ad ad

राजनीति


यसकारण खल्लो भयो सभामुख घिमिरेको स्विट्जरल्यान्ड भ्रमण

यसकारण खल्लो भयो सभामुख घिमिरेको स्विट्जरल्यान्ड भ्रमण

सभामुख देवराज घिमिरे। तस्बिर : सभामुखको सचिवालय


रुपक चौलागाईं
चैत १६, २०८० शुक्रबार १९:३२, काठमाडौँ

स्विट्जरल्यान्डको जेनेभामा आयोजित अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४८औँ महासभामा सहभागी भएर सभामुखसहितको टोली शुक्रबार स्वदेश फर्किएको छ। स्विट्जरल्यान्डजस्तो सुन्दर अनि विकसित देशको भ्रमण त्यति सुखद भने रहेन।

संयुक्त राष्ट्र संघका लागि जेनेभास्थित स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीको व्यवहार र कार्यशैलीका कारण सभामुख देवराज घिमिरेदेखि सत्तापक्ष र विपक्षी दलका सांसदसमेत खल्लो मन लिएर फर्किएका छन्। 

१० दिन संसद् स्थगित गरेर जेनेभा पुगेको यस टोलीको भ्रमणका लागि त्यहाँस्थित नेपाली नियोगले गरेको व्यवस्थापनमा सहभागीहरू सन्तुष्ट हुन सकेनन्। 

सभामुख देवराज घिमिरे, विभिन्न दलका प्रमुख सचेतकसहित संसद् सचिवालयको टोली गत चैत ८ गते बेलुकी त्यसतर्फ प्रस्थान गरेको थियो।

जेनेभामा सभामुख घिमिरेसहित नेपाली टोली

प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरू रमेश लेखक, महेशकुमार बर्तौला, हितराज पाण्डे र सन्तोष परियार तथा राष्ट्रिय सभाका सदस्य गंगाकुमारी बेलवासे, संसदका महासचिव पद्मप्रसाद पाण्डेय, संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र उपसचिव प्रदीप गुरागाई सहभागी थिए।

कतारको दोहा हुँदै जेनेभा पुगेको टोलीका लागि राजदूतावासले सामान्य औपचारिकता पूरा गर्न पनि कन्जुस्याइँ गरेको टोलीका एक सहभागीले बताए। ती सदस्यका भनाइमा, दोहामा ट्रान्जिट हुँदा त्यहाँस्थित नेपाली राजदूत नरेशविक्रम ढकालले टोलीको स्वागत–सम्मानमा कुनै कमी हुन दिएका थिएनन्।

दोहामा करिब ६ घन्टा विमानस्थलमै कुरेर सभामुख घिमिरेसहितको टोलीलाई जेनेभा पठाएको थियो। 

‘तर, स्विट्जरल्यान्डमा भने राजदूतावासले सभामुखको प्रोटोकलको पनि ख्याल नगरेको पाइयो,’ टोलीमा सहभागी अर्का सदस्यले नेपालखबरलाई भने, ‘सामान्य व्यवस्थापकीय पक्षमा पनि गृहकार्य नगरेका रहेछन्। यसबाट सभामुखज्यू पनि मन खिन्न बनाएर फर्किनुभएको छ।’ 

सभामुख देशका पाँच उच्च पद पदमध्येको एक हो। ‘हामीले व्यक्तिका रूपमा भन्दा पनि पदका हिसाबले मर्यादाअनुकूल व्यवहार होस् भन्ने चाहेको हो,’ ती सदस्यले भने, ‘सुरक्षा, खानपिन, बसोबास, विभिन्न पक्षसँगको भेटघाट आदिको राम्रो प्रबन्ध आशा गरिएको हुन्छ। त्यो कुनै पनि पक्षमा राजदूतले गम्भीरता देखाएको पाइएन।’ 

हुन त सभामुखको टोली पुग्नासाथ जेनेभास्थित नेपाली नियोग प्रमुख सुवेदी गाडीसहितको प्रबन्ध गरेर विमानस्थलमा लिन पुगेका थिए। तर, सभामुख घिमिरे त्यहाँ पुगेपछि मात्र राजदूतकै निवासमा बसोबासको व्यवस्था मिलाइयो। कांग्रेस प्रमुख सचेतक रमेश लेखकलाई छुट्टै एउटा निवासमा बस्ने प्रबन्ध गरियो। 

अन्य सांसद र संसद् सचिवालयका कर्मचारी बजेट होटल मानिने होटल इबिसमा बसे। 

त्यहाँको संसदमा अवलोकन भ्रमण गर्ने क्रममा सभामुखको मर्यादासँग मेल खाने पदाधिकारीसँग भेट गराइएन। ‘त्यहाँको पार्लियामेन्टमा पुग्दा अवस्था सुनसानजस्तै थियो, सम्माननीयज्यू पुग्नुहुँदा त्यहाँको वस्तुस्थिति जानकारी गराउनेसम्म मेसो मिलाइएको पाइएन,’ ती सहभागीले नाम नबताउने सर्तमा भने। 

त्यस्तै, जेनेभामा बसोबास गर्ने नेपालीसँग सभामुखले अन्तर्क्रिया गर्न चाहेका थिए। विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघ, विश्व व्यापार संगठन, शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय, जलवायु, कृषिलगायतका बहुपक्षीय संस्थाहरूको उच्च तहमा कार्यरत नेपाली कूटनीतिज्ञहरूसँग छलफल तथा अनुभव आदानप्रदान गर्ने सभामुखको चाहना थियो। त्यसका लागि नियोगले नेपाली समुदायसँग समन्वय गरोस् भन्ने सभामुखको अपेक्षा थियो।

जेनेभाबाट फर्किएपछि सभामुख देवराज घिमिरेलाई काठमाडौंमा स्वागत गर्दै उपसभामुख इन्दिरा राना।

उनले त्यस्तो जमघटमा सहभागी हुन त पाएनन् नै, भेट्न चाहने नेपालीलाई पनि नियोगले भेटको अवसर नदिएको गुनासो टोलीको छ।

नेपालीसँग भेटघाटका नाममा स्विट्जरल्यान्डको बर्नस्थित एउटा रेस्टुराँमा केही व्यक्ति भेटाइएको थियो, जुन सभामुखको अपेक्षा थिएन।

पत्रिकाको खबर पढेर नेपालबाट भ्रमण दल आउँदै छ भन्ने थाहा पाएका जेनेभावासी नेपालीहरूले सभामुख लगायतको टोलीलाई स्वागत गर्न अन्तरक्रियाको तयारीसहित छलफल गरेका थिए तर दूतावासले चासो नदेखाएपछि कार्यक्रम भएन।

‘आईपीयुमै पनि विभिन्न साइडलाइन वार्ता हुन सक्थ्यो, देशको उच्चपदस्थ पदाधिकारी महासभामा भाग लिन जाँदा नियोगले किन यस्तो लापरबाही गर्‍यो, बुझ्न सकिएको छैन,’ ती सदस्य भन्छन्। 

‘जुन उद्देश्यका लागि गएको हो, त्यो पूरा भए पनि गर्न सकिने अन्य कैयन कुराबाट वञ्चित भइयो,’ एक सहभागी भन्छन्, ‘यो भ्रमणमा कताकता ‘भद्रगोल’जस्तो देखियो। राजदूत सुवेदीको व्यवहारबारे परराष्ट्र मन्त्रालयसँग पनि कुरा गर्नुपर्ने भएको छ।’  

महासभामा नेपालको तर्फबाट विश्वमा देखापरेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको सभामुख घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .