राजनीति


पशुपतिमा ‘क्रिस्चियन’ नियुक्त गरिएको भन्दै सांसदले उठाए प्रश्न

पुन भन्छिन् : म हिन्दू हुँ, हावामा तीर चलाइयो
पशुपतिमा ‘क्रिस्चियन’ नियुक्त गरिएको भन्दै सांसदले उठाए प्रश्न

रुपक चौलागाईं
पुस १२, २०८० बिहिबार १७:५०, काठमाडौँ

पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्तिको विषयले संसदीय समितिमा प्रवेश पाएको छ। बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसदहरूले उनको धार्मिक आस्था र शैक्षिक योग्यताबारे प्रश्न उठाएका छन्।

पुनलाई कोषको सञ्चालक परिषदको बैठकले गत पुस ४ गते कार्यकारी निर्देशक नियुक्त गरेको थियो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीको प्रस्तावमा कार्यकारी निर्देशक नियुक्त भएकी पुनबारे सांसदहरूले प्रश्न उठाएका हुन्। 

समितिको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबराले पुनको धार्मिक आस्थाबारे प्रश्न उठाए। उनले पुन क्रिस्चियन भएको सूचना आएको बताए। 

पुन बस्ने घरकी महिलाले नै उनी क्रिस्चियन भएको बताएको उल्लेख गर्दै उनले भने, ‘हिन्दूको आस्थाको केन्द्र पशुपतिमा नियुक्त भएकी लक्ष्मी पुन क्रिस्चियन हुन् भन्ने प्रचार छ। यो विषय गम्भीर छ। यदि यो सत्य हो भने हाम्रो विश्वासमाथि सरकारले कुठाराघात गरेको छ।’

‘पशुपतिजस्तो हिन्दूहरूको आस्था भएको ठाउँमा कसरी क्रिस्चियन नियुक्त हुनसक्छ?’ उनले भने।

राणाको यो प्रश्नमा नेकपा माओवादी केन्द्रकी सांसद छिरिङल्हामु लामाले आपत्ति जनाइन्। उनले पुन हिन्दू नै भएको बताइन्।

उनले पुनमाथिको आक्रमणलाई सिंगो कर्णालीका महिलामाथि उठाइएको प्रश्नको रुपमा अर्थ्याइन्। 

‘उहाँमाथिको यो प्रहार के आधारमा भएको हो? उहाँ हिन्दू धर्मावलम्बी नै हो भनेर हामी चिन्छौँ,’ सांसद लामाले भनिन्, ‘यो कर्णालीका चेलीमाथिको आक्रमण हो। हाम्रो घोर आपत्ति छ।’

सांसद लामाले लुम्बिनी विकास कोषको उदाहरण पनि दिइन्। 

‘लुम्बिनी विकास कोषमा पनि ९५ प्रतिशत कर्मचारी हिन्दू छन्,’ उनले प्रश्न उठाउँदै भनिन्, ‘के त्यहाँ पनि प्रश्न उठाउने?’

नेकपा एमालेकी सांसद सम्झना थपलियाले पनि पशुपतिजस्तो स्थानमा क्रिस्चियन धर्ममको ट्याग लागेको व्यक्ति नियुक्त हुनु गम्भीर भएको बताइन्।

‘अहिले सञ्जालहरूमा उहाँ (लक्ष्मी पुन)क्रिस्चियन भनेर आइरहेको छ,’ उनले भनिन्, ‘पशुपतिमा कसरी क्रिस्चियन धर्मको ट्याग लाग्यो?’

हिन्दू हुँ, विरोधीले मविरुद्ध प्रचारबाजी गरेः पुन
पुनले भने आफूले अहिलेसम्म धर्म परिवर्तन नगरेको नेपालखबरलाई बताइन्। 

‘म क्रिस्चियन हुँ भनेर हावामा तीर चलाइएको मात्रै हो। म सशक्त ब्याकग्राउन्डबाट आएको हुँ। सबै धर्मलाई सम्मान गर्छु। म पुन हुँ। उपाध्याय हुँ भनेर भनेको छैन। मैले अहिलेसम्म धर्म परिवर्तन गरेको छैन,’ उनले बिहीबार साँझ भनिन्, ‘म हिन्दू हुँ।’

साथै, उनले पशुपति क्षेत्र विकास कोषमा नियुक्तिका लागि धेरैको रहर रहेको र कमाउधन्दा अघि बढाउन नसकेपछि प्रचार गरेको पनि बताइन्। 

‘त्यो मेरो पदमा अरु पनि धेरैको इच्छा रहेछ। जान नपाएको रिसमा मिडियाबाजी गरिरहनुभएको छ। म आफैँ नेपाल पत्रकार महासंघको निर्वाचित केन्द्रीय सचिव हुँ। मेरैविरुद्ध आज पत्रकारिताको प्रयोग भइरहेको छ यो दुःखद छ,’ उनले भनिन्, ‘त्यहाँ कमाउधन्दा चलाउन नसकेकाहरू मेरा विरुद्ध लागेका हुन्।’

योग्यतामाथि पनि प्रश्न
कार्यकारी निर्देशक पुनको शैक्षिक योग्यतामाथि पनि सांसदहरुले बैठकमा प्रश्न गरे। पुनलाई कुन मापदण्ड र प्रावधानका आधारमा नियुक्ति गरिएको भन्दै सांसदहरू एकनाथ ढकाल, शिशिर खनाल, प्रेम सुवाल लगायतले प्रश्न गरे। 

एमाले सांसद ढकालले पुनको योग्यता पुगेको छ कि छैन, नियुक्तिको मापदण्ड के हो, भन्दै प्रश्न गरे। 

‘मास्टर्स गरेको छ भने १५ वर्ष र स्नातक मात्रै हो भने २० वर्ष कुनै संस्थामा काम गरेको छ कि छैन?’ सांसद ढकाल भने, ‘समानुपातिक सांसदको उम्मेदवारको सूचीमा रहेको मान्छे कार्यकारी नियुक्त गर्न मिल्छ कि मिल्दैन?’

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नियुक्तिको प्रक्रियाबारे प्रश्न गरे। 

‘कार्यकारी निर्देशकको नियुक्ति प्रक्रिया के हो?’ उनले सोधे, ‘यसबारे धेरै विवादहरू सुनिएका छन्, यो किन गरियो? सरकारले कुन मापदण्डमा टेकेर नियुक्त गरेको हो?’

पशुपतिमा हुने कुनै पनि नियुक्ति कम विवादित हुनुपर्ने उनको भनाइ थियो। 

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले पनि उनको नियुक्तिबारे प्रश्न उठाए। 

‘यदि बजारमा आइरहेका हल्लाजस्तै शैक्षिक मापदण्ड पूरा नभएको व्यक्तिलाई नियुक्त गरिएको हो भने विषय गम्भीर छ,’ सुवालले भने, ‘मापदण्ड नपुगेका, सामाजिक अपराधसँग जोडिएका र भ्रष्टाचारसँग जोडिएकाहरूलाई टीको लगाएर भित्र्याउन त भएन नि!’

सदस्यसचिवको जवाफ
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्रीले सांसदहरूले उठाएका प्रश्नको जवाफ बैठकमा पेस गरेका थिए। 

उनले परिषद्को नियमावली अनुसार नै पुनलाई नियुक्त गरिएको स्पष्टीकरण दिए। उनले मान्यता प्राप्त शैक्षिक संस्थाबाट नै अध्ययन गरेको प्रमाणपत्र सुरक्षित रहेको स्पष्ट पारे। 

समितिको बैठकमा उठेका प्रश्नहरूको संक्षेपमा जवाफ दिँदै खत्रीले यो नियुक्तिको प्रक्रियाबारे विवाद नभएको दाबी गरे।

‘यो नियुक्ति नियमावलीको ९४ (क) अनुसार स्पष्ट छ,’ उनले भने, ‘उहाँले मदन भण्डारी मेमोरियल कलेजबाट स्नातकोत्तर गर्नुभएको प्रमाणपत्रहरू पेस भएका छन्।’

साथै, पुनले गोवा विश्वविद्यालयबाट स्नातक गरेको पनि बैठकमा सदस्य सचिव खत्रीले जानकारी गराए। उनले कर्मचारी नियुक्ति गर्दा परिषद्बाट स्वीकृति लिने गरेको बताए।

नियुक्तिबारे अध्ययन गर्छु : सचिव काफ्ले
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव डा. दीपक काफ्लेले नियुक्ति प्रक्रियाबारे अध्ययन गर्ने आश्वासन दिए। 

उनले एक हप्ताअघि मात्रै आफू मन्त्रालयमा आएकाले विस्तृत बुझ्न नपाएको भन्दै अर्को बैठकमा बुझेर सबै कुराको जानकारी गराउने बताए।

‘कार्यकारी निर्देशकको नियुक्तिबारे उठेको सन्दर्भबारे म अध्ययन गर्छु,’ सचिव डा. काफ्लेले भने, ‘म नयाँ भएकाले यसबारे बुझ्न पाएको छैन, म अध्ययन गरेर अर्को बैठकमा जानकारी गराउनेछु।’

उनले पशुपतिनाथको बारेमा उठेका अन्य प्रश्नहरूको बारेमा पनि धेरै कुरा बुझ्न बाँकी रहेको उनले स्पष्टीकरण दिए। 

तीन दिनभित्र पुनको कागजात झिकाउन निर्देशन
समितिले पुनको नियुक्तिबारे तीन दिनभित्र कागजात झिकाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। समितिका सभापति राजकिशोर यादवले पशुपति क्षेत्र विकास कोष र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिएका हुन्। 

‘कार्यकारी निर्देशक नियुक्त गर्ने क्रममा पेस भएका कागजात तीन दिनभित्र उपलब्ध गराउन मन्त्रालयलाई र कोषलाई निर्देशन दिने निर्णय भएको छ,’ सभापति यादवले निर्णय सुनाउँदै भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .