नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) को विचाराधारालाई त्याग्न नसक्ने बताएका छन्।
सोमवार काठमाडौंमा जारी पार्टीको केन्द्रीय परिषद बैठकमा बोल्दै अध्यक्ष नेपालले जबजको उपादेयता छैन भन्ने मान्यता आत्मघाती र आत्मसमर्पणवादी भएको जिकिर समेत गरे।
पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उनले अहिले पनि कम्युनिष्ट पार्टीहरुमाथि तानाशाही र अधिनायकवादीको आरोप लगाउने क्रम नसकिएकाले त्यसको प्रतिवाद गर्न पनि जबजको विकल्प नभएको बताए।
उनले मदन भण्डारीद्वारा प्रतिपादित सो विचारधाराको पेटेन्ट राईट आफ्नो पार्टीसँग रहेको दाबी गर्दै त्यसलाई मिल्काइदिऊँ भन्ने खालको मान्यता मान्य नहुने चेतावनी दिए।
अध्यक्ष नेपालले भने, ‘बहुदलीय प्रतिष्पर्धाको मान्यता छोडेर एक दलीय तानाशाही व्यवस्थामा जान सकिँदैन। त्यसो हुनाले हामी बहुदलीय प्रतिष्पर्धाको वकालत गर्छौं। त्यसको पेटेन्ट राईट हामीसँग छ। त्यसको नेता मदन भण्डारी नेपालको कम्युनिष्ट आन्दोलनको त्यस्तो विचारक हुनुहुन्थ्यो, जसले यो विचार अगाडि सार्नुभयो।’
उनले थपे, ‘जनताको बहुदलीय जनवादको उपादेयता सकियो, यसको कुनै काम छैन, यसलाई मिल्काइदिऊँ भन्ने खालको मान्यता त्यो आत्माघाती, आत्मसमर्पणवादी मान्यता हो।’
Shares
प्रतिक्रिया