ad ad

राजनीति


विक्रम पाण्डेलाई ‘भ्रष्टाचारी’ भनेपछि पार्टी कार्यालयमै कुटिए ठाकुरमोहन

विक्रम पाण्डेलाई ‘भ्रष्टाचारी’ भनेपछि पार्टी कार्यालयमै कुटिए ठाकुरमोहन

नेपालखबर
फागुन २७, २०८० आइतबार १४:१०, काठमाडौँ

आन्दोलनको तयारीका लागि बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको दोश्रो दिनको बैठकमा तनावपूर्ण रह्यो।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको बैठकमा आइतबार मध्यान्ह दुई नेताबीचको टकरावलाई लिएर अवस्था कुटाकुटसम्म पुग्यो।

राप्रपाको कार्यालयमै सशस्त्र प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) ठाकुरमोहन श्रेष्ठ कुटिएका हुन्। राप्रपा कार्यसम्पादन समितिका सदस्य श्रेष्ठलाई महामन्त्री विक्रम पाण्डेनिकट कार्यकर्ताले कुटेका हुन्।

समितिको बैठकका क्रममा राप्रपा महामन्त्री पाण्डेलाई श्रेष्ठलाई ‘भ्रष्टाचारी’ आरोप लगाउँदै आफ्ना कुरा राखेका थिए। 

पाण्डेविरुद्ध कडा टिप्पणी गरेर बैठकबाट बाहिरिनेबित्तिकै श्रेष्ठलाई कार्यालयभित्रै पाण्डे समर्थक कार्यकर्ता कुटपिटमा उत्रिए। उनीहरू कुटपिटमा  उत्रिएको भिडिओ पनि भाइरल भएको छ।

कार्यसम्पादन समितिको बैठकमा आफ्ना कुरा राख्ने क्रममा श्रेष्ठले महामन्त्री पाण्डेलाई भ्रष्टाचारी आरोप लगाएपछि अवस्था तनावपूर्ण भएको थियो। बैठकमै श्रेष्ठप्रति पाण्डे आक्रोशित देखिएका थिए।

आरोप-प्रत्यारोपलाई अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकस्थलमा शान्त बनाउनुपरेको थियो। तर उक्त बैठककको विवादको बाछिटा पार्टी कार्यालयमै देखियो। जहाँ पाण्डे पक्षका ६ जना बढी कार्यकर्ताले ठाकुरमोहनलाई लखेट्दै मुक्का बर्साए।

लिङ्देनले यसलाई गम्भीर रुपमा लिने बताए। त्यसपछि मात्रै पाण्डे शान्त भए। लिङ्देनले पनि पाण्डेलाई लगाएको आरोपबारे श्रेष्ठलाई दुःख व्यक्त गर्न लगाए। 

बैठकमा तनाव भएर नेताहरू बाहिरिएपछि पाण्डे समर्थक कार्यकर्ता श्रेष्ठमाथि खनिए। ठाकुरमोहन कुटिइरहँदा सांसद दीपककुमार सिंहसहितका नेताले कार्यकर्तालाई रोकेका थिए। 

घटनापछि पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले पार्टीले यस प्रकरणलाई गम्भीरतापूर्वक लिएको बताए। 

'पार्टीले यस विषयलाई गम्भीर रुपमा लिएको छ। हामी यसको विस्तृत छानबिन गर्छौँ', उनले भने, 'यो पार्टी आाचारसंहिताविपरीतको गम्भीर कमजोरी हो। यसबारेमा पार्टी उचित र आवश्यक निर्णय लिनेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .