राजनीति


थापाले देउवालाई दिएको दम

प्रतिवेदनमा सहमति जुट्योः सहमहामन्त्री पाण्डे
थापाले देउवालाई दिएको दम

नेपालखबर
फागुन ८, २०८० मंगलबार ०:०, काठमाडौँ

धेरैपटक पर धकेलिँदै आएको नेपाली कांग्रेसको महासमिति बैठक बल्लतल्ल सोमबार सुरु भयो। ललितपुरको गोदावरीमा करिब २ हजार २ सय प्रतिनिधिबीच महासमिति बैठक उद्घाटन त गरियो तर नियमित कार्यसूचीमा प्रवेश गर्छ कि गर्दैन भन्ने अर्को अनिश्चयमा फसेको थियो।

सोमबार राति अबेरसम्म पनि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच महासमितिमा प्रस्तुत गरिने सांगठनिक प्रतिवेदनको अन्तर्वस्तुमा कुरा मिलेको थिएन। यही कारण प्रतिवेदन छाप्नका लागि प्रेसमा पठाउन नसकिएको गुनासो तयारी टोलीका सदस्यहरू गरिरहेका थिए। 

अन्ततः गगनको प्रस्तावमा धेरै संशोधन नगरी प्रतिवेदन छापाखानामा पठाउन सभापति देउवा राजी भएका छन्। पार्टीलाई एक्लै चुनाव लड्न सक्ने गरी बलियो बनाउने भन्नेमा सहमति जुटेको र महामन्त्री थापाले त्यसैअनुसार भाषा मिलाउने कुरा भएको सहमहामन्त्री बद्री पाण्डेले नेपालखबरलाई जानकारी दिए। गठबन्धन गर्ने कि नगर्ने भन्नेचाहिँ रणनीतिक कुरा मात्र रहेको उनको भनाइ छ। उनका अनुसार, प्रतिवेदन केही लामो पनि भएकाले छोट्याएर छाप्न पठाइनेछ।

त्यसअघि देउवाले गठबन्धनका नेताहरू बालुवाटारमै गएर सम्भावित अविश्वास र आशंका निवारण गर्नुपरेको थियो। प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई महासमितिमा आएका प्रस्ताव र छलफलले गठबन्धनमा असर नगर्ने भनेर उनले आश्वस्त तुल्याएका थिए। अपराह्नदेखि बुढानीलकण्ठमा करिब ५ घन्टा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा गगनको प्रस्तावबारे छलफल भएको थियो।

थापाले ३ फागुनको केन्द्रीय कार्यसमिति बैठकमै यो प्रतिवेदन पेस गरेका थिए। दुई दिनसम्म चलेको छलफलमा प्राप्त भएका सुझावलाई समेट्ने गरी प्रतिवेदन पारित गरिएको थियो। तर थापाले गठबन्धनका विषयमा समावेश गरिएको प्रसंग संशोधन गर्न नमान्दा महासमिति बैठक सुरु भइसक्दा पनि यसको नियमिततामा प्रश्न उठ्दा देउवा निकै अप्ठ्यारोपमा परेका थिए।

देउवाले उद्घाटन सत्रमै आफ्नो स्पष्ट अडान राखिसकेका थिए कि गठबन्धनका विषयमा अहिले नै निर्णय गरेर जानुपर्ने आवश्यकता छैन। जबकि महामन्त्री थापाले सांगठनिक प्रवेदनमा गठबन्धन गरेर जाँदा पार्टी कमजोर बन्दै गएकाले अब गठबन्धन गर्न नहुने प्रस्ताव महासमिति बैठकमा प्रस्तुत गर्न तयार पारिएको प्रतिवेदनमा राखेका थिए।

मंगलबार बिहान ९ बजे महाधिवेशनको बन्दसत्र सुरू हुने निर्धारित कार्यतालिका छ। उक्त सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रतिवेदन, महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।

त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक र केन्द्रीय सदस्य श्याम घिमिरेले लेखा समितिको प्रतिवेदन पेस गर्ने भनिएको छ। महामन्त्री थापाले यस महासमिति बैठकलाई नीति परिमार्जन र नेतृत्वको कार्यशैली बदल्ने योजना तय गर्ने अवसरका रुपमा उपयोग गर्ने अठोट लिएका छन्। 

महासमिति बैठकअघि उनले देश दौडाहा गरेका थिए। उनले सभापति देउवालाई संसदीय दलबाट हटाउनुपर्ने भन्दै खुला चुनौती दिँदै आएका छन्। संसदीय दलमा बहुमत देखाउन सक्ने हो भने इतर खेमाका नेता शेखर कोइरालालाई साथ दिन पनि तयार भएको सन्देश गत पुसमा मात्र दिएका थिए। झण्डै एक वर्ष उनी एकै नदीका दुई तीरजस्तो भएर हिँडेका थिए। गत वर्ष आम निर्वाचनलगत्तै भएको संसदीय दलको नेताको निर्वाचनमा गगन आफै उम्मेदवार बनेका थिए र अपेक्षा गरेभन्दा निकै कम मत प्राप्त गर्दा शेखर र गगनबीच अविश्वासको बिउ रोपिएको थियो। त्यसबेला शेखरका तर्फबाट पाउनुपर्ने सहयोग नपाएको गगनको बुझाइ थियो।

पछिल्लो समय उनी देउवालाई हटाउने सर्तमा शेखरको नेतृत्व स्वीकार गर्न तयार भएका थिए। गत महाधिवेशनमा पनि शेखर नेतृत्वकै प्यानलबाट गगन महामन्त्री उठेका थिए। त्यतिखेर गगन जितेका थिए शेखर पराजित भएका थिए। आफू पराजित भएको प्यानलबाट गगनले जित हात पारेपछि शेखर एक्लै देश दौडाहामा निस्केका थिए। संस्थापनसँग पनि आफू एक्लैले भागबन्डा गरिरहेका थिए, गगन खेमालाई उपेक्षा गरेर। यसबीचमा शेखर र गगनबीचको तिक्तता मेटाउन इतरखेमाका नेताहरुलाई हम्मे परेको थियो।

संसदीय दलको निर्वाचनमा निकै कमजोर हैसियत पाएका गगनले यतिखेर महामन्त्रीको भूमिका र हैसियतको प्रयोग गरी देउवालाई अभूतपूर्व दबाब दिन भ्याएका छन्। विश्वप्रकाश शर्मालगायत मध्यमार्गी नेताहरूले गठबन्धन नगर्ने भनेको ठाउँमा गठबन्धनको उपादेयताका विषयमा छलफल गर्दै जाने भन्ने व्यहोरा राखेर भए पनि निकास खोज्ने प्रयास गरेका थिए। तर, गगले भने केन्द्रीय कार्यसमितिमा पेस गरेको प्रतिवेदनको व्यहोरा परिवर्तन गर्न मानेनन्। कांग्रेसको जीवनमरणकै सवाल भएकाले यसमा सम्झौता गर्न नसकिने उनको अडान रह्यो। उनलाई देशभरिबाट राम्रै संख्याको युवा पंक्तिले साथ दिएको हुन सक्ने बुझाइ देउवापक्षधरको पनि थियो। त्यसैले यसपटक थापाले देउवालाई राम्रैसँग दबाबमा राख्न सके।

गठबन्धन गर्दा कार्यकर्ताले रुख चिह्नमा मतदान गर्न नपाएको, समग्रमा पार्टीको मत घटेको, गठबन्धनकै कारण धेरै क्षेत्रका मतदाताले मतपत्रमा रूख चिन्ह नै देख्न नपाएको लगायत कारण अब गठबन्धन गर्न नहुने तर्क प्रतिवेदनमा गरेका छन्। गठबन्धन गरेकै कारण २०७४ भन्दा गत वर्षको चुनावमा प्रतिनिधि सभातर्फ १३.२ प्रतिशत र प्रदेश सभातर्फ १५.७४ प्रतिशत मत घटेको निष्कर्ष थापाले प्रस्तुत गरेका छन्।
यी तर्क र निष्कर्षमा सभापति देउवा सहमत थिएनन्। देशको सबैभन्दा ठूलो शक्ति कांग्रेस रहेकाले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने उनको तर्क थियो र परिस्थिति हेरेर राजनीतिक निर्णय लिनुपर्ने धारणा उद्घाटन भाषणमै सुनाएका थिए।

यसरी हेर्दा कांग्रेसभित्र गगनले आफ्नो स्पेस सुरक्षित गर्न दह्रो अडान लिएको प्रस्टै देखिन्छ। देउवालाई कमजोर बनाउन पहिला गठबन्धनमाथि नै प्रहार गर्नुपर्ने र त्यसका लागि महासमितिजस्तो बृहत् मञ्च उपयुक्त थलोका रूपमा उनले बुझेको देखिन्छ। 

केन्द्रीय कार्यसमिति र संसदीय दलमा गगनलाई साथ दिनेको संख्या कम छ। सबै नेताहरू स्पष्टरूपमा बाँडिएका छन्। चुनावमा बाँडिएको टिकटदेखि अहिले पाइरहेको र अब पनि पाउन सक्ने अवसरका कारण पनि धेरै नेताहरू देउवालाई चिढ्याउन चाहँदैनन्। 

तर महासमितिमा युवाको उपस्थिति बढी हुने र त्यहाँ आफूले समर्थन बढी पाउने विश्वास गगनले गरेको देखिन्छ। यहीबेला आफ्नो एजेन्डा स्थापित गर्न सके एक हदसम्म राजनीतिक रूपमा विजय प्राप्त हुने निश्चितै छ। साथै, आगामी दिनमा देउवालाई विस्थापित गर्न यसले मार्गप्रशस्त गर्ने गगन पक्षधरको बुझाइ छ। आफ्नो एजेन्डा पारित हुन नसकेको अवस्थामा पनि महासमितिलाई विभाजित गर्न उनी सफल हुनेछन्। त्यो सन्देश तल्लो तहसम्म जानेछ र देउवालाई चुनौती दिने वैकल्पिक नेताका रूपमा गगनको नाम आउनेछ। त्यस अवस्थामा उनी इतर खेमाका निर्विकल्प नेताका रूपमा स्थापित हुन सहज हुनेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .