राजनीति


उपप्रधानमन्त्री पोखरेल चढेकाे हेलिकोप्टर बाक्लो हिउँका कारण अवतरण हुन सकेन

उपप्रधानमन्त्री पोखरेल चढेकाे हेलिकोप्टर बाक्लो हिउँका कारण अवतरण हुन सकेन

नेपालखबर
फागुन ५, २०७६ सोमबार १०:२९,

जिल्ला सदरमुकाम खल‌ंगाबाट आज बिहान कालापानी क्षेत्रको निरीक्षण भ्रमणमा निस्केका उपप्रधानमन्त्री ईश्वर पोखरेल हवाई निरीक्षण गरेर फर्किएका छन्। व्यास क्षेत्रमा हेलिकोप्टर अवतरण गर्न बाक्लो हिउँ जमेका कारण हवाई निरीक्षण गरेरै फर्किएका हुन्।

त्यस क्षेत्रमा बाक्लो हिउँ परेका कारण हेलिकोप्टरबाटै अतिक्रमित क्षेत्रको निरीक्षण गरेर फर्किएको टोलीमा सहभागी सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले बताइन्। ‘हेलिकोप्टर ल्यान्ड हुने अवस्था भएन’, उनले भनिन्, ‘हेलिकोप्टरबाटै भारतले अतिक्रमण गरेको क्षेत्र हेरियो।’

भारतले तीन–तीन किलोमिटर क्षेत्रमा राखेका सुरक्षा पोष्ट देखाइएको उनले बताइन्। उनले भनिन्, ‘हाम्रोतिर निकट भविष्यमै सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बीओपी) राख्ने प्रस्तावित स्थलसमेत देखाइएको छ।’ सीमा निरीक्षणमा उपप्रधानमन्त्री पोखरेलका साथमा सांसद गणेशसिंह ठगुन्ना, प्रदेशसभा सदस्यद्वय मानबहादुर धामी र गेल्बुसिंह बोहरा तथा उपप्रधानमन्त्रीका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठलगायत १० जनाको टोली सहभागी थियो।

कालापानीमा सेना राख्दै आएको भारतले पछिल्लो समय आफ्नो नक्सामा समेटेपछि नेपाल र भारतबीच विवाद रहेको छ। नेपालले उक्त भूमि कुनै हालतमा फिर्ता ल्याउने बताउँदै आएको छ। सीमा क्षेत्र निरीक्षणपछि सदरमुकाम खलंगामा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्रीसमेत रहेका पोखरेलले नेपालका सीमा क्षेत्रमा क्रमशः सुरक्षा पोष्टहरु थपिँदै जाने बताए। उनले व्यासमा सशस्त्र प्रहरी राख्ने निर्णय भइसकेकाले त्यस क्षेत्रमा बाह्रैमास सुरक्षाकर्मीको उपस्थिति रहने बताए।

‘भारतसँग सीमाको विषयमा सरकारले कुराकानी गर्छ’, रक्षामन्त्री पोखरेलले भने, ‘सुगौली सन्धिपछि नेपाल सरकारले भारतलाई डेप्लोमेटिक नोट लेखेको यो पहिलोपटक हो, हामी भारतसँग सीमाको विषयमा आँखा जुधाएरै छलफल गर्छौं, कुरामात्र हैन, नेपालको भूमि भएको तथ्यसहित बुझ्ने गरी बुझाउँछौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad