ad ad

कारोबार


सुपरमाई हाइड्रोको उत्पादन बन्द, दैनिक ५ लाख बढी घाटा

सुपरमाई हाइड्रोको उत्पादन बन्द, दैनिक ५ लाख बढी घाटा

रासस
पुस १०, २०८० मंगलबार १६:५४, मङ्गलबारे (इलाम)

इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयद्वारा बन्द गरिएको छ। हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन्। 

इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माईखोलामा हाइड्रोपावर सञ्चालित छ। स्थानीयले खोलाको पानी हाइड्रोमा जान नदिई बगरमा पानी कटाइदिएको स्थानीय हरि भण्डारीले जानकारी दिए।

सो हाइड्रोपावरले माईजोगमाई–५ सोताङमा ३० घण्टा सडक मर्मतका लागि स्काभेटर उपलब्ध गराउने भन्दै स्थानीयलाई पटकपटक झुक्याएका कारण हाइड्रोको उत्पादन बन्द गर्नुपरेको उनले बताए। “खोलामा छोड्नुपर्ने २० प्रतिशत पानीसमेत उहाँहरूले छोड्नुभएको छैन,” भण्डारीले भने। 

सुरुमा स्थानीयवासीले माग गरेको ३० घण्टा सडक मर्मतका लागि स्काभेटर दिने भनिएको र वडाबाट सिफारिस लिएर आउन आग्रह भएको थियो। माईजोगमाई गाउँपालिका–५ वडा कार्यालयको सिफारिससहित जाँदासमेत स्काभेटर उपलब्ध नगराएपछि उत्पादन बन्द गराउनु परेको बताइएको छ। स्थानीयवासीले सोमबार रातिदेखि नै जाग्राममा बसेर उत्पादन बन्द गराएका हुन्। 

सबै पानी खोलातर्फ लगाइदिएपछि उत्पादन पूर्ण रूपमा बन्द भएको छ। माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्थानीयको भनाइ छ। हाइड्रो सञ्चालकले स्थानीयका माग पूरा नगर्ने, पूरा गर्ने भनेर झुक्याउने गरेपछि उत्पादन बन्द गरिदिएको स्थानीयको भनाइ छ  । सोमबार राति ११ बजेदेखि नै हाइड्रोतर्फ गएको पानी खोलातर्फ कटाइदिएको जनाइएको छ। 

हाइड्रोका प्रमुख कार्यकारी अधिकृत दिनेश बर्तौलाले स्थानीयका माग पूरा गर्ने भन्दाभन्दै उत्पादन बन्द गरिदिएको बताउनुभयो। उनले हाइड्रोको गेटसमेत बन्द गरेकोे जानकारी दिए। स्थानीयवासीले पटकपटक माग बढाउने गरेको उनको भनाइ छ। पछिल्लो समय सेयर लगानीमार्फत ५० हजार बढी सञ्चालक रहेको हाइड्रोको एकल निर्णय गर्न नपाइने भएकाले माग पूरा गर्न समय लागेको हाइड्रोले जनाएको छ।

उत्पादन बन्द भएपछि सो हाइड्रोले दैनिक पाँच लाख बढी घाटा व्यहोर्नुपर्छ। हाइड्रोपावर सात दशमलव आठ मेगावाट क्षमताको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .