राजनीति


माओवादीमा गुटको लडाइँले त्रिविमा उपकुलपति नियुक्ति बन्धक भयो : योगेश भट्टराई

माओवादीमा गुटको लडाइँले त्रिविमा उपकुलपति नियुक्ति बन्धक भयो : योगेश भट्टराई

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०८० बिहिबार १३:६, काठमाडौँ

नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रले गुटको बन्धक बनाएको  बताएका छन्। 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उनले माओवादीभित्रको गुटको लडाइँको बन्धक त्रिवि उपकुलपतिलाई बनाइएकोमा आपत्ति जनाए। कात्तिक १७ देखि त्रिवि कार्यवाहक उपकुलपतिको भरमा चलेको अवस्थामा छिटो नियुक्ति टुंगो लगाउन पनि उनले माग गरे।

‘प्रधानमन्त्रीले स्वच्छ र स्वतन्त्र ढंगले उपकुलपति नियुक्ति गर्ने भनेर प्रक्रिया अघि बढाउनुभयो। विडम्बना प्रक्रिया कुनै स्वच्छ र स्वतन्त्र पारदर्शी ढंगबाट भएन,’ भट्टराईले भने,‘अनुसन्धानमा असाध्य कम नम्बर राखेर अन्तर्वार्ता र प्रस्तुतिमा बढी नम्बर दिइएको छ।’

उनले उपकुलपति नियुक्तिका लागि विज्ञबाट नभएर शिक्षामन्त्री, शिक्षा सचिव र उपप्राध्यापकहरूले अन्तर्वार्ता लिएकोमा पनि आपत्ति प्रकट गरेका छन्। 

‘प्राध्यापकहरुमध्येबाट उपकुलपछि बनाउने प्रक्रियाको अन्तर्वार्ता उपप्राध्यापकले लिएका छन्,’ उनले भने, ‘यस्तोमा पार्टीभित्रको गुटको लडाइँमा विश्वविद्यालयलाई बन्धक बनाइएको छ। म यस कुराको निन्दा गर्छु। अहिलेको प्रक्रिया खारेज गरेर स्वतन्त्र र निष्पक्षरुपमा उपकुलपति छनोट गरियोस्।’ 

त्रिविको उपकुलपतिका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई संयोजकत्वको सिफारिस समितिले यही आइतबार तीनजनाको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको छ। तर प्रधानमन्त्रीले अध्ययन भइरहेको भनेर नियुक्ति रोकेका छन्।

समितिले त्रिवि शिक्षा विभागका डीन प्रा.डा. चित्रबहादुर बुढाथोकी, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. केशरजंग बराल र त्रिवि गणित विभागका प्रमुख प्रा.डा. टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो।

उनीहरूमध्ये बुढाथोकीलाई माओवादी नेता वर्षमान पुन र देवेन्द्र पौडेलले उपकुलपति बनाउन चाहेका छन्। उता बराललाई प्रधानमन्त्रीले उपकुलपति बनाउन खोजेका छन्। 

माओवादीको विवादका कारण सिफारिस भएको पाँच दिन बित्दा पनि नियुक्ति अड्किएको छ। 

एमाले सांसद भट्टराईले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया पनि पारदर्शी बनाउन माग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .