ad ad

राजनीति


बेइजिङमा वाङ र श्रेष्ठबीच बीआरआई कार्यान्वयन मोडालिटीमा छलफल

बेइजिङमा वाङ र श्रेष्ठबीच बीआरआई कार्यान्वयन मोडालिटीमा छलफल

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र सीपीपीसीसीका अध्यक्ष वाङ हुनिङबीच बेइजिङमा भेटवार्ता भएको छ (तस्बिरः अशोक धिमिरे/रासस)


नेपालखबर
चैत १२, २०८० सोमबार २२:१४, बेइजिङ

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग भेटवार्ता गरेका छन्।

साता लामो चीन भ्रमणको क्रममा सोमबार बेइजिङ आइपुगेका श्रेष्ठले साँझ चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिका सदस्य वाङ हुनिङसँग भेटवार्ता गरेका हुन्। 

बेइजिङस्थित स्टेट गेस्ट हाउसमा भएको करिब एक घण्टा लामो भेटवार्तामा ६ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयन तथा चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनको मोडालिटीबारे छलफल भएको छ।   

‘वाङले गत वर्ष प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा राष्ट्रपति सीसँग भएको भेटमा द्विपक्षीय सम्बन्धको विकासका लागि महत्वपूर्ण सहमति भएको उल्लेख गर्दै त्यसको सशक्त कार्यान्वयन गर्न आह्वान गरे,’ वाङको भनाई उधृत गर्दै भेटमा सहभागी एक नेपाली अधिकारीले भने, ‘बीआरआई सहयोग प्रवर्द्धन र नागरिकस्तरको सम्पर्कमा वृद्धि गर्न वाङले जोड दिए।’ 

चीनका समकक्षी वाङ यीसँग मंगलबार दुई पक्षीय भेटवार्ता तय भएकाले आजको उच्च भेटमा पहिले भैसकेका सहमतिहरूको कार्यान्वयन र दुई देशका नेताहरूबीचको सम्बन्धनबारे बढी छलफल भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङका अत्यान्तै निकट वाङ पार्टीको सात सदस्यीय स्थायी समितिका पाँचौ नम्बरका सदस्य हुन्। उनी चिनियाँ सरकारलाई सल्लाह प्रदान गर्ने चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) का अध्यक्ष हुन्।

चीन र नेपाल सम्बन्धमा वाङले थप भने, ‘दुई देशबीच भएका महत्वपूर्ण सहमति इमानदारीपूर्वक कार्यान्वयन गर्न, विकास र समृद्धिका लागि चिरस्थायी मित्रता सहितको सहयोगको चीन–नेपाल रणनीतिक साझेदारीलाई अगाडि बढाउन तथा साझा भविष्यको अझ नजिकको समुदायलाई जोड दिन चीन नेपालसँग काम गर्न तयार छ।’ 

वाङसँग ‘नेपालले एक चीन सिद्धान्त दृढताका साथ पालना गरेको’ बताउँदै श्रेष्ठले चीनसँग विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्दा दुई देशका जनतालाई बढी फाइदा हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .