राजनीति


एकीकृत समाजवादीले बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने, सरकार जोगियो

एकीकृत समाजवादीले बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने, सरकार जोगियो

फाइल तस्बिर


नेपालखबर
चैत १९, २०८० सोमबार १३:२२, हेटौंडा

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ।

लिखित सहमति नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने अडान लिएको समाजवादी अन्तत: बागमतीमा पनि नयाँ गठबन्धनमा मिसिन तयार भएको हो। पार्टी केन्द्रले तेस्रो पटक विश्वासको मत लिन लागेका मुख्मन्त्री जम्कट्टेलको पक्षमा मत दिन निर्देशन दिएको हो।

सोमबार सत्तारुढ दलका शीर्ष तहका नेताहरूको बैठकले बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको दिन निर्देशन दिएको हो।

एकीकृत समाजवादी बागमती संसदीय दलका नेता कृष्ण प्रसाद खनालका अनुसार बालुवाटारमा बसेको शीर्ष तहका नेताहरू बैठकले विश्वासको मत दिन भनिएको हो। समाजवादीले विश्वासको मत दिनेभएपछि माओवादी नेतृत्वको सरकार जोगिने भएको छ।

बागमतीमा ११० सदस्य सांसद छन्। त्यहाँ मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत चाहिन्छ। 

बागमतीमा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्। यस्तोमा राप्रपा र नेमकिपाले विश्वासको मत नदिने भएका छन्। 

मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट अहिले प्रदेश सभा बैठमा तेस्रो पटक विश्वासको मत लिँदै छन्।

उनले हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई सरकारमा सहभागी गराएर विश्वासको मत लिने वातावरण बनाएका छन्।

जम्कट्टेल २०७९ पुसमा प्रदेशका ७० सांसदको समर्थनमा मुख्यमन्त्रीमा भएका थिए। त्यसबेला उनलाई प्रदेशसभाका दुईतिहाइभन्दा बढी सांसदको मत मिलेको थियो। 

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिएका थिए।

नयाँ गठबन्धन बनेपछि गत फागुन २३ गते नेपाली कांग्रेसले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिँदैछन्। 

अहिले बागमतीमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी र हाम्रो नेपाली पार्टीको नयाँ सत्ता समीकरण बनिसकेको छ। यस्तोमा एकीकृत समाजवादीले बार्गेनिङ गरिरहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .