नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था निक्कै कमजोर बनेको बताएका छन्।
बुधबार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले देशको अवस्थाको चर्चा गर्नु भनेको समय बर्बाद गर्नु मात्रै भएको बताए।
गठबन्धनको कारण देश बर्बादीतर्फ उन्मुख भएको ओलीले बताएका छन्। ‘देश ओरालो लागेको छ’, ओलीले अगाडि भने।
विदेशबाट युवाले पठाएको रेमिट्यान्सले देश चलिरहेको ओलीले बताए।
यदि त्यो बन्द हुने हो भने देश बर्बाद हुने उनले प्रष्ट पारे। यस विषयमा गठबन्धनलाई बारम्बार सम्झाएको भए पनि यो सरकार त्यसमा जिम्मेवार नभएको ओलीको भनाइ छ।
गठबन्धन सरकार देश बनाउन नभई विकासको गति रोक्न बनेको ओलीले बताए।
‘अहिले जुन गठबन्धन सरकार छ त्यो गठबन्धन देश बनाउन र विकास गर्नका लागि बनेकै होइन, त्यो एमालेले देश बनाउँछ भनेर भत्काउन बनेको हो’, ओलीले भने।
एमालेले पुल, राजमार्ग, अस्पताल, विद्यालय लगायत अनेक पूर्वाधार निर्माण गरिरहेका बेला त्यसलाई रोक्न गठबन्धन सरकार बनेको ओलीले बताए।
गठबन्धन सरकार बन्नेबित्तिकै विकासका सबै योजना काटिएका भन्दै ओलीले आलोचना गरे।
सूर्यमासमेत कहिलेकाहीँ ग्रहण लाग्ने बताउँदै ओलीले अहिले नेपालमाथि गठबन्धन नामको ग्रहण लागेको बताए।
देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठ/दशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेका ओलीको भनाइ छ।
ग्रहण धेरै समय लाग्न नसक्ने बताउँदै एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने ओलीले बताए।
‘नेकपा एमाले छ, यस देशमा त्यस कारण देश दुर्घटनामा जान पाउँदैन, यहाँ एमाले छ, नेपाली जनतालाई सचेत पार्ने पार्टी छ’, उनले भने।
विश्व उपनिवेशसँग लडेका देश भक्त नागरिक रहेको नेपालको भविष्य तल माथि हनु नसक्ने ओलीले बताए। नेपाली जनताको भावना सम्बोधन गर्ने देशभक्त पार्टी नेकपा एमाले जनताको साथमा रहेको उनले प्रष्ट पारे।
ओली विकासको काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न आग्रह गरे। योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उनले सुझाव दिए।
देशको रक्षा र विकासको लागि नेकपा एमाले बनेको उनले बताए। देशको चौतर्फी विकासको लागि एमालेले काम गर्ने उनले प्रष्ट पारे।
त्यसैले २०८४ को निर्वाचनमा एमालेले सबै ठाउँमा जित्ने गरी तयारी गरिरहेको उनले बताए।
ओलीले मुख्य रूपमा कृषिलाई आधुनिकीकरण गरेर नै समृद्ध नेपाल बनाउन सकिने बताए। यस काममा सरकार र बैङ्कहरूले सहयोग गर्नुपर्ने उनको भनाइ छ।
कृषि र पशुपालन तथा त्यसको आधुनिकीकरणबाट नै आर्थिक विकास गर्न सकिने ओलीले बताए। धेरै देशले कृषिमा आधुनिकीकरण गरेर कृषि अर्थतन्त्र मजबुत बनाएका ओलीले उदाहरण दिए।
आर्थिक क्षेत्रको नयाँ नयाँ पहिचान गर्न पनि त्यतिकै जरुरी रहेको ओलीले बताए। उत्पादनलाई विविधीकरण गरी विश्व बजारमा बिक्ने उत्पादन तयार गर्नुपर्नेमा उनले जोड दिए।
Shares
प्रतिक्रिया