ad ad

राजनीति


प्रभु साहको नेतृत्वमा ‘आईटी आर्मी’ घोषणा, रौतहटमा धमाधम तालिम (तस्बिर)

प्रभु साहको नेतृत्वमा ‘आईटी आर्मी’ घोषणा, रौतहटमा धमाधम तालिम (तस्बिर)

नेपालखबर
पुस १६, २०८० सोमबार ८:४६, काठमाडौँ

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले छुट्टै अर्धसैनिक बल निर्माण गरेको छ।

आम जनता पार्टीको स्थापना दिवसका अवसरमा यही पुस १४ गते आयोजित आईटी आर्मीको राष्ट्रिय भेलासहित सुरु भएको सैनिक तालिम अहिले निरन्तर जारी छ।

सात दिन चल्ने उक्त तालिममा युवाहरु सहभागी छन्। रौतहटको मौलापुरमा जारी उक्त तालिममा आईटीसम्बन्धी प्रशिक्षणदेखि सैनिक अभ्याससम्म भइरहेको छ। यस प्रशिक्षणबारे आईटी आर्मीको प्रदेश अध्यक्ष बालाशंकर कुशवाहासँग जान्न खोज्दा उनले भने, “अहिलेको सूचना प्रविधिको युगमा युवाहरुलाई आईटीसम्बन्धी तालिम अत्यावश्यक छ, किनकि आईटीबिना देशको विकास सम्भव छैन। वैदेशिक रोजगारीमा भइरहेको ठगी रोक्न, भ्रष्टाचारीहरुलाई दण्डित गर्न तथा भगौड़ा दलालबाट देशलाई बचाउन आईटी सेना निर्माण अपरिहार्य आवश्यकता भइसकेकाले यो तालिम सञ्चालन गरिएको हो। यो तालिमपछि आईटी आर्मीका युवाहरुले देशमा बढ्दो संकट रोक्न सकारात्मक योगदान गर्नेछन्।”  

आजपाले अहिलेको व्यवस्था असफल भइसकेको घोषणा गर्दै देशलाई संकटबाट बचाउन तत्काल अन्तरिम सरकार गठनको माग गरिरहेको छ।

आजपाका अध्यक्ष प्रभु साहले तत्काल अन्तरिम सरकार गठनमा सुरक्षा निकायको भुमिका सहयोगी हुने बताए। सुरक्षा अधिकारीहरु देशको संकटबारे चिन्तित भएनन् र पार्टीको लुटतन्त्रलाई चोख्याउनमै लागिरहे भने अब आईटी आर्मीले नेपालको मुख्य सैनिक फोर्सको काम गर्ने उनको दाबी छ। 

उनले भने ‘ढिलो चाँडो नेपाली सेनाका जवानहरुले बूझ्नेछन् र देशको निकासका लागि आईटी आर्मीसँग सहकार्य गर्नेछ। यही तरिकाले अब देश अघि बढ्न सक्दैन, आईटी आर्मीले देशको निकासमा विशेष सहयोगी भूमिका खेल्ने पक्का छ,” उनले भने। 

हेर्नुहाेस् थप तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .