ad ad

राजनीति


पहिचानवादीको अवरोधका बाबजुद घुर्मीमा आज एमालेको सभा

पहिचानवादीको अवरोधका बाबजुद घुर्मीमा आज एमालेको सभा

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०८० मंगलबार ११:४४, काठमाडौँ

कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै पहिचानवादी समूहले आह्वान गरेको बन्दका बावजुद नेकपा (एमाले)ले आज उदयपुरको घुर्मीमा आमसभा गर्दै छ। 

एमालेले यही मंसिर १४ गतेदेखि सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आजबाट कोशी प्रदेशमा प्रवेश गरेको छ। 

अभियानको क्रममा एमालेले आज उदपुर र ओखलढुंगाको सीमा क्षेत्रमा पर्ने घुर्मी बजार (सुनकोशी किनार)मा आमसभा गर्न लागेको हो। 

एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेता सहभागी टोली आज पुष्पलालको जन्मथलो रामेछापबाट सिन्धुली हुँदै कोशी प्रदेश प्रवेश गरेको छ। 

एमालेको मेची महाकाली अभियान कोशी प्रदेश प्रवेश गरेपछि प्रदेश १ पुनः नामंकन संयुक्त संघर्ष समितिले बन्द आह्वान गरेको छ।

उदयपुरको घुर्मीदेखि भोजपुरको लेगुवासम्म अनिश्चितकालीन यातायात बन्द  कार्यक्रम राखिएको संघर्ष समितिले जनाएको छ।

बन्दको बावजुध एमालेको संकल्प यात्रा मंगलबार बिहान रामेछापको पन्थलीबाट पुष्पलाल लोकमार्ग हुँदै घुर्मीतर्फ अघि बढेको छ। यात्राको क्रममा एमालेले आज बिहान सिन्धुलीको खुर्कोटमा पनि कार्यकर्ता भेटघाट कार्यक्रम राखेको थियो। 

एमालेको संकल्प यात्रा सुरक्षाको लागि आज सिन्धुली र उदयपुर क्षेत्रमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ।

अध्यक्ष ओलीसहितका नेतालाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट एमालेका नेता कार्यकर्ता घुर्मीमा भेला भएका छन्। 

अभियानमा अवरोध नगर्न एमालेको आग्रह
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहले एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताएका छन्।

‘हामीले पनि कोशी प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि गर्ने भन्ने सुनेका छौँ,’ उनले भने, ‘हामी पार्टीका तर्फबाट सबै समूहलाई हाम्रो अभियानमा अवरोध सिर्जना नगर्न आग्रह गर्छौं।’ 

उनले एमालेको अभियान विकास र समृद्धिको अभियान भएकाले यस्ता अभियानमा अवरोध सिर्जना नगरी सहयोग पुर्याउन आग्रह गरे।  

उनले कोशी प्रदेश नामाकरण कोशी प्रदेशसभाको सवाल भएकाले त्यस्ता मुद्दालाई औपचारिक रुपमा प्रदेश सभामा उपस्थिति गराएर छलफल गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए। 

उनले कोशी प्रदेश नामाकरणमा एमालेसहित कांग्रेस, माओवादी केन्द्रसहितका दल पनि सहभागी भएकाले एमालेलाई मात्रै निशाना बनाइ गरिने अवरोध लोकतान्त्रिक हुन नसक्ने बताए। 

घुर्मीमा हुने सभालाई एमाले अध्यक्ष ओलीसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। घुर्मीको सभा सकेर एमाले टोली आज खोटाङतिर अघि बढ्ने कार्यक्रम छ। 

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न भन्दै एमालेले मेची महाकाली संकल्प यात्रा सुरु गरेको हो। 

अभियानमा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङसहितका नेताहरु सहभागी छन्। 

बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .