राजनीति


परराष्ट्रमन्त्रीले रुसी मन्त्रीलाई भने : नेपालीलाई सेनामा नलिनू, भर्ना भएकालाई फर्काइदिनू

परराष्ट्रमन्त्रीले रुसी मन्त्रीलाई भने : नेपालीलाई सेनामा नलिनू, भर्ना भएकालाई फर्काइदिनू

तस्बिर : परराष्ट्रमन्त्रीको सचिवालय


नेपालखबर
माघ ५, २०८० शुक्रबार २२:२६, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले रुसी विदेशमन्त्रीसँग नेपाली नागरिकहरूलाई त्यहाँको सेनामा भर्ना नलिन आग्रह गरेका छन्।

साउदले भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काइदिन पनि आग्रह गरेका छन्। 

युगान्डाको राजधानी कम्पालामा जारी असंलग्न राष्ट्रहरूको 'नाम' शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटघाटका क्रममा उनले नेपाली नागरिकलाई सेनामा भर्ना नलिन र भर्ना भएकालाई फिर्ता गरिदिन भनेका हुन्।

‘हामीले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बतायौँ,’ उनले भने, ‘त्यसकारण रुसलाई नेपाली नागरिक भर्ना नगर्न आग्रह गरेका छौँ।’

परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति दिन पनि आग्रह गरे। 

‘रुसमा मृत्यु भएका व्यक्तिका परिवार धेरै पीडामा छन्। आफन्तको शव प्राप्त गरी आफनो संस्कृतिअनुसार अन्त्येष्टि गर्ने परिवारको चाहनालाई सम्मान गर्नु हाम्रो मानवीय दायित्व हो। त्यसकारण नेपाली नागरिकका शवलाई चाँडै स्वदेश फिर्ता गर्न भनेका छौँ,’ मन्त्री साउदले रुसी उपविदेशमन्त्रीसँग भने, ‘रुसी पक्षले मृतकका परिवारलाई रुसी कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिएको छ। यसका लागि प्रक्रिया छिटो अघि बढाउन आग्रह गरेका छौँ।’

जवाफमा रुसी उपविदेशमन्त्री वर्सिनिनले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गरिने बताए। रुसी प्रतिनिधिमण्डलका प्रमुखसमेत रहेका उपविदेशमन्त्रीसँगको भेटमा नेपाल–रुस सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

उनले नेपाल र रुस सम्बन्धको लामो इतिहाससमेत उल्लेख गरे। ‘हाम्रो सम्बन्धको जग बलियो छ,’ रुसी उपविदेशमन्त्रीले भने, ‘हामीले यी सम्बन्धलाई अगाडि बढाउनु पर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .