नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने महासमिति बैठकमा हिन्दुधर्मको एजेन्डालाई नलैजाने भएको छ।
आइतबार सकिएको तीन दिन लामो केन्द्रीय कार्यसमिति बैठकमा शंकर भण्डारीसहित २२ जना नेताले पूरक प्रस्ताव पेश गरे पनि कांग्रेसले तत्काल यसबारे छलफल नगर्ने भएको हो।
महासमिति बैठकबारे आइतबार ललितपुरको गोदावरीमा आयोजित पत्रकार सम्मेलनका क्रममा कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले हिन्दुधर्म अहिले पार्टीको एजेन्डामा नरहेको बताएका छन्।
उनले कांग्रेस अहिले कुनै एकल विचारको पक्षमा नरहेको बताउँदै त्यहीकारण बहुलवादमा आधारित बहुदलको वकालत गरिएको पनि उल्लेख गरे।
‘कांग्रेस अहिले कुनै पनि एकल विचारको पक्षमा छैन। त्यहीकारण हामीले बहुलवादमा आधारित बहुदल भनेका हौँ। एकल धर्मको राज्य, एक वंशको शासन, एकल जातीय शासन र एकल विचारको शासन हाम्रा लागि स्वीकार्य हुन सक्दैन,’ उनले पत्रकारहरूसँग भने, ‘केही नेताहरूले हस्ताक्षर गरेर हिन्दु राष्ट्र चाहन्छौँ भने पनि अहिले त्यसलाई कांग्रेसले बोक्न सक्दैन।’
देउवाको संकेत बुझेर जब कांग्रेसका २२ नेता ‘सनातन हिन्दूराष्ट्र’ बनाउन कस्सिए
२२ जना नेताहरूले महासमिति बैठकमा हिन्दधर्म एजेन्डा बनोस् भनेर दर्ता गराएको पूरक प्रस्तावलाई अहिले पार्टीले ग्रहण नगर्ने पनि बताए।
‘हामी हिन्दु धर्म मान्छौँ, हिन्दु राष्ट्र चाहन्छौँ भनेर केही साथीहरूले पार्टीमा लिखित प्रस्ताव ल्याउनु भएको हो। २२ जना साथीहरूले आफूहरूको प्रस्ताव पार्टीको एजेन्डा बनोस् भन्नु भएको हो’, उनले भने, ‘तर अहिलेलाई उहाँहरूको यो प्रस्ताव कांग्रेसले ग्रहण गरेन।’
विश्वकर्माले उक्त प्रस्तावलाई लिएर केन्द्रीय कार्यसमिति बैठकमा असहज परिस्थिति बनेको पनि बताए। ‘अब यो कुरा महासमिति बैठकमा छलफल गर्ने प्रस्ताव नै बनेन’, उनले भने, ‘यसबारे केन्द्रीय कार्यसमिति बैठकमा पनि बहस भएन। अब महासमितिमा यो एजेन्डा बन्दैन।’
विश्वकर्माले कांग्रेस जातीय, क्षेत्रीय, धार्मिक र साम्प्रदायिक पार्टी नभएको बताउँदै कुनै पनि एकल विचारको पक्षमा नउभिने पनि प्रष्ट पारे।
‘कांग्रेस राष्ट्रिय पार्टी भएकाले सबै विषयमा नेताहरूले केन्द्रीय समिति र महासमिति बैठकमा आफ्ना विचार राख्न पाउनु हुन्छ,’ उनले भने, ‘व्यक्तिगत विचार राख्न कुनै समस्या छैन। तर हामी अहिले कुनै पनि नामको धार्मिक राज्यतिर जाँदैनौँ। नेताहरूले आफ्ना विचार राख्न पाउँछन् तर ती विचारलाई पार्टीले अपनत्व गर्न सक्दैन, आधिकारिकता पाउन सक्दैन।’
शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा नेता शंकर भण्डारीले सनातन हिन्दुराष्ट्रको पक्षमा उभिन आग्रहसहित सभापति शेरबहादुर देउवालाई प्रस्ताव पत्र बुझाएका थिए।
हिन्दुराष्ट्रको पक्षमा केन्द्रीय सदस्य र प्रदेश कार्यसमितिका सभापतिहरूले समेत हस्ताक्षर गरेका थिए।
हिन्दुराष्ट्रको पक्षमा उभिन मागसहित हस्ताक्षर गरेर पार्टीमा प्रस्ताव बुझाउनेहरूमा केन्द्रीय सदस्य भण्डारीसहित २२ जना थिए।
जसमा पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, रंगमती शाही, सीता देवकोटा, सीताकुमारी, दिलेन्द्र बडू, डा. डिला संग्रौला, शारदा पौडेल र अर्जनुबहादुर सिंहले हस्ताक्षर गरेका थिए।
त्यस्तै चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला र मुक्ताकुमारी यादवले पनि हिन्दु धर्मसहितको नेपालको पक्षमा हस्ताक्षर गरेका थिए।
उक्त प्रस्तावमा कांग्रेस बागमती प्रदेश कार्यसमिति सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी प्रदेश कार्यसमिति सभापति शुक्रराज शर्माले हस्ताक्षर गरे। उनीहरू सबैले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुधर्ममा कांग्रेस उभिनुपर्ने भन्दै हस्ताक्षर गरेका थिए।
Shares

प्रतिक्रिया