ad ad

राजनीति


बीआरआईबाट नेपालले लाभ लिन अझ धेरै मिहिनेत गर्नुपर्छ : मन्त्री शर्मा

बीआरआईबाट नेपालले लाभ लिन अझ धेरै मिहिनेत गर्नुपर्छ : मन्त्री शर्मा

नेपालखबर
पुस १०, २०८० मंगलबार १६:५८, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी राष्ट्रहरुको प्रगतिबाट नेपालले लाभ लिनसक्नुपर्ने बताएकी छन्।

बेल्ट एण्ड रोड इनिसियटिभको १० औं वार्षिकोत्सव तथा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६८ औँ वार्षिकोत्सवको अवसर पारेर नेपालस्थित चिनियाँ राजदूतावासको समन्वयनमा साउथ एसिया नेटवर्क टेलिभिजन मिडिया ग्रुपले आयोजना गरेको दोस्रो चाइना–नेपाल मिडिया शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले त्यस्तो बताएकी हुन्।

छिमेकीहरुले गरिरहेको आर्थिक प्रगतिबाट नेपाल खुशी रहेको औल्याउँदै उनले छिमेकीको विकासबाट नेपालले लाभ लिइरहेको र यसलाई गुणात्मकरुपमा बढाउनुपर्ने बताइन्।

‘चिनियाँ सहयोगमा नेपालमा महत्वपूर्ण आयोजनाहरु अघि बढ्ने हाम्रो अपेक्षा रहेको छ। नेपाल–चीन सीमापार रेलमार्ग, केरुङदेखि काठमाडौं–लुम्बिनी रेलमार्गजस्ता आयोजनाहरु अघि बढ्न सकेको खण्डमा यसबाट नेपालको समृद्धिमा नयाँ आयाम थपिने छ’– मन्त्री शर्माले भनिन्– ‘छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सञ्चालन गर्ने विभिन्न परियोजनाहरुमा नेपाल राष्ट्रहित अनुकूल हुने गरी सामेल हुँदै आएको छ।’

चीनले यस्तै महत्वपूर्ण परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सुरु गरेको दश वर्ष पूरा भएको अवसरमा बधाई दिँदै उनले यो अवधमा १५० देश र ३० वटा अन्तर्राष्ट्रिय संस्थाको आर्थिक सहायता प्लेटफर्मको रुपमा यो परियोजना स्थापित हुनु महत्वपूर्ण प्रगति भएको र यसबाट नेपालले पनि यथोचित लाभ लिन अझै मेहनत गर्नुपर्ने काम बाँकी नै रहेको बताइन्।

‘सरकार-सरकार र जनता-जनताबिचको सम्बन्धलाई थप उचाइमा अघि बढाउन दुवै देशका मिडियाहरुको महत्वपूर्ण भूमिका छ, त्यसका लागि पनि यस्ता सम्मेलनहरु फलदायी हुनेछन्’ मन्त्री शर्माले भनिन्, ‘यसमा पनि सरकार-सरकार र जनता-जनताबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै दुवै देशको पर्यटन प्रवर्धनका लागि सरकारले चाल्नुपर्ने कदमका बारेमा उपयुक्त सुझाव आउने अपेक्षा गरेका छौं।’

संसारमै सबैभन्दा धेरै जनसंख्या भएको चीनमा ठूलो संख्यामा बौद्धमार्गी रहेकाले तीमध्ये वर्षेनी केही प्रतिशत मात्रै गौतम बुद्धको जन्मस्थल नेपाल आउने वातावरण बनाउन सकियो भने नेपालको पर्यटन प्रवर्धनमा कायापलट हुने हाम्रो विश्वास उनले विश्वास व्यक्त गरिन्।

नेपाल र चीनबिच खासगरी नून, उन र सुनको ब्यापार विनिमयबाट दुई देशको सभ्यता र सम्बन्धको सुरुवात भएको उल्लेख गर्दै उनले आजका दिनमा दुवै देशबीचको ब्यापार दर बढाउनुपर्ने र नेपालले वर्षौदेखि ब्यहोर्दै आएको ब्यापार घाटा कम गर्न चीनसँगको ब्यापार सहयोगी बन्ने नेपालको अपेक्षा रहेको पनि स्पष्ट गरिन्।

‘नेपालबाट चीनमा गलैँचा, पास्ता, फेल्ट, फर्निचर, हातेकागज, जडीबुटी, तरकारीलगायतका वस्तु निर्यात हुँदै आएको भए पनि आयातको अनुपातमा निर्यातको मात्र निकै न्यून छ’ मन्त्री शर्माले भनिन् ‘यसमा हामीले वस्तु उत्पादनमा वृद्धितिर ध्यान दिनुपर्ने अवस्था त छँदैछ, त्यसमा थप नेपाल र चीनबिचका थप नाकाहरु खुला गर्ने, भन्सार विन्दु सहज बनाउने र भन्सार छूट दिने लगायतका क्षेत्रमा नेपालको गहिरो चासो रहँदै आएको छ।’

उनले यो सम्मेलनले नेपाल र चीनको आपसी सम्बन्धलाई थप बलियो बनाउन तथा दुवै देशका मिडिया र पत्रकारहरुबिचको सम्बन्ध थप सुमधूर बनाउँदै आपासी अनुभव र सहयोग आदानप्रदानका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा व्यक्त गर्दै पत्रकारिताका विश्वब्यापी प्रवृत्तिको समीक्षा र विश्लेषण गरी त्यसबाट सिकेर आफ्नो देशको सापेक्षतामा अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

नेपालको सन्दर्भमा चर्चा गर्दा राजनीतिकर्मी र मिडियाकर्मी सँगसँगै उभिएर राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सफल बनाउँदै पूर्ण प्रेस स्वतन्त्रतासहितको संविधान जारी गर्न सफल भएको स्मरण गराउँदै मन्त्री शर्माले राजनीतिक आन्दोलनहरुले व्यवस्था परिवर्तन गरे पनि परिवर्तित व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन हुन नसकेको राजनीतिक र मिडिया दुवै क्षेत्रको साझा बुझाइ रहेकाले अब राजनीति र पत्रकारिता दुवैको मिसन जनताको अवस्थामा गुणात्मक परिवर्तन ल्याउनु रहेको स्पष्ट गरिन्।

‘त्यसका लागि सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल एजेण्डा बनाएर अघि बढेको छ। यसलाई कार्यान्वयन गर्ने सवालमा राजनीतिक क्षेत्रमा हुने कमीकमजोरीको मिडिया क्षेत्रले आलोचना र खबरदारी गर्दै आएको छ’ उनले भनिन् ‘मिडियामा आउने यसप्रकारका आलोचना र खबरदारीले मात्र सरकारलगायत राजनीतिक शक्तिहरुलाई गलत बाटोमा जानबाट रोक्नसक्छ भन्ने वर्तमान सरकारको स्पष्ट धारणा रहेको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .