राजनीति


चीनबाट नेपालीको उद्धार गर्नुअघि महामारी रोकथामका उपाय खोज : चिनियाँ राजदूत

चीनबाट नेपालीको उद्धार गर्नुअघि महामारी रोकथामका उपाय खोज : चिनियाँ राजदूत

नेपालखबर
माघ २१, २०७६ मंगलबार १६:२३,

चीनले कोरोना भाइरसको महामारीको केन्द्र बनेको वुहानका नेपालीहरुको उद्धार गर्नुअघि महामारी रोकथाम तथा नियन्त्रणको आवश्यक उपाय अपनाउन आग्रह गरेको छ। नेपालीस्थित चिनियाँ राजदूत होउ यान्छीले विमानस्थलमा क्वारेन्टाइन तथा विश्व स्वास्थ्य संगठनका नेपालस्थित प्रतिनिधिबाट महामारी फैलिन नदिने विषयमा सल्लाह लिन सुझाव दिएकी हुन्।

‘नेपाली पक्षले आफ्ना नागरिकको उद्दारमा जोड दिन्छ भने हामी सम्बन्धित विभागहरुलाई विमानस्थलको क्वारेन्टाइन तथा महामारी रोकथाम र नियन्त्रणको विषयमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधिको सल्लाह लिन सुझाब दिन्छौं’, काठमाडौंस्थित चिनियाँ राजदूत होउको भनाई उद्धृत गर्दै मंगलबार साँझ दूतावासले पठाएको प्रेस विज्ञप्तिमा भनिएको छ।

नेपालले चीनको वुहानमा रहेका नेपालीको उद्दार गर्ने तयारी शुरु भएको जनाएपछि राजदूतले महामारी रोकथाम र नियन्त्रणको तयारी पनि गर्न सुझाब दिएकी हुन्। बेइजिङस्थित नेपाली दूतावासको आग्रह अनुसार एक सय ८० विद्यार्थीले नेपाल फर्किनका लागि आवेदन दिएपछि नेपालले चार्टर्ड विमान पठाएर उनीहरूको उद्धार गर्ने तयारी अगाडि बढाएको केही मन्त्रीहरूले जनाएका छन्।

काठमाडौंस्थित चिनियाँ दूतावासले उपलब्ध गराएको राजदूत होउको भनाई यस्तो छः

महामारी नियन्त्रणका लागि चीन र नेपालबीच कस्तो सहकार्य भएको छ? यी कदमहरुले चीन र नेपालबीच व्यक्तिगत सम्बन्ध तथा व्यापारमा कस्तो असर पारेको छ?
नयाँ कोरोना भाइरसको महामारी फैलिएपछि नेपालस्थित चिनियाँ दूतावासले संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालय, स्वास्थ्य मन्त्रालय अन्तर्गतको महामारी तथा रोग नियन्त्रण केन्द्र, परराष्ट्र मन्त्रालय र नेपालका अन्य सम्बन्धित विभागहरुलाई तत्कालै सम्पर्क गरि महामारीको परिस्थितिको बारेमा जानकारी गरायौं र नेपालमा रोकथाम तथा नियन्त्रणका कदमहरु चाल्नका लागि सहकार्यको विधि निर्माण गर्‍यौं।

अन्तर्राष्ट्रिय जिम्मेवारीलाई सक्रियतापूर्वक पूरा गर्ने दृष्टीले विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधिसँग पनि निकट सम्पर्कमा रहेका छौं। नेपालस्थित चिनियाँ दूतावासले आफ्ना केही कर्मचारीलाई माथि उल्लेखित संस्थाहरुसँग सूचना आदान प्रदान तथा महामारीको रोकथाम तथा नियन्त्रणका लागि संयुक्त कार्य समूह बनाएर काम गर्नका लागि जिम्मेवारी पनि तोकेको छ।

नेपाली पक्षले विमानस्थलमा सुपरिवेक्षण तथा क्वारेन्टाइन सुविधा स्थापना गरेको, केही अस्पतालमा आइसोलेसनका लागि छुट्टै ठाउँ व्यवस्था गरेको र काठमाडौं उपत्यका, चितवन जिल्ला तथा अन्य स्थानमा कोरोना भाइरसका संदिग्घहरूको उपचार गर्ने तयारीको बारेमा हामीले जानकारी पाएका छौं। पोजेटिभ भेटिएका नेपालका एक मात्रै विरामी पनि निको भएको र अस्पतालबाट डिस्चार्ज भएको विषयले मलाई खुशी बनाएको छ।

महामारी फैलिनबाट रोकथाम गर्नका लागि चीन सरकारले चिनियाँ ट्राभल एजेन्सीहरुलाई जनवरी २६ यता कुनै पर्यटक समूह विदेश पठाउनबाट रोक्न भनेको छ। केरुङ–रसुवागढी नाका र तातोपानी–खासा नाकाको अवस्था हेरेर महामारी रोकथामका लगि आवश्यक कदम चाल्न आवश्यक अनुगमन गर्न भनेको छ। केही विमान कम्पनीहरुले यात्रुको संख्यामा आएको कमीको कारण दुवै देशबीच केही उडान रद्द गरेका छन्। यस्तो कदम दुवै देशका जनताको सुरक्षाका लागि चाल्न आवश्यक रहेको छ। जसले केही हदसम्म नेपाल र चीनमा व्यक्ति तथ बस्तुको आदान प्रदानमा प्रभाव पार्ने निश्चित छ। तर यी आफ्ठ्याराहरु अस्थायी हुन्। यो महामारी चाँडै नियन्त्रणमा आउने छ र व्यक्ति तथा बस्तुको आदान प्रदान चाँडै शुरु हुनेछ भन्ने मलाई विश्वास छ।

नेपाल सरकारले चार्टर्ड फ्लाइटको व्यवस्था गरेर वुहानमा रहेका नेपालीहरुको उद्धार गर्ने योजना बनाएको समाचारहरु आएका छन्। यस विषयमा तपाईंको प्रतिक्रिया के हो?
चीनले चीनमा रहेका विदेशीलाई महामारीको संक्रमणबाट जोगाउन धेरै महत्व दिएको छ। चीनमा रहेका नेपालीहरुको स्वास्थ्यको राम्रोसँग संरक्षण गरिएको छ र अहिलेसम्म कोही पनि संक्रमित भएको पाइएको छैन। चीनको विदेश मन्त्रालयका डिभिजनहरुले वुहानमा रहेका नेपाली विद्यार्थीहरुको कठिनाई समाधान गर्नका लागि चीनस्थित नेपाली दूतावाससँग नजिकको सम्पर्क राखेका छन्। हुबेइ प्रान्त तथा वुहान नगरपालिकाका विदेश मामिला कार्यालय तथा सम्बन्धित विश्वविद्यालयले सकेजति बन्दोबस्तीको व्यवस्था गरेका छन्। महामारी रोकथाम तथा नियन्त्रणका लागि केही व्यक्तिको दैनिक जीवनमा नियन्त्रण गर्नु एकदमै स्वभाविक र सामान्य हो। हालै नेपालका केही सञ्चार माध्यममा नेपालीलाई चीन छाड्न रोकिएको भन्ने समाचार आए। मैले पाएको जानकारी अनुसार विमानस्थलमा उनीहरुको शरीरको तापक्रम जाँच गर्दा सामान्यभन्दा बढी रहेको भेटिएपछि स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै उनीहरु आफैंले यात्रा स्थगित गरेका हुन्। यो उनीहरु तथा अन्यको सुरक्षाको सुरक्षाका लागि चालिएको आवश्यक कदम हो।

कोरोना भाइरसको महाकारी फैलिएपछि सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ नेताहरुलाई पत्र पठाउँदै चीनले महामारी फैलिनबाट रोक्नका लागि गरेको प्रयास र चीनमा रहेका नेपालीहरु बारे राखेको ख्यालप्रति धन्यवाद व्यक्त गर्नु भएको छ।

नेपालका धेरै जनता तथा सञ्चार माध्मयहरुले महामारीका साथसाथै यसलाई रोक्न चीनले चालेको कदमप्रति बस्तुगत, सन्तुलित र शान्त धारणा दिएका छन्। यसले महामारीसँग लड्ने चीनप्रति नेपालको विश्वास तथा समर्थन रहेको देखाउँछ। हामी यसबाट निकै उत्साहित तथा धन्य भएका छौं।

नेपाल सरकारले वुहानमा रहेका नेपालीलाई उद्दार गर्ने तयारी गरेको जानकारी मैले पाएको छु। चिनियाँ पक्षले यो मागलाई धेरै महत्व दिएको छ र कुटनीतिक च्यानलबाट यस विषयमा जानकारी गराएको छ। महामारी नियन्त्रण गर्नु सबै देशको साझा जिम्मेवारी हो। नेपाली पक्षले आफ्ना नागरिकको उद्दार गर्ने विषयमा जोड दिन्छ भने सम्बन्धित विभागहरुलाई विमानस्थलको क्वारेन्टाइन, महामारी रोकथाम तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधिको सल्लाह सुझाव दिएका छौं।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad