहेको छ’ उनले भने,  ‘यसरी देशमा प्रतिगामीहरूको मनोबल बढिरहेको छ ।’

देशमा प्रतिगामीहरूको मनोबल बढिरहेको अवस्थामा देशकै भविष्य के हुने हो भन्ने प्रश्न उत्पन्न भएको उनले बताए।

‘देशमा सुनतस्करी हुन्छ, त्यसका आरोपी को हो? देशमा नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाइन्छ, त्यस्तो कसले गर्छ? देशमा सहकारीका करोडौँ ठगी गर्नेलाई, कसले बचाउँछ?’ उनले भने, ‘यी सबै प्रकरणमा कम्युनिस्ट नै तानिएका छन् अर्थात् लोकतन्त्रका पक्षधर नै तानिएका छन्।’

त्यस्तै, उनले देशमा केही हुन्न भन्ने भाष्य बनाएर पनि गणतन्त्रको विरुद्धमा वातावरण कायम गर्न खोजिएको बताए।

२००७ सालमा प्राप्त भएको प्रजातन्त्र २०१७ सालमा गुमेको, २०४६ सालमा गुमेको प्रजातन्त्र २०५७ सालमा गुमेको बताउँदै गणतन्त्र संस्थागत भइनसकेकाले अहिले पनि लोकतन्त्र, गणतन्त्र गुम्न सक्ने अवस्था रहेको उनको भनाइ थियो ।

‘लोकतन्त्र नहुँदा कस्तो हुन्छ? त्यो त हामीले व्यहोरेर आएका छौँ’ उनले भने, ‘यदि अहिले देशमा लोकतन्त्र नभएको भए यतिका बेर यहाँ कुरा गर्न पाइन्थ्यो? अहिलेसम्म गोली ठोकिसक्थे नि प्रहरीले।’

उनले यो व्यवस्थाले जनताका सबै समस्या समाधान गर्ने नभए पनि लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतालाई बचाएर अघि बढ्नुको विकल्प नभएको उनले बताए।
कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले हालै सम्पन्न पार्टीको नवौँ महाधिवेशनको घोषणासम्बन्धी मन्तव्य राखेका थिए।

उनले महाधिवेशनमा पारित प्रस्ताव, महाधिवेशनद्वारा राजनीतिक लाइन, केन्द्रीय समिति, पोलिटब्युरोलगायतका विषयमा जानकारी दिए।

नेकपा मसालले गएको एक वर्षको अवधिमा ऐतिहासिक तीन अभियान सञ्चालन गरेको उनले बताए। नेपाल कम्युनिष्ट पार्टीको ७५ वर्षको हीरक जयन्ती, लेनिनको जन्म शताब्दि र नेकपा (मसाल) को नवौँ महाधिवेशनको घोषणासभा देशैभर गरिएको उनले बताए।

मसालले एक सय पैतिसौँ मजदुर दिवसको अवसरमा आज देशब्यापी कार्यक्रम गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .