आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले आज चुनाव चिह्न दिइरहेको छ।
आयोगले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिह्न बाँडिरहेको हो।
यस आयोगले उम्मेदवारहरूविरुद्ध परेका उजुरी छानबिन गरेको थियो भने नाम फिर्ताका लागि इच्छुक उम्मेदवारलाई शुक्रबारको समय दिएको थियो। शुक्रबारै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज चुनाव चिह्न बाँडिरहेको हो।
शुक्रबार लुम्बिनी प्रदेशमा राप्रपाका निरञ्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् भने दुई उम्मेदवारविरुद्ध परेको उजुरीमा दाबी नपुगेको भन्दै आयोगले खारेज गरिदिएको छ।
राष्ट्रिय सभाका १९ सदस्य चयन गर्न माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म चुनाव हुँदै छ।
त्यसका लागि गत सोमबार सातै प्रदेशबाट ५२ जनाले उम्मेदवारी दिएका छन्।
मतदानका लागि सा प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र तोकिएका छन्।
निर्वाचनबाट प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्य चयन हुनेछन्।
आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको ६ वर्षे कार्यकाल पूरा हुँदै छ। तीमध्ये १९ जना चुन्न आगामी माघ ११ गते निर्वाचन गर्न लागिएको हो। एक जना भने राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।
यी हुन् फागुन २० गते बिदा हुने २० सदस्य
आगामी फागुन २० गते राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सदस्यको ६ वर्षे कार्यकाल पूरा हुँदै छ। जसमा एमालेका ९, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाका १ र एक जना स्वतन्त्र निर्वाचित सदस्य छन्।
जसअनुसार एमालेका गणेशप्रसाद तिमिल्सिना (अध्यक्ष) दीपा गुरुङ (गण्डकी), इन्दु कडरिया (सुदूरपश्चिम), खिमलाल भट्टराई (लुम्बिनी), दिलकुमारी रावल थापा (बागमती), रामचन्द्र राई (बागमती), नरपती लुवार (कर्णाली), भैरव सुन्दर श्रेष्ठ (कर्णाली) र राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल हुन्।
यस्तै फागुन २० गते नेपाली कांग्रेसका अनिता देवकोटा (लुम्बिनी), जितेन्द्रनारायण देव (मधेश), प्रकाश पन्थ (गण्डकी) र रमेशजंग रायमाझी (कोशी) पनि राष्ट्रिय सभा सदस्य पदबाट बिदा हुँदै छन्।
यसैगरी नेकपा माओवादी केन्द्रका महेश कुमार महरा (सुदूरपश्चिम), हरिराम चौधरी (सुदूरपश्चिम) र विना पोखरेल (कोशी) को कार्यकाल सकिँदै छ।
यस्तै एकीकृत समाजवादीबाट नन्दा चपाईं (कर्णाली) र सिंगबहादुर विश्वकर्मा (बागमती) को कार्यकाल पनि फागुन २० मा सकिँदै छ।
यसैगरी जनता समाजवादी पार्टी (जसपा) की प्रमिला कुमारी (मधेश प्रदेश) र बागमती प्रदेशबाट स्वतन्त्र रूपमा निर्वाचित खिमलाल देवकोटाको कार्यकाल पनि सकिँदै छ।
राष्ट्रिय सभाका कूल ५९ सदस्यमध्ये गोला प्रथाबाट एकतिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एकतिहाइको ४ वर्ष र बाँकी एकतिहाइ सदस्यको २ वर्ष कार्यकाल निर्धारण गरिएको थियो। फागुन २० गते ६ वर्षेवाला २० सदस्यको कार्यकाल पूरा हुने भएको हो।
Shares
प्रतिक्रिया