ad ad

राजनीति


गण्डकीमा दीपक मनाङे मन्त्री बन्ने पक्का, कांग्रेसलाई छेक्ने सत्ता गठबन्धनको रणनीति

गण्डकीमा दीपक मनाङे मन्त्री बन्ने पक्का, कांग्रेसलाई छेक्ने सत्ता गठबन्धनको रणनीति

फाइल तस्बिर


नेपालखबर
चैत २५, २०८० आइतबार १४:१३, पोखरा

 गण्डकीको मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारीले आइतबार नै सपथ लिँदैछन्। 

उनी आफूसहित बढीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारीमा रहेको एमालेका एक सांसदले बताएका छन्। 

तर, तीन सदस्यीय मन्त्रिमण्डलमा स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेको नाम पक्का भए पनि माओवादीबाट को मन्त्री हुने भन्ने निर्णय नआइसकेको उनले बताए।

एमाले गण्डकीका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीका अनुसार एमालेका तर्फबाट तत्काल अरु कोही सरकारमा जानेबारे कुरा भएको छैन। 

मनाङे मन्त्री बन्ने पक्का भए पनि कुन मन्त्रालय भन्ने निर्णय नभइसकेको उनले बताए। यद्यपि, यसअघि भौतिक योजना मन्त्रालय रोजेर कांग्रेसलाई सघाएका उनलाई त्यहीँ दोहोर्‍याउने सम्भावना बढी छ। 

अहिले सभामुखलाई पनि जोडेर बहुमत पुर्‍याएको सत्ता गठबन्धनलाई कानूनी रुपले सभामुखलाई सत्ता समर्थनमा ल्याउन कठिन छ भन्ने जानकारी छ। 

अहिले सत्ता गठबन्धनको चाल भनेको संविधानको धारा १६८ को ३ अनुसार ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री हुनुबाट रोक्नु, संविधानको धारा १६८ को उपधारा ५ मा जाने अवस्था नल्याउनुकै लागि निर्देशित देखिएको छ। 

ठूलो दलको हैसियतले कांग्रेसका सुरेन्द्रराज मुख्यमन्त्री बनेमा धारा ५ अर्थात् बहुमत जुटाउने हैसियतबाट पुनः मुख्यमन्त्री बन्ने र त्यसो भएमा सधैँ सत्ताबाट विमुख हुने सम्भावना टार्न यो निर्णय गरिएको र त्यसपछि बहुमतको लागि अत्यावश्यक समर्थन चाहिने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मनाउने रणनीतिमै यो सब काम भएको ती एमाले नेताले स्वीकारे।

‘सभामुखले बहुमतका लागि निर्णायक हुनुहुन्न भन्ने हामीले बुझेको हो तर धारा ३ अनुसार सरकार बनाउन पनि रोक्नुपर्‍यो,’ उनले भने,‘राप्रपाको मन हामीतिरै छ। हामीले मनाङेलाई मनाएपछि उहाँहरू पनि हामीतिरै आउनुहुन्छ। राप्रपा पनि मध्यावधिमा जाँदैन। ’

यहाँ ठूलो दल नेपाली कांग्रेससँग २७, एमालेसँग २२, माओवादी केन्द्रसँग सभामुखसहित ८, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग २ र स्वतन्त्र भइ चुनाव जितेका र हाल स्वतन्त्र नै रहेको दाबी गर्दै आइरहेका दीपक मनाङे गरी ६० जना सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .