राजनीति


गिरिजाले एमालेसरह माओवादीलाई सिट दिएदेखि कम्युनिस्टको दुर्गति सुरु भयो : शंकर पोखरेल

गिरिजाले एमालेसरह माओवादीलाई सिट दिएदेखि कम्युनिस्टको दुर्गति सुरु भयो : शंकर पोखरेल

नेपालखबर
चैत २८, २०८० बुधबार १८:४१, काठमाडौँ

नेकपा एमालेको महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस परिवर्तन विरोधी शक्ति भएको बताएका छन्।  

नेकपा एमाले सिन्धुलीको आठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई बुधबार सिन्धुलीमाढीमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाली कांग्रेस परिवर्तनको आन्दोलनमा सधैँ सँगै भए पनि संस्थागत गर्ने कामविरुद्ध उभिने गरेको बताए। 

‘जब परिवर्तनलाई संस्थागत गर्ने समय आउँछ कांग्रेसले सदैव आफूलाई परिवर्तनविरुद्ध उभ्याउने गरेको छ’, पोखरेलले भने। 

कांग्रेसले यो इतिहासलाई २००७, २०४६ र २०६३ मा पनि दोहोर्‍याएको उनले दाबी गरे। कांग्रेसले हरेक आन्दोलन सम्झौतामा गएर टुङ्ग्याउने र परिवर्तनलाई संस्थागत हुन नदिने गरेको उनले टिप्पणी गरे। 

माओवादी आन्दोलनले नेपाली समाजमा परिवर्तनको हलचल ल्याए पनि आजको परिवर्तन शान्तिपूर्ण जनआन्दोलनबाट भएको कुरा बिर्सन नहुने पोखरेलले बताए। 

तर यो परिवर्तनको बाहक नै माओवादी हो भन्ने भाष्य निर्माण गर्ने काम भएको भन्दै उनले आपत्ति जनाए। 

२०६३ को परिवर्तन पछि नेपाली कांग्रेसले आफ्नो भविष्य सुरक्षित गर्न गिरिजाप्रसाद कोइरालाले माओवादीलाई च्यापेको उनले बताए। 

वामपन्थीमा विभाजन ल्याएर राज गर्ने नीतिअनुरूप गिरिजाप्रसाद कोइरालाले त्यो कदम चालेको पोखरेलको भनाइ छ। 

आजका कम्युनिष्टहरूको दुर्गतिको बिउ चुनाव नै नलडेको माओवादीलाई एमालेसरह सिट दिएर गिरिजाप्रसाद कोइरालाले रोपिदिएको उनले बताए। 

अहिले जनतामा निराशा बढेको बताउँदै पोखरेलले जनतामा आशा जगाउन विगतमा भएका कमजोरी सच्याएर अघि बढ्नु पर्ने बताए। अन्यथा नागरिकमा बढेको निराशा चिर्न नसकिने पोखरेलले स्पष्ट पारे। 

देशलाई बलियो बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताउँदै पोखरेलले त्यसको लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनु पर्ने बताए। 

त्यो सत्यलाई बुझेर नेता कार्यकर्ता पार्टी निर्माणको काममा लाग्नु पर्नेमा उनले जोड दिए। आफूले लिएको जिम्मेवारी पुरा गर्न उनले नेता कार्यकर्तालाई निर्देशन दिए। 

पार्टीको अधिवेशनको बेलमा तँछाडमछाड गर्ने नर बैठक बस्ने बेलामा कोरम नै नपुग्ने परिपाटीले पार्टी नचल्ने उनले स्पष्ट पारे। 

जनताबीचमा स्थापित गर्नुको सट्टा नेतालाई खुइल्याएर पार्टी नबन्ने उनले बताए। ‘नेतृत्वलाई जनताको बिचमा स्थापित गर्ने कुरा पार्टी निर्माणको महत्त्वपूर्ण विषय हो’, उनले भने। 

राजनीतिक परिवर्तन भन्दा पनि समाज परिवर्तनको कुरा ठूलो भएको उनले बताए। त्यसैले एमालेका नेता कार्यकर्ता समाज परिवर्तनको काममा लाग्नु पर्नेमा उनले जोड दिए। 

विचार नै शक्ति हो भन्ने कुरा बुझेर विचारबाट समाज परिवर्तनको काममा जुट्न पोखरेलले निर्देशन दिए। 

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य गणेश पहाडी लगायतका नेताहरूले अधिवेशन सफलताको शुभकामना दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .