ad ad

राजनीति


नेपाली जनता भोका नांगा छन् भनेर एमसीसी आएको हैनः केसी

नेपाली जनता भोका नांगा छन् भनेर एमसीसी आएको हैनः केसी

नेपालखबर
माघ २४, २०७६ शुक्रबार १६:११,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनता भोका नांगा छन् भनेर एमसीसी नआएको बताएका छन्।

शुक्रबार राजधानीमा नेकपा (मसाल) र क्रान्तिकारी माओवादी लगायत नौ दलले आयोजना गरेको विरोध सभामा राजमो अध्यक्ष केसीले नेपालमा उज्यालो छर्न पनि एमसीसी नआएको बताए। उनले पछिल्लो समयमा चीन शक्तिशाली बन्दै गएकाले उसको प्रगतिलाई रोक्नका लागि इन्डो–प्यासिफिक रणनीति अगाडि सारिएको र त्यसैको एउटा अंगको रूपमा एमसिसी नेपालमा लागु गर्न खोजिएको बताए।

केसीले प्रश्न गरे, ‘नेपाली जनता भोकाए, नेपाली जनता अँध्यारोमा बसे भनेर एमसीसी आएको हो र? ‘चीनलाई घेर्नका लागि अमेरिकाले एमसीसी अगाडि सारेको हो।’ उनले देशभित्रको बेथिति, भ्रष्टाचार रोके त्यही पैसाले देशको विकास गर्न पुग्ने भन्दै ‘विदेशीका सामु हात नफैलाउन’ सुझाव दिए।

लिम्पियाधुरा–लिपुलेकमा सीमा अतिक्रमणको बारेमा बोल्दै अध्यक्ष केसीले तीनवटा भक्तपुर जिल्लाबराबरको क्षेत्रफल भारतद्वारा अतिक्रमण हुँदा पनि नेपाल सरकार चुप रहेको आरोप पनि लगाए। ‘तीनवटा भक्तपुरमाथि भारतले १९६२ देखि कब्जा जमाइरहेको छ, यसमाझमा दुई दर्जनजति सरकार बनिसके’ उनले भने, ‘तर कुनै पनि सरकारले सीमा अतिक्रमणको विरुद्धमा पहलकदमी गरेनन्।’ उनले छिमेकीले साँध मिच्यो भने झगडा गर्ने, उस्तै परे अदालतसम्म धाउने हामी नेपाली र त्यही समाजबाट आएको सरकारले सीमा अतिक्रमणबारे नबोल्नु दुःखको कुरा भएको बताए।

कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, नेकपा (माले) का महासचिव सिपी मैनाली, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेल, नेकपा (क्रान्तिकारी–माओवादी) का पोलिटब्युरो सदस्य दिनेश शर्मा, जनसमाजवादी पार्टी, नेपालका अध्यक्ष सुभाषराज काफ्ले, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (माओवादी–केन्द्र) का अध्यक्ष गोपाल किराँती र राष्ट्रिय जनजागरण परिषद्, नेपालका संयोजक साध्यबहादुर भण्डारी लगायतले बोलेका थिए।

एमसीसी र सीमा अतिक्रमण विरुद्ध नौ दलले काठमाडौंसहित सातवटै प्रदेशका प्रमुख शहर धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर र विराटनगरमा शुक्रबार विरोध सभाको आयोजना गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .