नेपाली कांग्रेसका एकजना महासमिति सदस्य जितबहादुर खड्काले पार्टीका नेताहरूसँग आक्रोश पोखेका छन्।
बुधबार दिउँसो आफ्ना भनाइ राख्ने क्रममा उनले आफूहरू गोदावरीमा भात खान मात्रै नआएको बताए।
‘नास्ता र भात खान मात्रै हामी यहाँ आएको होइन। मञ्चमा बसेका साथीहरूलाई कुरा सुनाउन आएका हौँ’, डोटीका उनले भने, ‘मञ्चमा बसेका साथीहरूलाई भुइँमा बसेकाले कुरा सुनाउन आएका हौँ। हामीले तपाईंहरूलाई मञ्चमा बस्ने अधिकार दिएको हो। डोटीको दिपायलबाट म कुरा सुनाउन आएको हो।’
उनले कुनै बेला डोटी गुलजार रहेको बताउँदै व्यवस्था परिवर्तनसँगै ओरालो लागेको बताए। ‘बाइसे चौबीसे राज्य हुँदा डोटी राजधानी थियो। व्यवस्था परिवर्तनसँगै गुमाउँदै गयो’, उनले भने, ‘अहिले त अञ्चल सदरमुकाम पनि खोसिएर प्रदेश राजधानी धनगढीतिर लगिएको छ।’
खड्काले कांग्रेसले सत्ता प्राप्तिका लागि अपराधीकरण गर्न नहुने बताए। ‘अपराधीहरूलाई छाड्न गणतन्त्र ल्याएको होइन। कांग्रेस सत्तामा गएर अपराधीहरूलाई चोख्याइरहेको छ। यो गलत हो’, उनले भने, ‘कानुन बनाउने नेताहरूलाई कानुन नलाग्ने तर जनतालाई मात्रै लाग्ने यो ठिक भएन। कानुन सबैका लागि एकै हुनुपर्छ।’
उनले कांग्रेस नेताहरूल सत्ताका लागि जे पनि गर्न थालेको भन्दै भगवानसँग सद्बुद्धि दिन आग्रह गरे। ‘तपाईं मञ्चमा बसेका नेताहरूलाई शैलेश्वरी माताले, पशुपतिनाथ सद्बुद्धि दिऊन्’, उनले आफ्नो दुई मिनेटको भनाइ सक्दै भने।
Shares

प्रतिक्रिया